७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भारतको रबाफिलो सुरुआत

अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।

चार राष्ट्रको प्रतिस्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रबारदेखि सुरु भएको छ। उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एसियाली फुटबलको कमजोर टोली भुटानमाथि गोल वर्षा गरेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि अनुष्काले ह्याट्रिक पूरा गर्दै पर्ल फर्नान्डेजले दुई गोल गरिन्। कप्तान श्वेता रानी र अन्विता रघुरमनले समान एक गोल थपे। भारतले पहिलो हाफमा नै ६ गोल गर्दै भुटानमाथि पूर्ण रूपमा हाबी भयो।

तर, दोस्रो हाफमा भने भुटानले एक गोल मात्र बेहोर्‍यो। कप्तान रानीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाइन्। पर्लले १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यसको चार मिनेटपछि नै अनुष्काले गोल गरिन्।

पर्लले २६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४–० ले अगाडि रह्यो। एक मिनेट पनि नबित्दै अनुष्काले अर्को गोल थपिन्। उनले ४०औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् र पहिलो हाफमा भारत ६–० ले अगाडि रह्यो। दोस्रो हाफको ६१औं मिनेटमा अन्विताले गोल गरेपछि भारतले ७–० को अग्रता बनायो।

त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले लज्जास्पद हार बेहोर्‍यो। जितसँगै भारतले तीन अंक जोडेको छ। भारतले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ। नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल दिनको तीन बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

प्रकाशित: १९ फाल्गुन २०८० १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App