१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रियोमा लक्ष्य भेटिन् फुपुले

काठमाडौं–रियो ओलम्पिकका लागि बिदाइको बेला जुडो खेलाडी फुपुल्हामु खत्रीले पूरा समय म्याटमा टिक्ने लक्ष्य लिएको बताएकी थिइन् ।

ब्राजिलमा मंगलबार सागकी स्वर्ण विजेता फुपुले निर्धारित ४ मिनेट क्युबाकी इस्पिनोसा मारिसेटसँग प्रतिस्पर्धा गर्दै ओलम्पिक लक्ष्य पूरा गरेकी छन् । पूरा समय विपक्षीलाई चुनौती दिएकी फुपुले नेपाली जुडोमा कीर्तिमानी प्रदर्शनसमेत गरिन् ।

ओलम्पिकमा नेपाली जुडो खेलाडी पूरा समय म्याटमा टिक्न सकेका थिएनन् । तर फुपु पूरा समय टिकेर कीर्तिमानी प्रदर्शन गर्न सफल भइन् । जुडोबाट ओलम्पिक खेल्ने फुपु नेपालकी चौथो खेलाडी हुन् ।

यसअघि सन् १९८८ मा भएको २४औं सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले प्रतिस्पर्धा गरेका थिए । २००८ मा देवु थापाले बेइजिङमा भएको ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । ब्राजिलमा देवु उनै फुपुको प्रशिक्षकमा छिन् ।

करिअरकै ठूलो खेलमेलामा भाग लिएकी फुपुले आफ्नो लक्ष्य पूरा भएको बताएकी छन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘मैले पूरा चार मिनेट खेलेँ । लक्ष्य पूरा भयो । अब म ओलम्पियन भएँ । खुसी छु । म्याटमा जानुअघि बुबालाई सम्झिएको थिएँ । खेलमा मैले सक्दो राम्रो गर्ने कोसिस गरँे । इप्पोन (नकआउट) मा नहार्ने प्रयास गरेको थिएँ, त्यसमा सफल भएँ ।’फुपुले दुई वर्षअघि बुबा दोर्जे खत्रीलाई हिउँपहिरोमा गुमाएकी थिइन् ।

 

प्रशिक्षक देवुले फुपुको प्रदर्शनबाट आफू पूरा सन्तुष्ट रहेको बताइन् । उनले भनिन्, ‘उसले पूरा समय खेलिन् । यो हाम्रो लागि राम्रो प्रदर्शन हो । त्यसैले म सन्तुष्ट छु । ’

‘क्युबाका खेलाडी धेरै राम्रो हुनुका बावजुद फुपुले इप्पोन हुन दिइनन्, डटेर खेलिन् त्यो नै हाम्रा लागि ठूलो सफलता हो,’ उनले थपिन् ।

रियो ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्तिमा फुपुले हंगेरीमा करिब एक वर्ष प्रशिक्षण प्राप्त गरेकी थिइन् । प्रशिक्षणका क्रममा उनले हंगेरी ओपन जुडो च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् । ६ महिनाअघि हंगेरीबाट सोझै १२औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न भारत पुगेकी उनले त्यहाँ स्वर्ण जितेकी थिइन् । जुन सागमाजुडोले जितेको एक मात्र स्वर्ण थियो ।

त्यसकै आधारमा फुपुले रियो ओलम्पिक उद्घाटनको मार्चपासमा राष्ट्रिय झन्डा बोक्ने सौभाग्य पाएकी थिइन् ।

मंगलबार ६३ केजी तौल समूहमा फुपुलाई हराउने क्युबाली अन्तर्राष्ट्रिय जुडोमा १५औं वरीयताकी खेलाडी हुन् । फुपुको वरीयता १सय ५४औं स्थानमा थियो । उनकी प्रतिद्वन्द्वीले पानअमेरिनओपन च्याम्पियनसिपकी विजेता खेलाडी हुन् ।

ओलम्पिकमा सुखद प्रदर्शन गर्ने क्रममा फुपुविरुद्ध विपक्षीले वाजारी र युकोबाट समान १ अंक लिएकी थिइन् । खेलमा अस्टे«लियाका रेफ्री पिटर लुबोमिरले फुपुलाई तीनपटक पेनाल्टी दिएका थिए । रक्षात्मक खेलेको भन्दै दुईपटक र फल्स एट्याकका कारण एकपटक फाउल पाएकी थिइन् । हारसँगै फुपु बाहिरिइन् भने इस्पिनोसा अन्तिम–१६ मा पुगेकी छिन् ।

२२ वर्षीया फुपु दुईअघि सम्पन्न पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट महिला खेलाडी भएकी थिइन् ।

उनले एक वर्षअघि हङकङमा भएको ओलम्पिक ¥याङकिङ जुडोमा रजत, मकाउमा भएको जेयुए क्याडेट जुनियर च्याम्पियनसिपमा कांस्य जितेकी थिइन । १२औ सागमा स्वर्ण जित्ने क्रममा उनले श्रीलंकाका डिवाइएल वाजेवद्र्धने, बंगलादेशकी कान्ता र पाकिस्तानकी अब्रिन मसिहलाई इप्पोन(नकआउट) पराजित गदै फाइनलमा पुगेकी थिइन । फाइनलमा फुपुले भारतकी सुनीवाला देवीलाई हराउँदै स्वर्ण जितिन ।

नेपाल जुडो महासंघका महासचिव धर्मकुमार श्रेष्ठले रियोमा फुपुले गरेको प्रदर्शन नेपालका लागिसुखद नतिजा भएको बताए । उनले नागरिकसँगभने, ‘उनको प्रदर्शनबाट हामी खुसी छौं । ओलम्पिकमा चार मिनेट खेल्नु हाम्रो लागि महŒवपूर्ण कुरा हो । उनीइप्पोन (नकआउट) मा हारिनन् । युरोपियन खेलाडीसँग खेल्न सहज छैन । उनले पुरा समय खेल्दै हाम्रो आशा पूरा गरेकी छिन् ।’ संघले पहिलो खेल पूरा समय खेले फुपुलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो।

प्रकाशित: २६ श्रावण २०७३ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App