४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढीगंगाको बजेट: शिक्षा विकासदेखि कृषि उत्पादनमा जोड

शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण

नगरपालिकाको पत्रकार सम्मेलन।फोटो ः नागरिक

बुढीगंगा नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। छैटौं नगर सभाले शैक्षिक अवस्था सुधारको जग निर्माण गर्ने गरी यो वर्षको बजेटलाई पहिलो प्राथमिकतामा राखिएको नगर प्रमुख रामबहादुर बानिँयाले बताएका छन्।  

प्रत्येक नागरिक शिक्षित नभएसम्म र प्राप्त गरेको शिक्षा पनि बजारमा टिक्न र बिक्न सक्ने योग्यताको नभएसम्म अन्य विकास निर्माणको अर्थ नहुने निष्कर्ष सहित पहिलो शिक्षा र दोस्रो स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। साउन १४ गते बुढीगंगा नगरपालिकाले नगर सभा सञ्चालन गरेको थियो।  

बैशाख ३० को निर्वाचन रद्द गरेर असार २३ मा निर्वाचन भएपनि बुढीगंगाले साउनमा नगर सभा गर्नु परेको हो। नगर सभाले गरेका निर्णय र बजेट बारे पालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। यो वर्ष कुल ६६ करोड ३४ लाख ३९ हजार रुपैँया प्रस्ताव गरेको छ। पालिकाले विकास निर्माणमा खर्च गर्न पाउने कुल बजेटको ५ करोड बढी अघिल्लो वर्षको दायित्व मात्र तिर्नुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन्।

बाँकी बजेटको १ करोड ४३ लाख रुपैँया शिक्षा विकासमा लगानी गर्ने निर्णय गरेको छ। पालिका भित्रका सबै माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, भानुदय मावि, त्रिशक्ति, पशुपति माविमा अंग्रेजी शिक्षण सिकाइ सुरु गरिएको छ। थुमा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

पालिकामा एकवटा खेल मैदान र तीन वटा स्थानमा अन्तर्राष्ट्रिय मापदण्डका कवर्डहल निर्माण गर्ने निर्णय गरेको छ। जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ती सहयोग गर्ने निर्णय गरेको नगर उपप्रमुख माया कुँवरले बताएकी छन्। अंग्रेजी पठनपाठनका लागि शिक्षक समेत नियुक्तीको तयारी थालिएको छ।  

नगरपालिकाले शैक्षिक ऋण दिने पनि निर्णय गरेको छ। पाँच वर्षसम्म अनुदान स्वरुप ऋण लगानी पालिकाबाटै शैक्षिक प्रमाण पत्रका आधारमा दिने निर्णय गरिएको छ। त्यसका लागि पहिलो वर्ष ५० लाख बजेट विनियोजन गरिएको छ। र १० वटा वटाका १० जनालाई ऋण लगानी गरिने छ।  

बुढीगंगा सीप विकास केन्द्रका रुपमा रोजगार सेन्टर नै निर्माण गर्ने निर्णय गरेको छ। सबै प्रकारका सीप र तालिमहरु पालिका मातहतमै निर्माण हुने सीप विकास केन्द्रले नै गर्ने छ। एकवडामा एक बाली वा पशुपालनको पकेट क्षेत्र बनाएर उत्पादनलाई जोड दिने निर्णय गरेको छ।  

अण्डा, मासु र दुध दहीमा पालिकालाई नै आत्मनिर्भर बनाउने, आँगनकै तरकारी खाने गरी उत्पादनमा जोड दिने र जिल्ला बाहिरबाट आउने तरकारी आयातमा कडाइ गर्ने निर्णय गरेको छ। पालिकाले आन्तरिक रुपमा नै यो वर्ष ४८ लाख ५७ हजार बढी राजस्व मार्फत आम्दानी गर्ने लक्ष्य लिएको छ।

साना उद्योग तथा उद्यमहरुको दर्ता र कर भुक्तानी सबै पालिकाबाटै गर्ने गरी प्रबन्ध मिलाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन्। पालिकाले बन्द रहेको मदिरा पनि खुला गरेको छ। बन्दका बीच पनि मदिरा बिक्री वितरण र सेवन कार्य व्यापक बढेकोले बन्द नगर्ने र व्यवस्थित गर्ने निर्णय गरेको छ।  

केही व्यापारीलाई मात्र अधिक फाइदा पुग्ने देखिएकोले सबैलाई करको दायरामा ल्याउने गरी पालिकाले व्यवस्तित गर्ने नीति लिएको हो। नगरपालिकाले साविक ३ वटा गाउँ विकास समितिलाई तत्कालिन गाउँ विकास समितिका केन्द्र जोड्ने गरी निर्माण गरिएका सडकलाई कालोपत्रे गर्ने र प्रत्येक सडकमा १÷१ करोड बजेट विनियोजन गरेको छ।

