५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धनगढीमा भू–माफियाको रजगजः खोला पुरेर जग्गा कब्जा,डोजर चलाउँदै उपमहानगर

बजार क्षेत्रको सडक ३० मिटर चौडा बनाइँदै

धनगढी उपमहानरपालिका १३ मा खोलामाथी भरान गरेको माटो डोजर लगाएर भत्काइँदै।

धनगढी उपमहानगरपालिका वडा नं १३ श्रीलंका र मोहनपुर वस्ती छेउ भएर बग्ने गुल्लुघोग खोला मोहना नदीमा मिल्छ। बर्षातमा पानी भरिएर यो खोला पार गर्न पनि सकिँदैन। यही खोलामा तलपट्टी पुल पनि छ। बढी बर्षा हुँदा यो खोलामा आउने बाढीले वरपर समेत डुबान पार्ने गर्छ।  

यही खोला माथी करिब ६-७ फिट उचाई सम्म माटो पुरेर जग्गा कब्जा गरिएको पाइएको छ। पानी निकास गर्न साना दुई ह्युम पाईप राखेर त्यसमाथी ठूलो परिमाणमा माटो भरान गरेर खोला कब्जा गरेर वारपार जमिन जोडेको हो। पानीको प्राकृतिक बहाव बन्द हुने गरी करिब डेढ बर्ष अघि माटो भरान गर्दा स्थानीयले विरोध गरेपनि अटेर गरी खोला माथी जमिन भरान गरेर कब्जा गरिएको स्थानीय बिनोद भण्डारीले जानकारी दिए।

स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्। उनले त्यस क्षेत्रका केही दिनदेखि डोजर लगाएर भत्काइरहेका छन्। भुमाफिया यही गिरोहले नै पश्चिमपट्टी सामुदायिक वनको जमिन र खोलाको जमिन समेत अतिक्रमण गरेको स्थानीयले बताएका छन्।  

खोला नै ढाकेर माथीबाट ठूलो परिमाणमा माटो भरेर जमिन बनाउने व्यक्तीको नाम नखुले पनि उक्त जमिन डोजर लगाएर भत्काउन सुरु गरेपछि किन भत्काएको भनेर लक्ष्मण बहादुर खड्काको नामबाट निवेदन परेको धनगढी उपमहानगरपालिकाका कर्मचारी भुवन शाहीले बताएका छन्।

खोलाको पश्चिमपट्टी सामुदायिक वन छ। भुमाफियाको एक समूहले खोलाको वरिपरिको जमिन पनि अतिक्रमण गरी व्यक्तिको नाममा हालेर उक्त खोला माथी माटो भरान गरि वारपार जमिन बनाउन खोजेको स्थानीयले जानकारी दिए।

‘जग्गाको कारोबार गर्ने एउटा गिरोह छ, उनीहरुले पूर्वपट्टी प्लानिङ गरेर जमिन बेचे। पश्चिम पट्टी एभरेष्ट कलेज अफ मेडिकल साईन्सको नाममा जमिन छ। त्यहि गिरोहले पुर्व र पश्चिमतर्फ मिल्ने गरी खोला माथी माटो भरान गरेको हो’, स्थानीय शाहीले भने।

खोला नै कब्जा गरेर माटो भरान गरेको उक्त ठाउँमा धनगढी उपमहानगरपालिकाले ६ दिनदेखी दुई वटा डोजर लगाएर भत्काईरहेको छ।

बस्ती डुबानमा पर्ने गरी खोलाको पानीको प्राकृतिक बहावलाई रोकेर खोलाको जमिन व्यक्तीले कब्जा गरेको भनेर स्थानीयको उजुरी आएपछि अवलोकन गर्दा खोला नै रोकिने गरी अतिक्रमण गरेको पाइएको धनगढी  उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।  

‘त्यहि खोलाको तल पट्टी पुल बनाइएको छ, पानीको बहाव धेरै रहेको खोला रोकिएमा पुरै बस्ती डुबानमा पर्छ, खोलामाथी माटो भरान गरेर पानीको प्राकृतिक पानीको बहाव खुलाउन डोजर लगाएर भत्काउन थालिएको छ’, उनले भने।

उसै पनि श्रीलंका बस्ती बर्षातमा डुबानमा पर्ने गर्छ। यो खोला माथी ६÷७ फिट उचो गरी माटो भरान गर्दा बर्षातका बेला खोलाको पानी रोकिएर श्रीलंकाको बस्ती नै विस्थापित हुने खतरा भएको स्थानीय जनक रोकाय बताउँछन। यो खोला माथी माटो भरान गर्दा श्रीलंका वस्तीका करिव ३-४ सय परिवार र मोहनपुरका २ सय परिवार डुबानमा पर्ने उनी बताउँछन।

धनगढी उपमहानगरका सबै वडामा खोला नाला लगायत सार्वजनिक जमिन अतिक्रमण गरेर संरचना बनाएको बिकराल समस्या रहेको स्थानीय बताउँछन्। खोला समेत अतिक्रमण गरेर संरचना बनाउँदा धनगढी बजार लगायत विभिन्न बस्ती डुबानमा पर्ने गरेका छन्।

मेयर बने लगत्तै डोजर लगाएर खोलानालाको अतिक्रमण हटाउन सुरु गरेका मेयर हमाल धनगढी बजार लगायत सबैतिर खोलानाला र सार्वजनिक जमिन माथी गरिएको  अतिक्रमण हटाइने बताउँछन्।  

‘खोलानाला अतिक्रमण, सार्वजनिक जमिन अतिक्रमण जहाँ जहाँ भएको छ, त्यो सबै हटाइने छ’, उनले भने, ‘अहिले काठमाडौँमा डोजर चल्दा सबैतिर डोजरको चर्चा छ, सबैभन्दा पहिले डोजर लगाएर भत्काउन सुरु हामीले गरेका हौँ।’

भत्काउनु पर्ने काम धेरै भएको र डोजर अपुग भएकाले धनगढी उपमहानगरपालिकाले थप दुई डोजर खरिद गर्न लागेको उनले बताए। धनगढी बजार क्षेत्रमा खोलानालामा भएको व्यापक अतिक्रमण हटाउने कार्यलाई बर्षात लगत्तै निरन्तरता दिइने मेयर हमालले जानकारी दिए।

उनका अनुसार धनगढीको मुख्य बजार लाईनमा ३० मिटर सडक चौडा गर्ने गरिदैँ छ। ३० मिटर सडक क्षेत्रमा रहेका सबै संरचना भत्काउने तयारी सुरु भएको छ। सडक क्षेत्राधिकारको केन्द्रबिन्दुदेखि वरपर १५ मिटर क्षेत्रका टहरा, संरचना खाली गर्न असोज मसान्तसम्मको समयावधी दिएर सूचना प्रकाशित गरिसकेको उनले जानकारी दिए। ३० मिटर सडक चौडा गर्दा धनगढी बजारको मुख्य लाईनका दर्जनौ भवन भत्किने छन्।

प्रकाशित: १४ भाद्र २०७९ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App