४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गर्दै २१ वर्षपछि एसिया कपमा छनोट भएको हो।

कमजोर पूर्वाधारबीच नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो उपलब्धि हो। अघिल्लो महिना मात्रै यु-१९ क्रिकेट टिम विश्वकपमा छनोट भएसँगै क्रिकेटमा नयाँ उत्साह थपिएको छ। पूर्वाधार निर्माण गर्नुपर्ने दबाब सरकारलाई परेको छ। इतिहास कोरेको नेपाली क्रिकेटले भने गतिलो पूर्वाधार पाउन अझै सकेको छैन। राजधानीमा मूलपानी क्रिकेट मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। मूलपानीबाहेक नेपालमा एक मात्र अन्तर्राष्ट्रिय मैदानका रूपमा टियुको रंगशाला मात्रै चिनिन्थ्यो।  

मोसफलमा भने क्रिकेट पूर्वाधार अझै कमजोर छ। चितवनमा गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र छ। पोखराको अन्तर्राष्ट्रिय मैदानमा पर्याप्त पूर्वाधार छैन। दाङको लमहीमा क्रिकेट मैदानसहितको पूर्वाधार तयार हुँदै छ। खेलकुदको सहर पोखरामा पनि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने सपना अझै साकार बन्न सकेको छैन।

गण्डकी प्रदेश सरकार निर्माणसँगै आफ्नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लक्ष्य राखिएको थियो। जग्गा प्राप्ति भयो। तर लक्ष्य भने लक्ष्यहीन छ। नेपालले मंगलबार ऐतिहासिक उपलब्धि हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।

मुख्यमन्त्री पाण्डेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, ‘जित सारा नेपालीको भावनासँग जोडिएको छ। कमजोर पूर्वाधारबीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु। साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वको हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु। प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागि यही वर्षबाट आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाउँदछु। पुनः एकपटक नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’

जबजब उपलब्धि हासिल हुन्छ, तब सरकारको प्रतिबद्धता आउने गरेको छ। तर प्रतिबद्धता कार्यान्वयनमा भने आएको देखिँदैन। मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता अनुसार क्रिकेट खेलाडी, क्रिकेटप्रेमी तथा क्रिकेट संघ आशावादी देखिएका छन्। प्रदेश सरकारले भोगाधिकार पाएको पोखरा-३३ पशुपतिघाटमा गण्डकी प्रदेश अन्तर्राष्ट्रिय मैदान बन्नेमा विश्वस्त देखिएको छ। पशुपतिघाटको १ सय ७५ रोपनी क्षेत्रफलको जग्गा क्रिकेट मैदानका लागि छुट्ट्याइएको छ। तर छुट्ट्याइएको जग्गामा प्रदेश सरकारको लगानी भने शून्यजस्तै छ।

गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै सुरु भएको छैन। प्रदेश सरकारले क्रिकेट मैदानको लागि १ अर्ब ६५ करोड अनुमानित) खर्च गर्ने भनी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको तीन वर्ष बित्यो। ‘प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन बनाउन गरेको खर्चबाहेक क्रिकेट रंगशाला बनाउन लगानी गरेको छैन,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन्।

उनका अनुसार क्रिकेट रंगशाला निर्माणका लागि कार्यदलसमेत गठन गरी आवश्यक सुझाव पेस गरिएको थियो। सुझावअनुसार तत्कालै आवश्यक पर्ने मैदान सम्याउने र पिच तयार गर्ने काम मात्रै भए पनि गर्नुपर्ने थियो। तर प्रदेश सरकारले बजेट नदिँदा कुनै काम अगाडि बढ्न नसकेको उनको गुनासो थियो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि दुईवटा मैदान अनिवार्य चाहिन्छ। तर पोखरामा पोखरा रंगशालाभित्रको क्रिकेट मैदानबाहेक अर्को छैन। पशुपतिघाटमा प्रदेश सरकारले लगानी गर्ने उद्घोष गरेसँगै उत्साहित बनेका क्रिकेटप्रेमी निराश छन्। यद्यपि फेरि मुख्यमन्त्री पाण्डेको प्रतिबद्धताले आशा पलाएको छ।

‘मुख्यमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा हुनुपर्छ,’ क्रिकेट संघ कास्कीका अध्यक्ष सिग्देलको भनाइ थियो। प्रदेश सरकारले जग्गा प्राप्तिपछि दुई करोड रूपैयाँ छुट्ट्याएको थियो। २५ लाख रूपैयाँ सेती नदीको कटान रोक्न र बाँकी १ करोड ७५ लाख रूपैयाँले मैदान र पिचको काम गर्ने भनिएको थियो। तर बजेट बर्सेनि फ्रिज हुँदै गएपछि चर्चा सेलाउन पुग्यो।

प्रदेश सरकारले पशुपतिघाटमा बनाउने भनिएको रंगशाला फेज आउट भएको छ। भौगोलिक अवस्थाकै कारण पशुपतिघाटमा क्रिकेट मैदान बनाउन नसकिने पहिचान भइसकेपछि गण्डकी प्रदेश क्रिकेट संघले पोखरा-१४ बाच्छेवुडुवामा क्रिकेट मैदान बनाउन उपयुक्त हुने ठहर गरेको छ।

 ‘पशुपतिघाटमा क्रिकेट मैदान बनाउने ठूलै योजना अघि सारिएको थियो। तर भौगोलिक अवस्थाले फेज आउट भएको छ।’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजु भन्छन्, ‘हामीले वैकल्पिक मैदान चाहियो भनेर लागिपरेका छौं। मुख्यमन्त्रीको अभिव्यक्तिले मूर्त रूप लिए पोखरा क्रिकेटको अर्को डेस्टिनेसन बन्छ।’ 

प्रकाशित: २१ वैशाख २०८० ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App