१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नम्बर–१ बन्ने दाउमा भुवन र सञ्जय

काठमाडौं – नेपाली गल्फकै प्रतिष्ठित प्रतियोगिता हो, ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’। यसका विषेशता कयौं भए पनि आकर्षक नगद पुरस्कारले यस प्रतियोगिता नेपाली गल्फरका बीच लोकप्रिय बनेको छ। यो बहुप्रतीक्षित च्याम्पियनसिप सूर्य नेपाल गल्फ टुर २०१८–१९ को नवौं तथा अन्तिम प्रतियोगिता हो। वैशाख ३० गतेदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रोफेसनल गल्फरहरूले १२ लाख ६० हजार नगद पुरस्कारका लागि आआफ्नो चुनौती प्रस्तुत प्रस्तुत गर्नेछन्। यो पटक उपाधिको दाबेदारी झन् मजबुत हुनेछ।

नेपाल नम्बर एक खेलाडी शिवराम श्रेष्ठको अनुपस्थितिमा अन्य गल्फरलाई नम्बर एक खेलाडीको ताज पहिरिने सुनौलो अवसर हुनेछ। यसपटकका मुख्य दाबेदार हुन् नम्बर दुई खेलाडी भुवन नगरकोटी र चर्चित गल्फर सञ्जय लामा। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको विजेताले ट्रफीसँगैे २ लाख ३० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख ४० हजार र ९५ हजार प्राप्त गर्नेछन्।

जसले ‘अर्डर अफ मेरिट’ मा ठूलो अर्थ राख्नेछ। यही कारण प्रोफेसनलहरूका लागि चुनौती र अवसरको रूपमा रहेको छ, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप। डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटी उपाधि रक्षा गर्दै पहिलो पटक नम्बर–१ खेलाडी बन्न चाहन्छन्। उनले गत सिजनमा तीन उपाधि जित्दै करियरकै उत्कृष्ट प्रदर्शन गरेका थिए।

तर, यो सिजन भने उनी उपाधिविहीन भइरहेका छन्। केर्समा उनी दाबेदार र अन्य खेलाडीको लागि कठिन प्रतिद्वन्द्वी हुन्। यसका बावजुद उनको प्रदर्शनले उचाइ लिन सकिरहेको छैन। सूर्य नेपाल च्यालेन्जमा पनि उनी एमेच्योर गल्फर सुवास तामाङसँग एक स्ट्रोकले माथ खाए। सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा दोस्रो हुँदा सूर्य नेपाल एनपिजिए म्याच प्लेमा पनि भुवन दोस्रो स्थानमा नै खुम्चिए। यो सिजनको प्रदर्शनमा भुवन आपैmँ निराश छन्। लामो आइरनमा संघर्ष गरिरहनु परेको र फोकस हुन नसकेकोले नतिजा आउन नसकेको उनको भनाई छ।

तर पछिल्लो समय क्लब परिवर्तन र घरेलु कोर्सले गर्दा आशावादी छन् भुवन। प्रो. सञ्जय र एमेच्योर खेलाडीहरूलाई उनले चुनौती मानेका छन्। भुवनसँग फरक र रोचक प्रसङ्ग पनि छ। शिवराम श्रेष्ठ उनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन् र उनी नहँुदा कोर्समा सहज लिने बानीले पनि राम्रो नतिजा आउन नसकेको उनको ठम्याइ छ। शिवरामलाई भुवनले मिस गरिरहेका छन्।

उता सञ्जय लामा पनि नेपाली गल्फमा एकरूपताको प्रदर्शन गरिराख्न माहिर खेलाडी हुन्। उपाधि संख्यालाई चुल्याउन नसके पनि अधिकांश प्रतियोगितामा उनी उत्कृष्ट पाँचमा उभ्याउन सक्षम छन्। यो सिजन आठै प्रतियोगिता खेलेका सञ्जयका लागि विशेष रह्यो। सञ्जयले पछिल्ला चार वर्षमा पहिलो पटक सूर्य नेपाल टुरमा उपाधि जितेका थिए। सूर्य नेपाल वेस्टर्न  ओपनको सफलताबाट उनले उपाधिको खडेरी पनि तोडे।

उनले उपाधि संख्या चार पु¥याएका छन्। एमेच्योर गल्फर टंकबहादुर कार्की सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा दोस्रो भएका थिए। सूर्य नेपाल इस्टर्न ओपन र पाइलट गल्फर्स एनपिजिएमा भने टंकबहादुर चौथो स्थानमै खुम्चिए। त्यस्तो स्थितिमा सिजन सञ्जयका लागि उपलब्धिमूलक रह्यो। अबको उनको लक्ष्य सूर्य नेपाल प्रिमियर जित्दै पहिलो पटक नम्बर–१ खेलाडी बन्नु नै हो। शिवराम नहँुदा नम्बर–१ खेलाडी बन्ने अवसर रहेको सञ्जय बताउँछन्।
नेपाली गल्फले नयाँ नम्बर एक खेलाडीको रूपमा सञ्जय लामालाई पाउने प्रचुर सम्भावना पनि रहेको छ।

नयाँ नम्बर एक खेलाडीको उदयसँगै एमेच्योर खेलाडी पहिलो पटक प्रिमियर च्याम्पियन बन्ने सम्भावना पनि उत्तिकै छ। तीन एमेच्योर खेलाडीले यो सिजन उपाधि जितेका छन्। ती तीन एमेच्योरमध्येका प्रबल दाबेदार हुन्, शुक्रबहादुर राई। यो सिजन शुक्रले तीन प्रतियोगितामा चार ट्रफी जिते। सूर्य नेपाल इस्टर्न ओपनमा प्रो. र एमेच्योर दुवै ट्रफी उचाल्ने भाग्यमानी खेलाडी बने शुक्र।

यो क्रममा शिवरामलाई ५ स्ट्रोकले हराउँदै शुक्रले जितलाई स्मरणीय बनाएका थिए। साथै उनी सूर्य नेपाल काठमाडौं ओपन र सूर्य नेपाल वेस्टर्न ओपनमा एमेच्योरतर्पm च्याम्पियन बन्न सफल रहे। यसबाहेक बंगलादेश एमेच्योर ओपनमा टिम स्पर्धामा उनले नेपाललाई स्वर्ण दिलाए। आठौं राष्ट्रिय खेलकुदमा पनि टिम इभेन्ट्समा शुक्रकै टोलीले स्वर्ण पदक जितेको थियो।

साथै उनी फाल्डो सिरिजमा यु–२१ तर्फ विजेता बन्दै फाल्डो सिरिज एसिया फाइनलको लागि छनोटमा परेका थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलताले यो सिजन विशेष बनाउन मिहिनेत नै प्रमुख अस्त्र रहेको शुक्रको बुझाइ छ। चिपिङ र पटिङले पनि साथ दिएकोले प्रिमियर जित्नेप्रति शुक्र आत्मविश्वासी छन्।

प्रकाशित: २९ वैशाख २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App