१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विराटनगरमाथि रूपन्देहीको जित

धनगढी- रूपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई जारी राख्ने क्रममा आइतबार विराटनगर किंग्सलाई ६१ रनले हराएको छ। जितपछि रूपन्देही अंकतालिकाको शीर्ष स्थानमा छ।

रूपन्देहीले ४ खेलबाट ८ अंक जोडेको छ। यसै गरी आइतबारको अर्को खेलमा कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले हरायो। सफलतासँगै कञ्चनपुर ५ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचांै स्थानमा पुगेको छ।

 आइतबार रूपन्देहीको जितमा साहब आलम, कृष्ण कार्की र दीपेश श्रेष्ठले उत्कृष्ट बलिङ गरे। सुरुआतमा ब्याटिङ गरेको रूपन्देहीले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ३२ रन जोडेको थियो। रूपन्देहीका लागि सर्वाधिक रन जोडेका अन्तिम थापाले ४५ रन बनाए। अन्तिमले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कृष्ण कार्कीले २२, पुष्प थापाले १७ र ओपनर हरिशंकर साहले १४ रनबाहेक अन्यले दोहोरो स्कोर जोडन सकेनन्।

रूपन्देहीका लागि कृष्ण र अन्तिमले सातांै विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए।

विराटनगरका सुशील कँडेल र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। जबाफमा विराटनगरले १८.१ ओभरमा ७१ रन मात्र जोड्न सक्यो। विराटनगरका लागि कप्तान शरद भेषावकारले ३४ रनबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्। विराटनगरका तीन खेलाडी खाता खोल्न असफल भएका थिए। प्लेयर अफ द म्याच रूपन्देहीका साहबले ४ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चे। दीपेश र कृष्णले ३/३ विकेट लिए। 

अर्को खेलमा कञ्चनपुरले अत्तरियाले दिएको ८६ रनको लक्ष्य १० ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गरेको थियो। कञ्चनपुरको जितमा ओपनर सुनील धमलाले सर्वाधिक २८ रन बनाए । प्लेयर अफ द म्याच सुनीलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। कञ्चनपुरका लागि सागर पुन र हसिम अन्सारीले समान २२ रन जोडे। कञ्चनपुरका कप्तान एवम विकेटकिपर विनोद भण्डारीले अविजित १६ रन जोडे।

कञ्चनपुरका लागि सागर र सुनीलले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे। त्यस्तै दोस्रो विकेटका लागि हासिफ र सुनीलले पनि ३७ रनको साझेदारी गर्दै कञ्चनपुरको जितलाई सहज बनाएका थिए।

अत्तरियाका विनोद लामाले २ विकेट लिए। त्यसअघि सुरुआतमा ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८५ रन जोडेको थियो।

अत्तरियाका लागि प्रदीप ऐरीले सर्वाधिक १९ रन जोडे। ज्ञानेन्द्र कुँवरले अविजित १५ रन बनाए। ओपनर दिलीप नाथले ११ र सुरेन्द्र चन्दले १० रन जोडे। अन्यले भने दोहोरो स्कोर बनाउन सकेनन्। कञ्चनपुरका अविनाश कर्ण र सुनील धमलाले समान ३ विकेट लिएका थिए। 

 

प्रकाशित: ४ वैशाख २०७४ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App