२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वैदेशिक लगानी गरेका कम्पनीले लाभांश फिर्ता लगेकाले नेपालमा लगानीको वातावरण प्रष्ट छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा वैदेशिक लगानी गरेका कम्पनीहरु नाफामुखी दिएको बताएका छन्। उनले आइतबार नेपाल लगानी सम्मेलन–२०२४ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

‘नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नीहरू नाफामुखी देखिएका छन्। ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रष्ट देखाउँछ’, प्रधानमन्त्री दाहालले भने।

उनले हालै भएका सम्झौता र समझदारीको आदानप्रदान सहकार्य र साझेदारीको नयाँ युगको सुरुआत भएको पनि बताए। ‘मलाई विश्वास छ निकट भविष्यमा यसको परिणाम आउनेछ। मलाई विश्वास छ, दुई दिनको यो महत्त्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणाहरू गरिनेछन्। यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–व्यवसाय–सरकारको तहमा  नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ’, प्रधानमन्त्री दाहालले भने।

उनका अनुसार तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन हुन्। ‘दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको छ’, प्रधानमन्त्री दाहालले भने।

उनका अनुसार हाल नेपालमा दश औद्योगिक जिल्लाहरू सञ्चालनमा छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ।

‘उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने सङ्केत गर्दछ। बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ’, प्रधानमन्त्री दाहालले भने।

उनले सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूले देश र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजाहरूको प्रतिज्ञासहित नेपालमा लगानीका विशाल अवसरहरू सिर्जना हुने विश्वास पनि व्यक्त गरे।

‘आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु। सबैको सहकार्य र सहयोगले नेपालको आर्थिक सम्भावनालाई सदुपयोग गरी आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्नेमा म आशावादी छु’, प्रधानमन्त्री दाहालले भने, ‘हामी यस शिखर सम्मेलनको नतिजालाई साकार तुल्याउने छौँ।’

प्रकाशित: १६ वैशाख २०८१ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App