२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान

फाइल तस्बिर

१४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

ताप्लेजुङ जिल्ला अदालतले ४ पुरुष र २ महिलालाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। अदालतको आदेश बमोजिम ४ जना पुरुष ताप्लेजुङ कारागार चलान भएका छन् भने २ जना महिलालाई पाँचथर कारागार पठाइएको छ। ताप्लेजुङमा महिला कारागार छैन। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले मानव बेचबिखन ओसारपसार नियन्त्रण ऐन बमोजिम अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जानकारी दिए।  

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र ४ को उपदफा(१)‘ख’तथा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा(१) बिपरित,उपदफा ३‘ग’बमोजिमको कसुरमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको अदालतले जनाएको छ।  

प्रहरीले ३ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी,१ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा मतियार बनेको तथा २ महिलालाई मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी कार्य गरी बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरी अदालतमा पेश गरेको थियो। अदालतले ६ जनालाइ नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।  

प्रकाशित: ११ श्रावण २०७९ ०८:३४ बुधबार

जबरजस्ती करणी बाल यौन दुरुपयोग कारागार चलान