९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

महँगा खेलाडीको अधुरै रह्यो सपना

विश्वकै महँगा खेलाडी ब्राजिलका नेइमारको विश्वकप उपाधि जित्ने लक्ष्य यस पटक पनि अधुरै रह्यो।

सम्भवत् नेइमारका लागि कतार विश्वकप २०२२ अन्तिम विश्वकप सहभागिता रहनेछ। क्रोएसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दा नेइमारले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए। नेइमारका लागि यो विश्वकपको उपलब्धि पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गर्नु हो। नेइमारसामु पेलेको सर्वकालीन गोलकर्ताको कीर्तिमान तोड्ने सुनौलो अवसर बाँकी नै छ। तर, विश्वकप उपाधि जित्ने नेइमारको लक्ष्यमा भने पूर्णविराम लाग्योभन्दा फरक नपर्न सक्छ। क्रोएसियासँग शुक्रबार पेनाल्टी सुटआउटमा हार बेहोर्दै ब्राजिल लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो।

पेलेको गोल कीर्तिमानसँग बराबरी गरे पनि नेइमारको अन्तर्राष्ट्रिय खेलजीवनमा खड्कने एउटै उपाधि भनेको विश्वकप नै रहनेछ। पेलेले तीन पटक विश्वकप जितेका थिए। नेइमार मात्र नभई समग्र ब्राजिलको टोली हाल साउ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पताल उपचारर्थ पेलेलाई विश्वकप उपाधिसहित खुसी दिन चाहन्थे। क्रोएसियासँगको हारले सो लक्ष्यले पनि पूर्णता पाउन सकेन। क्रोएसियासँग हारपछि निकै भावुक बनेका नेइमारले २०२६ को विश्वकप खेल्नेमा निश्चित नभएको पनि बताएका छन्। ब्राजिलबाट एक सय २४ खेल खेलिसकेका नेइमार २०२६ को विश्वकपसम्म ३४ वर्षको हुनेछन्।

वि.सं. २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। नेइमारका लागि मात्र नभई कतार विश्वकप पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, क्रोएसियाका कप्तान लुका मोडरिच र फ्रान्सका स्ट्राइकर ओलिभर जिरौउड जस्ता पाका खेलाडीका लागि पनि अन्तिम सहभागिता हुन सक्छ। गत वर्षको एक अन्तर्वार्तामा नेइमारले आगामी विश्वकप खेल्न आफू मानसिक रूपमा तयार नहुने भन्दै २०२६ को विश्वकपअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने संकेत गरेका थिए।

पछिल्ला तीन विश्वकपमा ब्राजिलले सबैभन्दा आशा गरेको खेलाडी हुन्, नेइमार। तर, उनले ब्राजिलको विश्वासलाई प्रमाणित गर्न सकेनन्। विश्वकपमा नेइमारले आठ गोल गरेका छन्। सन् २०१४ को घरेलु मैदानमा सम्पन्न विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा घाइते भएका नेइमारले जर्मनीसँगको सेमिफाइनल गुमाएका थिए। जुन खेलमा ब्राजिलले ७–१ को लज्जास्पद हार व्यहोरेको थियो। चार वर्षअघि रुस विश्वकपमा पनि नेइमारले चोटका कारण खेल्ने नखेल्ने शंका थियो। उनी अन्तिम १६ अन्तर्गत कोस्टारिकाविरुद्धको खेलमा मैदान फर्किए।

जुन खेल ब्राजिलले जित्यो। तर, क्वार्टरफाइनलमा भने ब्राजिलका लागि बेल्जियम बाधक बन्यो। यस पटक पनि उनी सर्बियाविरुद्धको पहिलो खेलमा कुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरिन पुग्यो। स्विट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाएका नेइमारले दक्षिण कोरियासँगको अन्तिम १६ को खेलमा पुनरागमन गर्दै एक गोलसमेत गरे। तर, यस पटक पनि ब्राजिलको यात्रा क्वार्टरफाइनलमै सीमित भयो। ‘म २०२६ को विश्वकप खेल्ने सम्भावना समाप्त भयो नै त भन्न सक्दिनँ,’नेइमारले भने, ‘तर म खेल्छु नै भनेर दाबी पनि गर्न सक्दिनँ।’  

ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। सन् २०१९ मा ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा पनि चोटकै कारण नेइमार टोली बाहिर थिए। विश्वकप उपाधि मात्र नभई नेइमारले अर्को जित्न चाहेको अवार्ड भनेको बलोन डी’अर हो। जुन अवार्ड उनका लागि निकै पर छ। हाल पेरिस सेन्ट जर्मन(पिएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका नेइमारको प्रदर्शन किलियन एमबाप्पे र मेसीको छायामा पर्दै आएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App