४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। आज माईतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्। 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शनमा सहभागी छन्।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोटा जा’ लगायतका नारा लगाएर विरोध गरेका छन्। विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताए। उनले भने बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन्। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन्।

त्यस्तै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए। उनले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्नु नमिल्ने बताए। उनले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले  चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए।

संयुक्त विद्यार्थी संगठनले बिरोधको कार्यक्रमहरुमा असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गर्ने बताएका छन्। 

प्रकाशित: ६ आश्विन २०७९ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App