७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा यसरी मनाइयो धान दिवस र रोपाइँ महोत्सव

विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी-३ छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मार्सी धानको बिउ खेतमा रोपेर रोपाइँ सुरु गरेका हुन्। पछिल्लो समयमा मार्सी धानमा रोगको संक्रमण देखिने, असिनाले नष्ट गर्ने तथा उत्पादन गिरावट आउने भन्दै किसानहरुले धान रोप्न छोडेका थिए।

रोपेको धानमा रोग लाग्ने, असिना र बर्सातका कारण भित्र्याउने समयमा दाना झार्ने देखि धानभित्रको चामल टुक्रा टुक्रा हुने समस्या देखिएकाले किसानहरुमा मार्सी धान रोपाइँ प्रति निराशा जागेको थियो। जस कारण मार्सी धान उत्पादनमा गिरावट आयो।

लामो समयदेखि किसानहरुले खेतहरू बाँझै राख्दै आएकामा प्रजिअ घिमिरेले मार्सी धानको उत्पादनमा लाग्न किसानहरूलाई हौसला दिएका छन्।

बिहीबार देखि सुरु भएको रोपाइँ महोत्सवमा उल्लेखित स्थानीयहरूको सहभागी थियो। स्थानीय पातारासी गाउँपालिका-३ छुमचौरकी शोभा बोहोराले छुमचौरमा रोपिने मार्सी धानको पहिचान आफैमा महत्त्वपूर्ण भएको बताइन्। तर मरुवा रोगका कारण सधैँ उत्पादन कम हुने भएकोले किसानहरुको जोस भने हराउँदै गएको उनको गुनासो थियो।

‘संसारको उच्च स्थानमा फल्ने मार्सी धान जिउलो छुमचौर भनेर सामान्य ज्ञानहरूमा समेटिएको छ। तर बर्सेनि खेतहरू बाँझो हुँदै जाँदा किसानहरु मार्सी धानको खेती छोड्न थालेका छन्। यो राम्रो भएन।’ उनले भनिन्।

स्थानीय सरकार, कर्णाली प्रदेश सरकार र संघीय सरकारले छुमचौर जिउलोलाई कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गरेर रोपाइँ व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।

छुमचौर जिउलोमा पछिल्लो समयमा न्यूनतम २० देखि ३० खेतमा मार्सी धानको रोपाइँ हुने गरेकाे छ। मरुवा रोगका कारण मार्सी धानकाे उत्पादन कम हुने भएकोले यहाँमा किसानहरु सिमी, मकै, कोदो, चिनो, कागुनो, जौं, गहुँ र आलु खेतीमा बढी आकर्षित हुने गरेका छन्। मार्सी धानकाे उत्पादनका लागि निरोगी मार्सी धानको बिउ उपलब्ध हुनुपर्ने, व्यावसायिक मार्सी धान खेतीको सुरुवातका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने यहाँका किसानहरुकाे माग छ।

मार्सी धानको खेतीबाट उत्पादन राम्रो नभएपछि किसानहरु यो समयमा हरेक वर्ष यार्सा संकलन गर्न पाटनतिर जाने गरेका छन्।

समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको प्रख्यात छुमचौर जिउलोमा मार्सी धान लहलहाउने गरेर योजना बनाउन समेत किसानहरुले जिल्ला स्थिति सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले मार्सी धानको जगेर्ना गर्नु सबैको दायित्व भएको बताए। उनले भने, ‘मार्सी धानको माग पनि अत्यधिक छ। मूल्य पनि उच्च नै छ। किसानले गुणस्तरीय मार्सी धान उत्पादन गर्नुपर्ने देखिन्छ। यसले गरिबी निवारणमा योगदान पुर्‍याउनेछ।’

पातारासी गाउँपालिका-३ का वडा अध्यक्ष गोविन्द बुढाका अनुसार गाउँपालिकाले मार्सी धानको खेती सुरु गर्न डिपिआर समेत बनाएको छ। यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जिउलाको पहिचान गुमाउन नहुनेमा जोड दिएका छन्।

तस्बिरहरु: गोल्डन/नागरिक

प्रकाशित: २७ वैशाख २०८१ २१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App