४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

गाउँगाउँमा फुटबल क्रेज

फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो। प्रतियोगितामा जिल्लाका खेलाडीले भाग लिए। जाजरकोट, सुर्खेत, कालिकोट, मुगु र हुम्लालगायत बाहिरी जिल्लाका खेलाडीको पनि सहभागिता रह्यो। चन्दननाथ नगरपालिका– ५ स्थित रंगशालामा फुटबल आयोजना गरिएको थियो।

प्रदेशस्तरीय फुटबलमै गाउँका खेलाडीले प्रतियोगितामा पनि भाग लिएका देखिन्थे। जुम्लामा दसैं, तिहार र कुनै दिवसका अवसरमा मात्रै फुटबल प्रतियोगिता हुँदै आएको छ। दसैं/तिहार, कुनै दिवस तथा नयाँ वर्षमा फुटबल खेलाइन्छ।

यस्तै कहिलेकाहीँ स्थानीय तहले मेयर कप, उपाध्यक्ष कप तथा पालिकास्तरका राष्ट्रपति रनिङ सिल्ड गाउँपालिका र वडास्तरमै फुटबल आयोजना गर्छन्। ‘सहरको फुटबलमा गाउँलेको खासै महत्त्व हुँदैन।

खेल मैदानवरपर दर्शक ओइरिएका हुन्छन्। पातारासी गाउँपालिका– २ तल्फी गाउँका दीपक विश्वकर्माले भने, ‘हिजोआज गाउँगाउँमा फुटबल प्रतियोगिता आयोजना भइरहन्छ । सहरमा आएर गाउँघरका बाआमाले फुटबल हेर्न सक्नुहुन्न । गाउँको फुटबल प्रतियोगितालाई बालबालिकादेखि बूढाबूढीले हेर्छन्।’

यस्ता प्रतियोगितामा गाउँकै खेलाडी बढी हुने भएकाले उनीहरूको प्रतिभा प्रस्फुटनसमेत हुने उनी बताउँछन्। यसले जिल्लादेखि प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरसम्म पुग्ने बाटो खुल्ने उनको भनाइ छ।

लामो समयअघिदेखि फुबटल खेलमा लागेका जुम्ला चन्दननाथ नगरपालिका– ३ का रुवेन भण्डारी जुम्लावासीको रुचाइएका खेलाडी हुन्। कुनै समयमा बाँझो खेतबारीमा कपडाको डल्लो बनाएर फुटबल खेल्ने उनी अहिले जुम्लाको राम्रो खेलाडीका रुपमा परिचित छन्।

पालिकास्तरीय होस् या जिल्ला, या त प्रदेशस्तरीय नै किन नहोस्, उनी नियमित रुपमा छनोटमा पर्छन्। फुटबल खेलप्रतिको लगाव, अनुशासित रुपमा खेल्ने तरिका र खेल सकिसकेपछि प्रतिस्पर्धीसँग गर्ने मिजासिलो व्यवहारले उनी दर्शकको रोजाइमा छन्।

एन्फा जुम्लाका अध्यक्ष भरत बुढ्थापाले भने, ‘जुम्लामा फुटबलको क्रेज बढ्दै छ। खेलाडीको प्रतिभाको पनि उचित सम्मान भइरहेको छ। पहिले जिल्लास्तरमा हुँदा पालिकास्तरका दर्शक आइरहेका देखिन्थे। किनकि आआफ्नो पालिकादेखि सहभागी खेलाडीको प्रतिभा हेर्न चाहन्थे। यसपटक प्रदेशस्तरीय भएकाले झनै दर्शकको भीड लागेको थियो।

एन्फा अध्यक्ष बुढ्थापाले फुटबलका दर्श वर्षैपिच्छे थपिने गरेकाले खेल क्षेत्रमा लागेकाहरुको हौसला बढेको बताए। खेलाडीहरु पनि उच्च मनोबलका साथ खेलमा होमिँदै आएका छन्। पहिले कर्णालीलगायतका दुर्गम जिल्लामा भलिबलप्रतिको मोह तीव्र थियो, तर अहिले गाउँबस्तीसम्म फुटबल क्रेज बढेको सहभागी उनी बताउँछन्।

खेलाडी रुवेनले भने, ‘बारम्बारको अभ्यास र मेहनतले दर्शकमा फुटबलप्रतिको मोह बढेको छ। कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कपडाको बल बनाएर साथीहरु भेला गराएर जुम्लाका विभिन्न स्थानमा फुटबल चलिरहेको हुन्थ्यो।

अहिले प्रदेशस्तरीय फुटबल खेल नै जुम्ला हुन थालेपछि जुम्लावासी अचम्मित छन्। जुम्लाका खेलाडी सुर्खेत, नेपालगन्ज र काठमाडौंमा गएर प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन्।

यता एन्फाका महासचिव दीपेन्द्रविक्रम हमाल खेल क्षेत्रबाटै कीर्तिमानी कायम गर्न सकिने र खेल क्षेत्रको विकासले मात्रै देशको समृद्धिको ढोका खोल्ने बताउँछन्। फुटबल क्रेजप्रति एन्फा जुम्ला सन्तुष्ट देखिएका छन्।

हमाल भन्छन्, जुम्ली युवामा देखिएको फुटबल मोह र दर्शकप्रति देखिएको तीव्र इच्छाशक्तिले खेलाडी जन्माउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

खेलाडीको हकहित र अधिकारका लागि बारम्बार वकालत गर्दै आइरहेको बताउँदै उनले भने, ‘यो क्रेजलाई सबैले सहयोग गर्न सके फुटबलमा राम्रो सन्देश छर्न सक्ने देखिन्छ।’ जिल्ला फुटबल संघ एन्फाका अनुसार जिल्लाका हरेक विद्यालयमा फुटबल खेलको अभ्यास भइरहेको छ।

एन्फा जुम्लाले ‘एक गाउँ एक फुटबल’ खेलाडी उत्पादन गर्ने नीति लिएको उनको भनाइ छ। अहिले फुटबलसँग आबद्ध झन्डै दुई दर्जनभन्दा बढी युवा क्लबमा छन्। विद्यालयको वार्षिकोत्सव, दसैं, तिहारलगायतका खुसीयालीमा बर्सेनि फुटबल आयोजना हुँदै आएको छ।

खेल मैदान अभावले पर्याप्त मात्रामा खेलाडीलाई खेल अभ्यास गराउन नसकिएको उनको भनाइ छ।

प्रकाशित: १९ फाल्गुन २०८० १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App