२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाम-२ मा ६० प्रतिशत मत खस्यो, मतगणना आजै सुरु गर्ने तयारी

मतगणनास्थल । तस्बिर: भीम/नागरिक

इलाम क्षेत्र-२ मा शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा यो तथ्यांक आएको जनाएको हो।

यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले शनिबार साँझसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए। ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो।’

इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए। मतदान सकिएर मतपेटिका ल्याउने क्रम सुरु भएको उनको भनाइ छ।

मतगणना आजै सुरु गर्ने तयारी

आजै राति मतगणना गर्नेगरी गणनास्थल तयार गरिएको छ। मतगणनाका लागि इलाम बजारको सिटीहल तयार गरिएको हो। सिटीहलको एक कोठामा तारजाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गणनास्थलमा ११ सिसी क्यामेरा जडान गरिएको छ। आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका गणनास्थल ल्याइसक्ने योजना छ।

‘मतगणना चाहिँ निर्वाचन आयोगले मतपेटिका संकलन भइसक्नेबित्तिकै गर्नू भन्ने निर्देशन छ,’ उनले भने, ‘तर, सर्वदलीय बैठकको निर्णयअनुसार गर्ने सहमति भएको छ।’ मतगणना सम्भवतः आजै राति सुरु हुने अनुमान छ।

मतदान सम्पन्न भएपछि मतपेटिका सिल लगाउने र कपडाले बेर्ने, मतपेटिका बोक्ने गाडीमा प्रहरी सुरक्षाकर्मी र मतदान अधिकृत बस्ने, मतपेटिका बोक्ने गाडी सँगसँगै निश्चित सहमतिको दूरीमा राजनीतिक दल/उम्मेदवारका प्रतिनिधिसँगै आउने र मतपेटिका भण्डारण सुरक्षा निकाय तथा सबै राजनीतिक दलको सहमतिमा गर्ने निर्णय जिल्लाका सरोकारवालाको बैठकले गरेको थियो।

इलाम गणनाको नतिजा चोकबजारको डिस्प्लेमा

मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ। मतगणनाको एक–एक घण्टामा नतिजा सार्वजनिक गर्ने सहायक निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मतगणनाको नतिजा मतगणनास्थलमा घोषणा गर्ने र त्यसको अंक डिस्प्लेमा सार्वजनिक गर्ने तयारी भएको हो। ‘गणनास्थलको भिड घटाउन र धेरैभन्दा धेरैलाई एकैपटक मतगणनाको नतिजा देखाउन डिस्प्लेमा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘तर, प्राविधिक कुराले मिलाउन बाँकी छ।’

प्रकाशित: १५ वैशाख २०८१ २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App