४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

मैदान अभावकाबिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन् ।

 तर बिहीबार एन्फाले पत्रकार सम्मेलन गर्दै आफ्नो तयारी पूरा भएको जनाए पनि मैदानबारे भने अहिलेसम्म अन्यौलता प्रकट गरेको छ । नेपालले उद्घाटन खेलमा आइतबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । तर मैदानको अवस्था नाजुक भएकाले उद्घाटन खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्न सक्ने सम्भावना बढेको छ । म्याच कमिसनरले मैदान हेरेपछि मात्र च्याम्पियनसिप कहाँ गर्नेबारे टुङ्गो लाग्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए।

समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । नेपाली यु–२० टोलीले उज्जन श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेको छ। एन्फाले सहभागी टोलीका लागि लगनखेलस्थित आर्मीको फुटबल मैदान, च्यासल र एन्फा कम्प्लेक्सलाई ट्रेनिङ मैदानको विकल्पका रूपमा तयारी भइरहेको बताएको छ । एन्फाका उपाध्यक्ष दीपक खतिवडाले फुटबलको रङ्गशाला अभाव भइरहँदा फिफा र एएफसीबाट रङ्गशाला निर्माणमा सहयोग हुने पत्र आइसकेको उल्लेख गर्नुभयो । त्यसैले एन्फाले जग्गा खोजिरहेको बताए। सरकारले नै जग्गा दिए आफूहरू रङ्गशाला बनाउन तयार रहेको बताए।

मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ । सातदोबाटोमै खेल भए सामान्यतर्फको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रङ्गशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ। यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह चरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ। 

प्रकाशित: ३१ श्रावण २०८१ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App