९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

कतार विश्वकपमा देखिएका अप्रत्याशित नतिजा

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराउँदै तेस्रो पटक विश्वकप उपाधि उचाल्दा लियोनल मेसीका लागि सुखद बिदाइ रह्यो। यता, व्यक्तिगत प्रदर्शनका हिसाबले किलियन एमबाप्पेका लागि पनि यो विश्वकप यादगार नै बन्यो।  

एम्बाप्पेले कतार विश्वकपमा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट आफ्नो नाममा लेखाए। त्यति मात्र होइन, उनी फाइनलमा ह्याट्रिक पूरा गर्न पनि सफल भए। दक्षिण अमेरिकी टोली अर्जेन्टिना र युरोपेली राष्ट्र फ्रान्स यो विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दा महादेशीय प्रतिद्वन्द्विता पनि बनेको थियो। आइतबार कतार विश्वकपले विजेता प्राप्त गर्दा पनि खेलले कयौं पटक नाटकीय मोड लियो। जुन समूह चरणदेखि नै देखिएको थियो। अफ्रिकन राष्ट्र मोरक्कोले पनि अप्रत्याशित नतिजा आत्मसात् गर्दै सनसनी मच्चाउँदा चार पटक विश्वविजेता जर्मनी र फिफाको दोस्रो वरीयतामा रहेको बेल्जियम समूहचरणबाट नै घर फर्किन बाध्य भए।  

मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र नै बन्यो। यद्यपि, त्यसअघि समूहचरणमा नै अप्रत्याशित नतिजा पनि निक्लिए। दक्षिण अमेरिकी टोली ब्राजिलले पहिलोपटक अफ्रिकी राष्ट्रसँग हार बेहोर्दा क्यामरुनलाई १–० ले नतिजा सुम्पियो। विश्वविजेता अर्जेन्टिनाको कतार विश्वकपमा सुरुआत भने सुखद रहेन। अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध हुन पुग्यो। जापानले युरोपेली महारथी जर्मनी र स्पेनलाई नै समूहचरण हरायो। दक्षिण कोरियाले अर्को बलियो राष्ट्र पोर्चुगललाई हार चखाउँदा अप्रत्याशित नतिजाको शृंखला रोकिएन। नकआउट चरणमा पनि यो क्रम जारी रह्यो।  

मोरक्कोले अन्तिम १६ मा स्पेनलाई र क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध बनाउँदै अफ्रिकी राष्ट्रका लागि इतिहास बनायो। यता, पाँच पटकको विश्व च्याम्पियन एवम् उपाधि दाबेदार मानिएको ब्राजिलले क्वार्टरफाइनलमा क्रोएसियालाई नतिजा सुम्पिँदा सन् २००२ पछि खराब नतिजा जारी राख्यो। कतारको विश्वकपमा डेब्यु यात्रा जितविहीन टुङ्गिन पुग्यो र समूहका तीनै खेल गुमाउने पहिलो आयोजक बन्न बाध्य भयो। अरबी भूमिमा एक महिनासम्म चलेको विश्वकपमा निक्लिएका अप्रत्याशित नतिजा निम्न छन्।  

ऐतिहासिक सफलता

विश्वकप इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अरबी र अफ्रिकन राष्ट्र बन्यो मोरक्को। कतार विश्वकपमा मोरक्कोले यो ऐतिहासिक सफलता चुमेको हो। विश्व वरीयतामा २२औं स्थानको वालिद रेग्रेगुईको टोली मोरक्कोले समूहचरणमा नै बेल्जियमलाई हराउँदा गत संस्करणको उपविजेता क्रोएसियालाई बराबरीमा रोकेको थियो। मोरक्कोले सन् २०१० को विश्वविजेता स्पेनलाई अन्तिम १६ मा र पोर्चुगललाई क्वार्टरफाइनलमा स्तब्ध पा¥यो। त्यो सफलतापछि मोरक्कोले लाखौं अफ्रिकी र अरबी समर्थकको साथ पायो।  

तर, उसको यात्रा सेमिफाइनलमा रोकियो, जहाँ मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो। समूहचरणमा नै जापानले जर्मनी र स्पेनलाई हार चखायो। तर, अन्तिम १६ को खेलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदा एसियन राष्ट्रको यात्रा थप अगाडि बढ्न सकेन। समूहचरणमा अर्को अप्रत्याशित नतिजा निकाल्ने टोली हो, दक्षिण कोरिया। एसियन राष्ट्र दक्षिण कोरियाले समूहचरणमा पोर्चुगललाई हराउँदै बलिया टोली रहेको समूहबाट नकआउट चरणमा पुग्न सफल भयो। तथापि, अन्तिम १६ को खेलमा ब्राजिलसँग पराजित भएपछि एसियन टोलीको यात्रा क्वार्टरफाइनमा पुग्न सकेन।  

