५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि

पोखरामा आयोजित केपी ओली टी–२० को उपाधि विजेता मधेश प्रदेशका खेलाडी ट्रफी सहित। तस्बिरः उमेश पुन/नागरिक

त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।  

शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन्। मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो। सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनायो। उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए।  

१७ रन जोड्ने क्रममा पहिलो विकेट गुमायो। मधेशले दोस्रो विकेट पनि सस्तैमा गुमायो। अनिल साहलाई तिब्रगतिका बलर सोमपाल कामीले विवेक यादवको हातबाट क्याच गराए। दोस्रो विकेटको रुपमा हरिशंकर साहलाई गुमाएको थियो। कप्तान हरिशंकरले २१ बल खेल्दै २७ रन बनाए। ३ चौका र २ छक्का उनको इनिङमा रह्यो। इमरान शेखलाई सातौं ओभरको दोस्रो बलमा गुमाएपछि मधेश दबावमा पर्यो। शेख पनि ८ रन आउट भए। साहब आलमको बलमा विकेट किपर विनोद भण्डारीले शेखलाई स्टम्प आउट गरिदिए । पाँचौ नम्बरमा आएका मायान यादवलाई आलमले नै बोल्ड गरेपछि मधेश ९ ओभरको समाप्तीमा ५२÷४ को स्थितिमा रह्यो। दशा ैंओभरमा मधेशले केवल तीन रन मात्रै जोड्यो।  

११ औं ओभरको तेस्रो बलमा आलमले पवन सर्राफलाई ९ रनमा पभेलियनको बाटो देखाए। १४ बल खेल्ने क्रममा सर्राफ बोल्ड भए। त्यस ओभरमा आलमले केवल एक रन खर्चिएर एक विकेट लिए। उनले तीन ओभर बलिङमा केवल ५ रन खर्चिएर ३ विकेट लिए। मधेशका व्याटरको महत्वपूर्ण साझेदारी बन्ने सकेन्। बसिर अहेमदको बलमा हिमांशु दत्त १४ रनमा बोल्ड भए। १८ औं ओभरमा विवेक यादवले पहिलो र दोस्रो बलमा विकेट लिएपछि मधेशको स्कोर मध्यम बन्न पुग्यो। एकै ओभरमा यादवले विशाल सुस्लिङ र रुपेश सिंहको विकेट लिए। विवेक र साहब आलमको नाममा समान ३ विकेट लेखियो।  

१३६ रनको लक्ष्य पछ्याएको आर्मी सन्तोष कार्की पाँचौ ओभरमा १६ रनमा आउट हुदाँ पहिलो विकेट गुमायो। ३२ रनको साझेदारी हुदाँ प्रविन पासवानको बलमा कार्की एलबीडब्लु धरापमा परे। कार्कीले १६ रन बनाउन १३ बल खेले। तीन चौका हिर्काए। दोस्रो विकेटको रुपमा रोहित पौडेल आउट भए। पौडेल केबल ११ बलमा ५ रनमा प्रतिक यादवको बलमा मायान यादवबाट क्याच भए।

 ११ औं ओभरको पहिलो बलमा हरिशंकर साहले विनोद भण्डारीलाई एलबीडब्लु धरापमा पार्दै आर्मीमाथि दबाव बनाईराखे। भण्डारीले ३० बलमा ३२ रन हिर्काउँदा ५ चौका सामेल थियो। सोही ओभरको तेस्रो बलमा साहले बसिर अहेमदलाई उस्तै एलबीडब्लु आउट गरे। ओभरको पाँचौ बलमा कुशल मल्ललाई बोल्ड गर्दै डकआउट गरे। साहले एकै ओभरमा तीन विकेट झारेपछि आर्मीलाई लक्ष्य पछ्याउन सकस बनेको थियो। आफनो दोस्रो ओभर बलिङ गरेको साहले केवल एक दिएर ३ विकेट लिए। साहले आफनो तेस्रो ओभरको बलिङ गर्ने क्रममा राजेश पुलामीलाई पनि दुई रनमै पभेलियन फर्काए।  

इनिङ सम्हाल्ने प्रयास गरिरहेका भीम सार्की पनि २२ रनमा आउट भएपछि आर्मी धरासायी बन्न पुग्यो। प्रदीप पासवानको बलमा सार्की १७ औं ओभरको चौथो बलमा आउट भए। २१ बलमा दुई चौका र एक छक्का हिर्काए। विवेक यादवले १४ बलमा २५ रन बनाए। सोमपाल कामीले १५ बलमा १६ रनमा अविजित रहे। यद्यपी हार टार्नबाट जोगाउन सकेनन्। ७ विकेटको क्षतिमा आर्मी १२४ रनमा समेटियो।  

प्रकाशित: १५ मंसिर २०८० १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App