६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

यु-१९ विश्वकपमा सुखद प्रदर्शनको आशा

बिदाइका क्रममा सामूहिक तस्बिर खिचाउँदै नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टोली। तस्बिर: क्यान

नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले एसिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी यु–१९ विश्वकपमा सुखद प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।

गत मंसिरमा एसिया कपमा खेलेको नेपालले समूहका तीनवटै खेल गुमाउने क्रममा निकै खराब प्रदर्शन गरेको थियो। नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ।

उक्त विश्वकप खेल्ने नेपाली युवा टोलीको बिदाइ कार्यक्रममा शुक्रबार कप्तान देवले एसिया कपमा गरेको खराब प्रदर्शनलाई बिर्सेर आगामी विश्वकपमा सुखद नतिजा ल्याउने आशा देखाएका छन्।

‘एसिया कप हाम्रा लागि राम्रो भएन। त्यो पुरान खराब पक्ष बिर्सेर राम्रो प्रदर्शन गर्ने हामी सबैको विश्वास छ,’ युवा टोलीका कप्तान देवले भने, ‘सुपर सिक्समा पुग्ने लक्ष्य छ।’

कप्तान देवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सञ्चालन भएकाले आवश्यक मात्रामा प्रशिक्षण गर्न नपाएको समेत उल्लेख गरे। साथै उनले विदेशी टोलीसँग पनि अभ्यास खेलको अभाव भएको दुखेसो गरे। यद्यपि, क्यानले आयोजना गरेको एकहप्ते हाइपर्फमेन्स क्याम्पबाट केही उपलब्धि प्राप्त भएको कप्तान देवले बताए।

नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।

उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्। अर्को समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका तथा समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन्।

समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २४ मा पाकिस्तान र २७ मा अफगानिस्तानसँग खेल्ने तय छ।

नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा छन्। प्रशिक्षक टमाटाले शारीरिक र मानसिक रूपमा आफ्नो टोली दक्षिण अफ्रिकामा चुनौती प्रस्तुत गर्न तयार रहेको बताए।

यहाँसम्म पुग्दा धेरै मिहिनेत गरेको उल्लेख गर्दै प्रशिक्षक टमाटाले राम्रो क्रिकेट खेलेर फर्कने आशा व्यक्त गरे। विश्वकप खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रम गर्दै बिदाइ गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई बिदाइ गरे। सो अवसरमा राखेप सदस्यसचिव टंकलाल घिसिङले टोलीमा राम्रो क्षमता भएकाले नै विश्वकप खेल्न सक्षम भएको उल्लेख गर्दै सो लयलाई विश्वकपमा पनि जारी राख्नेमा आफू आशावादी रहेको बताए।

‘यो टोलीमा धेरै क्षमता छ। सोही क्षमताले पनि विश्वकपसम्म यात्रा तय गरेको हो,’ उनले भने, ‘टोलीको एकताले पाएको सफलता थप्दै जानुहुनेछ भन्ने विश्वास लिएको छु।’

घिसिङले विश्वकपमा राम्रो खेल्नेमा आफू विश्वस्त रहेको धारणासमेत राखे।

क्यानले बिहीबार देवको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। देवको कप्तानीमा रहेको नेपाली टोलीमा गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापामगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन्।  

प्रकाशित: २१ पुस २०८० ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App