टाँटे स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने र सबै वडामा सहज प्रसूती सेवा सञ्चालन गर्ने नीति लिएर बजेट विनियोजन गरेको छ। बुढीगंगामा आँखा उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ। करारका कर्मचारीलाई कार्यसम्पादन मूल्याकंनका आधारमा हटाउने र निरन्तरताको निर्णय गर्ने भएको छ। पालिकाले यो वर्षलाई नीति नियम बनाउने र डिपीआर तयार पार्ने वर्षका रुपमा लिने निर्णय गरेको छ।  

पाँच वर्ष खेर गए: नगर प्रमुख  

बुढीगंगा नगरपालिकाले बितेका पाँच वर्ष खेर गएको बताएको छ। छैटौ नगर सभाले नै कुनै काम नभएको र भएका काममा समेत गुणस्तर नदेखिएकोले गएका पाँच वर्ष खेर गरेको निष्कर्ष निकालेको छ।  

पाँच वर्ष सम्म न ऐन नियम बने, न नगरको विकास खाका नै तयार पारियो, उपलब्धीविहिन समय सकिएको नगर प्रमुख रामबहादुर बानिँयाले बताएका छन्। २ वटा वडाका भवन बन्नु बाहेक अर्को संरचना बनेको छैन। पालिकामा नगर सभा गर्न मिल्ने गरी हल सुविधा समेत छैन।  

नगर प्रमुख र उपप्रमुखले पाउने पारिश्रमिक १० प्रतिशत रकम शैक्षिक छात्रवृत्तिमा खर्च गर्ने घोषणा गरेको नगर प्रमुख बानिँयाले विकासको महशुस जनताले गर्ने गरी काम गर्ने बताएका छन्। पाँच वर्ष सुतेको अवस्थामा थियो, अब बुढीगंगा हिँड्छ र विकासको मुहान नै फुट्छ, नगर प्रमुख बानिँयाले भने।

आस्था नमिलेकै कारण आरोप मात्र लगाउनु भा होकी, केही काम नै नभएको हो, भन्ने पत्रकारको प्रश्नमा बानिँयाले के के भयो, र भएन भन्ने कुरा विकास निर्माणको अवस्था, ऐन नियम निर्माणको अवस्थाले नै प्रष्ट पार्ने जवाफ दिएका छन्। गर्न सकिने धेरै समय खेर फालेकोमा नगर प्रमुख उनले आपत्ति जनाएका छन्।  

गएका पाँच वर्ष बुढीगंगा नगरपालिका विवाद र आपसी विमेलमै बितेको थियो। नगर प्रमुख उपप्रमुख नेपाली काँग्रेसले जितेपछि वडाहरुमा एमालेको बहुमत थियो। कार्यपालिकाबाट एमालेकै कारण निर्णय हुन नदिने अवस्था आएको काम गर्न नसकिएको गुनासो पूर्व नगर प्रमुख उपप्रमुखको थियो।

होटलमा नगर सभा बाध्यता: नगरपालिका  

नीति तथा कार्यक्रम खुला सभा मार्फत सार्वजनिक गरेको बुढीगंगा नगरपालिकाले नगर सभा भने बडीमालिका होटलमा आयोजना गर्‍यो। नगर सभा नै होटलमा आयोजना गरेपछि चौतर्फी आलोचला भयो। नेपाली काँग्रेसले विरोध स्वरुप ध्यानाकर्षण पत्र नै बुझायो।  

केही सञ्चार माध्यमले चुनाव खर्च असुल्न होटलमै नगर सभा भन्ने शीर्षकमा समाचार नै बनाए। तर त्यो विरोध र आलोचनालाई नगरपालिकाले आरोप र पूर्वाग्रह भएको प्रतिक्रिया दिएको छ। नगरमा सभा हल छैन, पाँच वर्षसम्म हल समेत बनेन, नगर सभा होटलमा गर्नुपर्ने बाध्यता रहेको नगर प्रमुख  बानिँयाले बताएका छन्।

पालिकामा एक हल छ, त्यो पानी परेको दिन चुहिने गर्छ, अर्को नगर प्रमुखको कार्यकक्ष केही साना कार्यक्रमका लागि मात्र उपयुक्त छ। ६० ७० जना अट्ने हल नै नभएपछि होटल रोज्नुपर्ने बाध्यता आएको नगरपालिकाले बताएको छ।  

'अर्को वर्षसम्म पालिकाको भवन निर्माण सकिसक्ने र अब हुने नगर सभा होटलमा नगर्ने गरी प्रबन्ध गर्ने सोचमा छौं, अहिले बाध्यताले नै गर्नु परेको हो' नगर प्रमुख बानिँयाले भने, 'उसो त बुढीगंगा नगरपालिका हरेक कुरामा चर्चामा रहिरहने पालिका हो।

प्रकाशित: १८ श्रावण २०७९ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App