८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लाउन्ज, नशा, सवारी लिफ्ट र सामूहिक बलात्कार

साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

पीडित युवतीले नै घटनाबारे जानकारी नेपाल प्रहरीलाई दिएपछि यो घटना बाहिर आएको हो। घटना शनिबार राति भएको हो। घटना भएको १६ घन्टाभित्रै अभियुक्त भनिएका चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंकै २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बस्दै आएका २२ वर्षीय रिञ्जेन शेर्पा, सर्लाहीको बागमती नगरपालिका ४ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङ्को गेस्ट हाउस सञ्चालक रहेका ३४ वर्षीय आङ्निमा भनेर चिनिने झ्याम्पा ढिल्ले शेर्पा छन्।

पक्राउ परेकामध्ये रितेश, रिञ्जेन र लामालाई बलात्कार अभियोग लागेको छ भने होटल सञ्चालक शेर्पालाई मतियारका रूपमा प्रहरीले पक्राउ गरेको छ।

यसरी भयो घटना... !

प्रहरीका अनुसार अभियुक्तमध्ये बलात्कारमा संलग्न भनिएका तीनजना र थप अर्कासहित चारजना राति रमाइलो गर्ने भन्दै दरबारमार्ग गएका थिए। त्यहाँ गएर उनीहरूले सुरुमा एउटा डिस्को बारमा मध्यरातसम्म मनोरञ्जन गरे।

त्यसपछि त्यहाँबाट निस्किएर दुईजना दरबारमार्गमै रहेको किङ्स लाउन्जमा गए, जहाँ पीडित भनिएकी युवती एकजना साथीका साथमा थिइन्। जहाँ पीडित युवती र अभियुक्तले संयुक्त रूपमा नशा सेवन गरेको देखिएको एक प्रहरी अधिकृतले जनाएका छन्।

त्यसै क्रममा पीडित भनिएकी युवतीसँग साथमा आएकी युवती छुट्टिएर गइन्। त्यसपछि पीडित युवती एक्लै भइन्। त्यसपछि पनि उनीहरू त्यहाँ बसेर केही समय नशा सेवन गर्दै रमाए। रात छिप्पिँदै गयो। निस्कने समय हुन थाल्यो। त्यसपछि पीडित युवतीले आफू एक्लै जान कठिन भएको अभियुक्तमध्येका एक रिञ्जेनलाई बताएकी थिइन्। त्यसपछि रिञ्जेनले उनलाई ‘म घर पुर्‍याइदिन्छु’ भनेपछि दुवैजना ट्याक्सी लिएर दरबारमार्गबाट निस्किए।

‘बाटोमा दुवैबीच राति घरको ढोका नखुल्ने भन्दै सँगै बस्ने सहमति भएको देखिन्छ’, प्रहरी स्रोत भन्छ, ‘त्यसमा सुरुमा रिञ्जेन शेर्पाले सँगै बस्दा केही हुन्न, उज्यालो भएपछि जानू भनेर करकाप पनि गरेका रहेछन्। रिञ्जेनले त्यसो भनेपछि पीडित युवतीले मानेको देखिन्छ।’

त्यसपछि रिञ्जेनले उनलाई बौद्धस्थित लुङ्को गेस्ट हाउसमा लगे। त्यहाँ पुग्दा राति २ बजिसकेको थियो, तर लुङ्कोका सञ्चालक शेर्पाले सुरुमा कोठा नभएको भन्दै फर्काएको प्रहरी स्रोतले बतायो। त्यसपछि रिञ्जेनले दरबारमार्गमा छुटेका एक साथीलाई फोन गरेर बोलाए, जसको लुङ्कोका सञ्चालक शेर्पासँग चिनजान थियो। उनी पुगेर सञ्चालक शेर्पालाई फोन गरी तल बोलाए।

तल आएपछि उनले गेस्ट हाउसमा कोठा खाली नभएको तर अपार्टमेन्टमा बस्न अनुमति दिएका थिए, जसमा पछि अर्का युवक पनि थपिएका थिए। त्यसक्रममा तीनजनाले पालैपालो बलात्कार गरे। तीनजनामध्ये एकजनाले अप्राकृतिक मैथुनसमेत गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। त्यतिबेलासम्म युवती नशामै थिइन्।

अनि प्रहरीलाई फोन !

नशामा रहेकी पीडित युवतीले बिहान साढे तीन बजे होस आएपछि मात्रै आफूमाथि बलात्कार भएको थाहा पाएकी थिइन्। त्यसपछि उनले १०० नम्बरको इमरजेन्सी नम्बरमा तत्कालै प्रहरीलाई फोन गरिन्। फोन गरेर उनले आफूलाई तीनजनाले बलात्कार गरेको भन्दै प्रहरीलाई लोकेसन दिएकी थिइन्।

प्रहरीकहाँ सूचना पुग्नासाथ जिल्ला प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट टोली परिचालन भएको थियो। घटनास्थल पुग्दा पीडित युवती मात्रै थिइन्। अभियुक्तहरू भागिसकेका थिए। त्यसमा उनीहरूलाई भगाउन गेस्ट हाउस सञ्चालक शेर्पाले नै भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ।

त्यसपछि गेस्ट हाउस सञ्चालक शेर्पालाई प्रहरीले पक्राउ गर्‍यो। सँगै गेस्ट हाउसको सिसी क्यामेरा पनि नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। त्यसपछि पीडित र गेस्ट हाउस सञ्चालक शेर्पाकै बयानका आधारमा १६ घन्टाभित्रै तीनैजना अभियुक्तलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

‘महिला र बालबालिका मुद्दामा प्रहरी संवेदनशील भएर काम गर्छ। सोहीअनुसार १६ घन्टामै हामीले सबै अभियुक्तलाई पक्राउ गरेका हौं’, उनले भने, ‘चारैजनालाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि समय लिने काम पनि भइसकेको छ।’

प्रहरीले पक्राउ परेका अभियुक्तलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएको छ। घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

पीडित विवाहित, श्रीमान् विदेश

पीडित भनिएकी युवती विवाहित रहेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ। पीडित युवतीले आफ्नो एउटा बच्चा रहेको बयान दिएकी छन्। श्रीमान् भने विदेशमा छन्।

प्रकाशित: १ असार २०७९ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App