१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

संकटा बागमती गोल्डकप फुटबलको फाइनलमा

मकवानपुरका खेलाडीसँग बल खोस्दै संकटाका स्टेफन समिर।

घरेलु टोली मकवानपुर ११ लाई निराश बनाउँदै ए डिभिजन क्लव संकटा मकवानपुरको बागमतीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।आइतबार भएको खेलमा संकटाले मकवानपुरलाई २–० गोलले हराएको हो। आहा रारा पोखरा गोल्डकपको उपाधि विजेता समेत रहेको संकटाले उपाधिका लागि भुट्निज युथ स्पोर्टस् क्लव अमेरिकाको सामना गर्नेछ। भुट्निजले जावलाखेल युथ क्लवलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।आहा रारामा पनि संकटा र भुट्निजले नै फाइनल खेलेका थिए। 

मकवानपुरलाई हराउने क्रममा दुवै गोल संकटाका डिफेण्डर यान्डेभ थिएरीले गरेका हुन्। खेलको १६ औं मिनेटमा सुनिल बलको कर्नर प्रहारलाई सदुपयोग गर्दै उनले हेडमार्फत सुरुवाती गोल गरेका थिए। पहिलो हाफमै पछि परेको मकवानपुर दवावमा परेको थियो। स्थानीय खेलाडी लिएर मैदान उत्रेको मकवानपुरले केही राम्रो मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ। खेलको ६१ औं मिनेटमा सुनिल बलकै कर्नरमा थिएरीले नै हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। संकटाका खेलाडीले निकै सहज खेल खेलेका थिए।

 दुई गोल गरेका संकटाका डिफेण्डर यान्डेभ थिएरी नै खेलको म्यान अफ द म्याच चुनिए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। मकवानपुरले नेपाल पुलिस क्लवलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। फाइनल खेल यही मंगलबार हुनेछ। ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुई स्थानीय टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। 

बागमती गाउँपालिका कार्यालयको मुख्य प्रायोजनमा बागमती गाउँपालिका खेलकुद विकासले यस गोल्डकपको आयोजना गर्दै आएको हो। प्रतियोगिता फापरबारीस्थित जनता माविको खेल मैदानमा सञ्चालन भैरहेको छ।

प्रकाशित: १ माघ २०७९ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App