६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

फागुन १३ गतेदेखि बुढासुब्बा गोल्डकप हुने

प्रतियोगिता अघि नै २२ औं सँस्करणको पुरस्कार रकम दिने प्रतिवद्धता

दुई वर्ष लगातार रोकिएको बुढासुब्बा गोल्डकप यो वर्ष भने आयोजना गरिने भएको छ।

धरान फुटबल क्लबले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी फागुन १३ गतेदेखि २० गतेसम्म २३ औं सँस्करण सञ्चालन गर्ने जानकारी दिएको हो। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगितालाई सम्पन्न गर्न आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, मैदान व्यवस्थापन उपसमिति र आयोजक टिम तयारी उपसमिति गठन भइसकेको पनि क्लबले जनाएको छ। क्लबका अध्यक्ष किशोर राईले जारी गरेको विज्ञप्ती अनुसार यी समितिहरुको संयोजकमा क्रमशः नविन राई, प्रताप तामाङ, सुदिप उप्रेती र रोमी मोक्तानलाई जिम्मेवारी दिइएको छ। 

२०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप मोफसलको चर्चित फुटबल प्रतियोगितामा पर्छ। वर्षेनी आयोजना भइरहेको यो गोल्डकप २०७७ र २०७८ सालमा भने कोरोना महामारी र आर्थिक संकटले गर्दा क्रमशः २३ औं र २४ औं सँस्करण आयोजना हुन सकेन। यो वर्ष प्रतियोगितालाई निरन्तरता दिलाउन क्लब अध्यक्ष किशोर राई अध्यक्षतामा पदाधिकारीहरु रहने गरि सचिवालय पनि गठन गरिएको छ। प्रतियोगितामा काठमाण्डौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेपनि निर्णय भइनसकेको विज्ञप्तीमा उल्लेख छ। 

प्रतियोगितामा आयोजकको एउटा मात्र टिम हुनेछ। हाल सञ्चालन भइरहेको २३ औं गोधुली रनिङ कपलाई आधार बनाएर धरानको टिम तयार गरिने पनि क्लबले जनाएको छ। ‘आयोजक टिम व्यवस्थापन उपसमितिले छनौट गरिएको खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराई अन्तिम छनौट गरिनेछ,’विज्ञप्तीमा भनिएको छ।  

 पुरस्कार राशीबारे यस्तो छ स्पष्टीकरण

पोखरामा आहा रारा गोल्डकप आयोजना अघि धरान फुटबल क्लबलाई सहभागी नगराउन आग्रह गर्दै मनाङ मस्र्याङ्दी क्लबले लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल मात्र भएन, धरान फुटबल क्लबको सर्वत्र आलोचना भएको थियो। क्लबले २२ औं सँस्करणको विजेता मनाङलाई पुरस्कार राशी अहिलेसम्म दिन सकेको छैन। मनाङले सोही कुरा उल्लेख गर्दै आहा रारा गोल्डकपको आयोजकलाई पत्राचार गरेपछि क्लब आलोचित बन्यो।

क्लबले भने कोरोना महामारीको कारण राखेपबाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको जनाएको छ। यस्तै, विगतका प्रतियोगिताहरुमा प्रदान गरिदै आएको प्रथम पुरस्कार राशी तत्कालिन १ नम्बर प्रदेश सरकारबाट पनि प्राप्त हुन नसकेकोले पुरस्कार राशी दिन नसकेको विज्ञप्तीमा उल्लेख छ। ‘तर हामीले २३ औं सँस्करण आयोजना मिति अगावै पुरस्कार राशी सम्बन्धित क्लबहरुलाई उपलब्ध गराउने जानकारी अखिल नेपाल फुटबल संघमार्फत जानकारी गराइसकेका छौं,’विज्ञप्तीमा भनिएको छ।  

प्रकाशित: ३ माघ २०७९ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App