१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सडक अवरुद्ध हुँदा दशैं मनाउन आएका गाउँमै रोकिए

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा दशैं मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन्। निरन्तर भारी वर्षा हुँदा सडक खुलाउन समेत समस्या भएको छ। वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दशैं मनाउन बुटवलदेखि निसीखोला आएकी माया घिमिरेले वर्षाका कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताइन्। उनले झिम्पा, बडाचौंर, थापागाउँ लगायत गाउँमा आफन्त रहेको र वर्षाले सडक बिग्रिंदा टीका थाप्न समेत जान नसकेको गुनासो गरिन्।

‘वर्षाले यसपालिको दशैं राम्रोसँग मनाउन पाइएन। सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन। दशैं मनाउनकै लागि टाढाबाट आइयो। एउटा गाउँमा मात्रै आफन्त हुनु हुन्न। सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ’, घिमिरेले भनिन्,‘अब बुटवल फर्किने समय पनि हुन लाग्यो। बजार झर्ने बाटो सबै बन्द भएछन्। फर्किन ढिला हुने भयो।’

दशैं मनाएर पोखरा फर्किएका बडिगाड-१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटामै अलपत्र परेको बताए। उनले दशैंको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको थिएँ तर वर्षाले सडक बिग्रिंदा बीच बाटोमै रोकिनुपरेको पीडा सुनाए।

‘काम गर्ने ठाउँमा दशैंको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ। वर्षाले सडक नै बन्द बनाएको छ। हिंडेर जाने सम्भावना पनि छैन। गाउँका बाटा त सबै पहिरोले बन्द थिए। यहाँसम्म त हिंडेरै झरें। यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ’, नेपालीले भने, ‘अब कसरी जाने, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला। धेरै ठाउँमा गएको रैछ पहिरो पनि।’

दशैं मान्न निसीखोला आएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाएका छैनन्। तानसेनमा फर्निचरमा काम गर्दै आएका उनले दशैं मान्न असोज १७ गते गाउँ आएको बताए। दशैं मनाएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको उनको भनाइ थियो।

‘पानी निकै ठूलो पर्‍यो। दुई-तीन दिनदेखि परेको पानीले सडक सबै भत्किएका छन्। अलिकति सामान पनि लैजानुपर्ला भन्ने लागेको थियो। बिदा पनि थोरै दिनको लिएर आइयो। पानीले निकै दुःख दियो’, मिलनले भने, ‘सडक खुलाउन पनि समस्या छ। धेरै ठाउँमा पहिरो झरेको छ। यो पहिरो सफा गर्न पनि कम्तीमा पनि दुई दिन लाग्छ।’

निसी खोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भएको बताए। उनले मुख्य र ग्रामीण सडकको दर्जनौ स्थानमा पहिरो जाँदा अवरुद्ध सडक भएकाले आफूहरूले खुलाउन उपकरण  प्रयोग गर्न लगाएको बताए।

‘दशैं मनाएर फर्किनेलाई लक्ष्य गरी सडक खुलाउन थालेका छौं, पानी परिरहेकाले निकै समस्या भएको छ। सडक खुलाउन उपकरण प्रयोग भएका छन्’, अध्यक्ष घर्ती मगरले भने, ‘धेरै ठाउँमा पहिराले सडकमा क्षति पुर्‍याएको छ। सडक जति सक्दो छिटो खुलाउने प्रयास गरिरहेका छौं।’

वर्षाले पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा दर्जन बढी ठाउँमा सडक अवरुद्ध भएको छ। केही ठाउँमा गाडी चालकले पन्छाए पनि ठूलो पहिरो उपकरणको सहायताले सफा गर्नुपर्ने सम्बद्ध चालकको भनाइ थियो। रासस

प्रकाशित: २१ आश्विन २०७९ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App