१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पानी धमिलिएर प्रतिस्पर्धा सर्‍यो

पेरिस ओलम्पिकको ट्रायथोलनको प्रतिस्पर्धा हुने सेन नदीमा पानी धमिलो भएपछि मंगलबार पुरुष ट्रायथोलनतर्फको प्रतिस्पर्धा प्रभावित हुन पुगेको छ।

पेरिस ओलम्पिक आयोजकले सेन नदी सुरक्षित रहेको उल्लेख गर्दै आए पनि मंगलबार पुरुष ट्रायथोलनको प्रतिस्पर्धा रोकिएको हो। खेल सुरु हुनुभन्दा केही समयअगाडि पानीको गुणस्तर परीक्षण गरिएको थियो। त्यसमा प्राविधिक टोलीले प्रतिस्पर्धा गर्न अयोग्य भएपछि अन्तिम समयमा प्रतिस्पर्धा रोकिएको हो। तथापि, पेरिस ओलम्पिक २०२४ र विश्व ट्रायथोलनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण पानी धमिलिएको दाबी गरेका छन्। अब पुरुष ट्रायथोलनको प्रतिस्पर्धा बुधबारका लागि सारिएको छ। तर, मंगलबार पनि आँधीहुरी आउने अनुमान गरिएको छ।

त्यस्तो स्थितिमा बुधबार तय गरिएको प्रतिस्पर्धा हुनेमा दुविधा सिर्जना भएको छ। सहरमा ठूलो वर्षाका कारण ढल निकासमा दबाबसँगै पुनः सेन नदीमा हुने खेल प्रतिस्पर्धा अवरोध हुन सक्ने अनुमान गरिएको छ। लगातार वर्षाका कारण ढल निकासमा पनि समस्या हुन सक्ने भएपछि आयोजक चिन्तित छ। यदि समयमा नै सेन नदीका पानीमा सुधारमा हुन नसकेमा ट्रायथोलन विधा दुवाथोलनमा परिवर्तन गरिने बताइएको छ। विश्व ट्रायथोलनका अध्यक्ष मेरिसोलन क्यासेडोले भने बुधबार निर्धारण गरिएको समयमा नै ट्रायथोलनका प्रतिस्पर्धा हुने आशा व्यक्त गरेकी छन्।

‘योजनाअनुरूप समयमा खेल हुन नसकेकामा हामी धेरै निरास छौं,’ उनले पत्रकारसँगको कुराकानीमा भनिन्। फ्रेन्च ट्रायथोलनका टेक्निकल डाइरेक्टर बेन्जामिन मेज सारिएको खेल प्रतिस्पर्धाबारे अहिले नै प्रतिस्पर्धीले अनावश्यक अभिव्यक्ति दिएको भन्दै रुष्ट भएका छन्। ‘हामीले अन्तर्राष्ट्रिय फेडेरेसनबाट सूचना पाउनुभन्दा अगाडि नै खेलाडीले अनावश्यक कुरा गर्न थाले। जुन राम्रो होइन,’ उनले भने, ‘समयमा खेल नहुँदा हामी पनि निरास छौं।’ 

प्रकाशित: १६ श्रावण २०८१ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App