६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः झापा र वीरगञ्जबिचको खेल बराबरीमा

चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।

कप्तान अन्जन विष्टबिना खेलेको झापाले पुछारको टोली वीरगञ्ज युनाइटेडविरुद्ध बराबरीको नतिजा सामना गरेका हुन्। यसै सिजनदेखि एनएसएलमा भित्राएका दुवै क्लब शुक्रबार पहिलो जितको खोजीमा थिए। तर, लगातार अवसर सिर्जना गरे पनि अंक बाँड्न बाध्य भए। समान चार खेल सकिँदा झापाले तीन बराबरी र वीरगञ्जले दुई बराबरीको नतिजा निकालेको छ। मिडफिल्ड राम्रो बल खेलाउन सक्ने लाकेन लिम्बुलाई सिजन सुरु हुनुभन्दा अगावै चोटका कारण गुमाएको झापाका अन्जन पनि चोटका कारण पछिल्ला दुई खेलमा थिएनन्।

अर्का अनुभवी खेलाडी प्रदीप लामा पनि यसअघिका खेलमा रातो कार्ड बेहोरेका कारण वीरगञ्जसँग मैदान बाहिर नै थिएनन्। तर पनि झापाले पहिलो हाफमा दबाबमा राख्यो। दोस्रो हाफमा वीरगञ्जले सुधारिएको प्रदर्शन गर्दा झापाका योगेश गुरुङ रातो कार्डका कारण मैदान बाहिर रहे। तथापि, वीरगञ्जले त्यसको फाइदा उठाउन सकेन। झापा तेस्रो बराबरसँगै तीन अंकसहित आठौं स्थानमा रहँदा पुछारको वीरगञ्जले दुई बराबरीका साथ दुई अंक जोडेको छ। झापाले एक खेल स्पोर्टिङ इलामसँग हारेको थियो।

त्यसअघि खेलको पहिलो आक्रमण ११औं मिनेटमा झापा एफसीले ग¥यो। लक्ष्मणले रुचालको कर्नर पासमा ओचिलोच समान्डरले करिब १० यार्ड टाढाको गोल प्रयास वीरगञ्जका गोलकिपर दीप कार्कीले मुस्किलले बचाए। त्यसको एक मिनेटपछि नै झापाको अर्को सशक्त आक्रमण गोलमा परिणत हुन सकेन। ३५ यार्डबाट समान्डरको सट दोस्रो बारमा ठोकिँदै गोलकिपर दीपको खुट्टामा लागेर पनि फर्कियो। २५औं मिनेटमा पेनाल्टी बक्सभन्दा केही बाहिर जर्ज सान्चेजको गोल प्रयास दीपले सफल हुन दिएनन्।  

झापाका लागि लक्ष्मणले ३२औं मिनेटमा गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गर्न सकेनन्। लगत्तै लक्ष्मणकै फ्रिकिकमा अनमार्क रहेका सान्चेजले पेनाल्टी बक्सभित्र हेड गोल गर्ने अवसर खेर फाले। ३९औं मिनेटमा वीरगञ्जका सुवास गुरुङले आफ्नो टोलीको अग्रता लिने अवसर सुदपयोग गर्न सकेन। तेज तामाङले लामो पासलाई सुवासको फितलो हेडर झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके। ४२औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट सान्चेजको शक्तिशाली सट दीपले उत्कृष्ट बचाउ गरे।

छिरिङ लामाले मध्यभागबाट दिएको लामो पासमा अफसाइड बिट गर्दै सान्चेजले आक्रमण बुने पनि सफल भए। त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो।  ४७औं मिनेटमा नै वीरगञ्जका कृपाकान्त थारुले हानेको सट दोस्रो बारमा ठोकिँएर फर्कियो। सोही क्रममा रिबाउन्ड बललाई ओबेद ओसुउले आठ यार्डबाट गरेको प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे। त्यसको तीन मिनेटपछि झापाका आवास लामिछानेले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहँद गोल गर्न सकेनन्।वीरगञ्जका ओबेदले अर्को अवसर खेर फाल्न पुगे।

विलियम ओपोकुले दिएको बललाई उनले करिब १० यार्डबाट गोल गर्न सकेनन्। ६९औं मिनेटमा काउन्टर प्रयासमा ओबदको लामो प्रहार सफल हुन सकेन। वीरगञ्जले ७३औं मिनेटमा काउन्टर प्रयासमा गोल गर्ने अवसर पायो। अन्तिम डिफेन्डर बिट भैसकेको अवस्थामा झापाका योगेश गुरुङले वीरगञ्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए। त्यसलगत्तै गोल स्कोरिङ गर्ने अवसरमा फउल गरेपछि खेलका रेफ्री राम दसनले योगेशलाई रातो कार्ड दिए। त्यससँगै झापा १० खेलाडीमा सीमित भयो।

त्यसको दुई मिनेटपछि नै वीरगञ्जका दीपेन्क ठकुरीले करिब ३० यार्ड  टाढाबाट गरेका शक्तिशाली प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट पन्च गर्दै रोके। झापाका समान्डरले ८६औं मिनेटमा गरेको लामो सट वीरगञ्जका गोलकिपर दीपले पन्च गरे। त्यसको तीन मिनेटपछि लेफ्ट साइडबाट वीरगञ्जका तेज तामाङको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिन पुग्यो। इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नरमा लागेर बाहिरियो।  

समान्डरले वीरगञ्जका डिफेन्डर बिट गर्दै दिएको पासमा अनमार्क रहेका उज्वलले गोल गर्न सकेनन्। त्यससँगै पुछारका दुई टोलीबीचको खेल बराबरीमै सकियो। वीरगञ्जका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो हाफमा अहिलेसम्मकै खराब प्रदर्शन भए पनि दोस्रो हाफमा केही सुधार गरे पनि गोल हुन नसक्दा जित सम्भव नभएको बताए। ‘अहिलेसम्मै खराब प्रदर्शन पहिलो हाफमा भयो। तर, दोस्रो हाफमा रणनीति परिवर्तन गर्दा सुधार भयो। तर, पाएका अवसर सदुपयोग हुन नसक्दा जित निकाल्न सकेनौं,’प्रशिक्षक श्रेष्ठले भने। यता, झापाका ओरिओल सेगुराले आफ्ना टोलीले राम्रो खेलेको उल्लेख गर्दै बराबरीको नतिजामा खुसी रहेको बताए।  

 

प्रकाशित: २२ मंसिर २०८० १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App