७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप छनोट : अनुभवहीन खेलाडीबाट चुनौती लिँदै एनेस

अनुभवी र नियमित सदस्यबिना नै नेपाल विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनको चुनौती सामना गर्दै छ। छनोटअन्तर्गत नेपालले बराइनसँग आगामी चैत ८ र १३ गते खेल्दै छ। त्यसअघि तयारीस्वरूप नेपालले मलेसियासँग आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

बहराइन फिफा वरीयतामा नेपालभन्दा ९३औं स्थानमाथिको टोली हो। सात पटकसम्म एसियन कप खेलेको बहराइनविरुद्ध नेपाल यसपटक धेरै नयाँ र युवा खेलाडीका साथमा सामना गर्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नै सार्वजनिक गरेको नेपाली टोलीमा ६ नयाँ खेलाडी छन्। अनुभवी र प्रभावशाली खेलाडी बहराइनविरुद्ध नेपाली टोलीमा छैनन्।

अनुभवी रोहित चन्दसँगै मिडफिल्डमा राम्रो पकड जमाउन सक्ने आयुष घलान र एरिक विष्ट यो टोलीमा छैनन्। पछिल्ला समय राष्ट्रिय टोलीमा राम्रो प्रभाव राख्दै आएका सुरज ज्यू ठकुरीका साथै गोलकिपर दीप कार्की पनि बहराइन यात्रामा समावेश छैनन्। 

रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन नपाएका हुन्। बाँकी भने राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बाहिर राखेको बताइएको छ। प्रशिक्षक एनेसले पनि धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको बताएका छन्। इटालियन प्रशिक्षक एनेसले अनुभवी खेलाडीबिना खेल्न चुनौती रहने स्विकारे।

तर, उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी प्रशिक्षणमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको बताएका छन्। एनेसलाई छोटो समयको प्रशिक्षणका बावजुद बहराइनविरुद्ध राम्रो तयारी गरेको विश्वास छ। 

बलियो टोलीविरुद्ध खेल्न नेपालले ६ दिनको छोटो प्रशिक्षण गरेको थियो। यद्यपि, यो तयारीबाट पनि राम्रो प्रदर्शन गर्ने प्रशिक्षक एनेस बताउँछन्। यो छनोट खेल होम एन्ड अवेका आधारमा हुनुपर्ने हो। तर, एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो।

बहराइनले नेपालको मैदानबारे प्रश्न उठाएपछि एफसीको प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेका थिए। उनीहरूले नै पठाएको प्रतिवेदनका आधारमा नेपालले आफ्नो होम गेम पनि बहराइनसँग नै खेल्नुपरेको हो। होम म्याच खेल्न नपाउनु टोलीको लागि चुनौती हुने प्रशिक्षक एनेसको भनाइ छ।

यद्यपि, आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको उनले बताए। एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले पनि होम ग्राउन्डमा खेल हुन नसक्ने स्थितिप्रति मंगलबार खेलाडी बिदाइ कार्यक्रममा समर्थकसँग माफी मागेका थिए।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष नेम्बाङले बिदाइ गरेका थिए। मंगलबार नै एन्फाले बहराइनविरुद्धको खेलअगाडि मलेसियासँगको मैत्रीपूर्ण खेलतालिका सार्वजनिक गरेको थियो। एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण खेल आगामी शुक्रबार हुनेछ। यो खेलपछि नेपाली टोली बहराइन जाने कार्यक्रम छ। मंगलबार नै २३ सदस्यीय नेपाली टोली घोषणा भएको हो। प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित टोली घोषणा गरेका हुन्।

रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई (सन्जित) र समीर तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्। यो टोलीमा अनुभवी भरतले पनि पुनरागमन गर्ने अवसर पाए। प्रारम्भिक छनोटमै नपरेका भरत र सन्जितलाई टोलीमा समेटिएको हो। छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको हो।  

नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बू (कप्तान), अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बू, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ र सौभाग्य छन्। मिडफिल्डरमा भरतसँगै विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन र उत्सव राई छन्। फरवार्डमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया र सञ्जीव विष्ट छन्। पछिल्ला समय एकपछि अर्को फुटबल बिदेसिँदा नेपाली फुटबलमा अनुभवी खेलाडीको खाँचो पर्दै आएको छ।

धेरै जसो अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षक एनेस नयाँ खेलाडी समावेश गर्न बाध्य हुँदै आएका छन्। त्यसमाथि पनि देशमा उपलब्ध खेलाडीको प्राथमिकता राष्ट्रिय टोलीमा नपर्दा नेपालको नतिजामा समेत प्रभावित हुने पक्का छ।

प्रकाशित: ३० फाल्गुन २०८० ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App