सुपर स्टारको सनसनी  

मेसी र एम्बाप्पे दुवै विश्वकप अगाडिका स्टार हुन्। विश्वकपमा एम्बाप्पेले आठ गोल गर्दा मेसीले सात गोल पूरा गरे। एम्बाप्पेले ह्याट्रिक पनि पूरा गर्दै सनसनी मच्चाए। मेसी ३५ वर्ष र एम्बाप्पे २३ वर्षका स्टार हुन्, जो आफ्ना राष्ट्रलाई तेस्रो पटक विश्व च्याम्पियन बनाउन चाहन्थे। तर, यो लक्ष्यमा मेसीले सफलता पाए। आफ्नो लक्ष्यअनुसार दुवैले फाइनलसम्म यादगार प्रदर्शन गरे। हरेक खेलमा यी दुई खेलाडी चर्चाका विषय रहे र सोही किसिमको प्रदर्शनका साथै नतिजा पनि दिए। यी दुई व्यावसायिक करियरमा फ्रान्सकै क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी पनि हुन्। तर, फाइनलमा भने उनीहरू एकअर्काका प्रतिद्वन्द्वी बने।  

युवाको उदय

यो विश्वकपमा केही युवा स्टारको उदयमा पनि भयो। म्यानचेस्टर सिटीका युलियन अल्भारेजले आफ्नो उपस्थितिलाई साबित गरे। उनले विश्वकपमा चार गोल पूरा गरे। पोर्चुगलका अर्का युवा गोन्सालो रामोसले पनि सनसनी मच्चाए। विश्वस्तरीय स्टार क्रिस्टियानो रोनाल्डोकै स्थानमा अप्रत्याशित रूपमा पहिलो रोजाइमा परेका थिए, रामोस। त्यसअनुरूप उनले आफूलाई साबित गर्दै अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक पूरा गरे। त्यो खेलमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि ६–१ को रबाफिलो जित पनि निकाल्यो। इङ्ल्यान्डका बुकायो साका र जुड बेलिङ्घमको प्रदर्शन सबैको नजरमा प¥यो। उनीहरूसँगै डचका युवा कोडी गाक्पो र क्रोएसियाका डिफेन्डर यस्को गभार्डिओलको प्रदर्शन पनि यादगार रह्यो। उनीहरूले कतार विश्वकपमा राम्रो प्रभाव जमाए।  

चर्चित स्टार स्तब्ध  

पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग स्तब्ध भएपछि विश्वकप जित्ने क्रिस्टियानो रोनाल्डोले सपना अधुरै रह्यो। त्यो हारसँगै उनी गहभरि आँसु बनाउँदै मैदानबाट बाहिरिएका थिए। रोनाल्डोको व्यावसायिक करियर धरमराएको अवस्थामा पोर्चगुलले पनि उनीमाथि कम विश्वास देखायो। मोरक्कोसँग स्तब्ध हुँदा होस् या स्विट्जरल्यान्डसँग रबाफिलो जित निकाल्दा दुवै पटक रोनाल्डो पहिलो रोजाइमा परेनन्। जुन विश्व फुटबलमा पछिल्लो एक दशक विरलै देखिन्थ्यो। यो विश्वकपमा उनले एक गोल गरेका थिए, जुन क्यामरुनविरुद्ध समूहचरणमा पेनाल्टीबाट सम्भव भएको थियो।  

अर्का स्टार खेलाडी नेइमारका लागि पनि विश्वकपमा लगातार खराब नतिजा जारी रह्यो। उनले महान् खेलाडी पेलेको नाममा रहेको ब्राजिलबाट सर्वाधिक गोलकर्ताको रेकर्डलाई पछि पार्दै ७७ गोल संख्या पु¥याए। त्योबाहेक नेइमारका लागि यो विश्वकप सुखद रहेन। क्वार्टरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भएपछि उनको पनि विश्वकप जित्ने सम्भावना फेरि टाढियो। त्यो हारपछि उनी पनि गहभरि आँसु बोक्दै मैदानबाट बाहिरिए। सम्भवतः नेइमारका लागि यो विश्वकप अन्तिम हुन सक्ने आकलन पनि चलिरहेको छ। पछि उनले नै आगामी विश्वकपबारे अनिश्चितता रहेको प्रस्ट्याइसकेका छन्। आफू मानसिक रूपमा स्तब्ध भइरहेको पनि उनको धारणा थियो।

प्रकाशित: ४ पुस २०७९ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App