६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।

अतिरिक्त समयमा काओरा मितोमाको उत्कृष्ट नियन्त्रणसँगै फिनिसिङ भएपछि ब्राइटनले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–१ ले स्तब्ध पारेको थियो। यो नतिजासँगै लिभरपुलले आफ्नो खराब सिजनलाई निरन्तरता नै दियो। ब्राइटनले यस सिजन दोस्रो पटक लिभरपुललाई हरायो। यसअघि गत जनवरी १४ मा इङ्लिस प्रिमियर लिगमा पनि लिभरपुल ब्राइटनसँग ३–० ले स्तब्ध भएको थियो। आइतबार पनि पराजित हुँदै एकै महिना लिभरपुल ब्राइटनसँग दोस्रो पटक निराश बन्न बाध्य भयो। हार्भे इलियटको गोलबाट अग्रता लिएको लिभरपुलले त्यसलाई जोगाउन सकेन।

सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा लिभरपुलले एक मात्र जित निकालेको छ। लेविस डन्कले गोल फर्काउँदै पहिलो हाफ अगाडि नै ब्राइटनलाई बराबरीमा ल्याए। घरेलु मैदानमा खेलको ९२औं मितोमाले गोल गर्दै सनसनी मच्चाए र ब्राइटन पाँचौं चरणमा प्रवेश गर्‍यो। पर्भिस इस्टुपिनानले जो गोमेजको माथिबाट जापानिज विंगर मितोमालाई बल उपलब्ध गराए। जुन बललाई मितोमाले लिभरपुलका गोलकिपर एलिसन बेकरको माथिबाट जाली चुमाएका हुन्।

‘मितोमा अद्भुत किसिमका खेलाडी हुन्। मलाई लाग्छ, उनले अझै योभन्दा माथिल्लो प्रदर्शन गर्न सक्छन्,’ ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीले भने। लिभरपुल प्रिमियर लिगको अंकतालिकामा नवौं स्थानमा रहेकाले निकै दबाबमा छ। शीर्ष स्थानको आर्सनलसँग लिभरपुल २१ अंकले पछि परिसकेको छ। एफए कपबाट बहिर्गमनपछि लिभरपुलसँग यस सिजन उपाधि जित्ने सम्भावना च्याम्पियन्स लिग मात्र रहनेछ। यसै महिना योर्गन क्लोपको टोली ब्राइटनसँग ३–० ले स्तब्ध भएपछि लिभरपुलका समर्थकले त्यसलाई डरलाग्दो प्रदर्शनको संज्ञा दिएका थिए।

जर्मन प्रशिक्षक क्लोपले कम्तीमा आफ्नो मनलाई सुन्नुपर्ने समेत विश्लेषण भइरहेको छ। ‘म चन्द्रमाभन्दा माथिको प्रशिक्षक होइन। हामी राम्रो टोलीसँग फेरि पराजित भएका भने हौं। दुई हप्ताअगाडि पनि हामीले यस्तै हार बेहोरेका थियौं,’ क्लोपले भने, ‘यद्यपि, आजको खेलमा केही सुधार भने भएको छ।’ 

प्रकाशित: १७ माघ २०७९ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App