५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उपमेयर सुनिता सबैकी ‘नेसनल क्रस’

काठमाडौ महानगरको कमाण्ड सम्हाल्न आजबाट ३२ वर्षका मेयर बालेन शाह र २९ वर्षकी उपमेयर सुनिता डंगोल आएका छन्। मतदाताले काठमाडौको बागडोर यी दुई युवाको काँधमा सुन्पिएका छन्।

मेयर बालेनको मतगणना सुरु हुनुभन्दा पहिले त्यति चर्चा भएन जति मतगणनापछि भयो। अझ भन्नुपर्दा उनले मतदातालाई कहिले र कसरी पट्ट्याए भन्ने कुरा धेरैले पछि मात्र थाहा पाए। मतगणनामा जब उनले अन्य प्रतिस्पर्धीलाई उछिन्न थाले तब मात्र बालेनको चर्चा चुलिँदै गयो। उनको खोजीनीति सुरु भयो।

तर बालेनको तुलनामा उपमेयर सुनिताको चर्चा त्यति चुलिन पाएन। स्वतन्त्र उम्मेदवार त्यो पनि मेयरमा उठ्ने भन्ने चर्चा हुन नपाउँदै सुनिता एकाएक नेकपा एमाले प्रवेश गरिन् र एमालेकै उपमयेरकी उम्मेदवार बनिन्।  

सन् २०११ मा मिस नेवा भइसकेकी सुनिता नेवारी भाषामा पोख्त छिन्। पछिल्लो समय काठमाडौ महानगरपालिकामै सहायक योजनाविज्ञका रुपमा कार्यरत थिइन्, उनी। सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी सुनिता नेपाल भाषामा पोख्त छिन्। उनले नेपाल भाषाको रञ्जना लिपीमा समेत काम गरेकी छिन्।  

यस्तै रेडियो र टिभी शो चलाएकी उनले कोभिड १९ को महामारीमा क्यालीजात्रा नाम दिएर नेपाल भाषाको कक्षा चलाइन्। सामाजिक सञ्जालमा नेपाल भाषाको कक्षा सञ्चालन पनि गरिन्। सुनिता लिपी क्वीनको उपनामले समेत चिनिन्छिन्। उनले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेकी छिन्। र, कार्यक्रम मोडरेट गर्नुका साथै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएकी थिइन्।

उपमेयरको उम्मेदवार बनेदेखि सामाजिक सञ्जालहरुमा छाएकी सुनिताका नाममा विभिन्न किसिमका सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। कतिपय युवाले उनको सौन्दर्य र मुस्कानको प्रशंसा गर्दै उनलाई ‘नेसनल क्रस’ को संज्ञा दिइरहेका छन्। सामाजिक सञ्जालको भाषामा आफूलाई मन परेको व्यक्तिलाई ‘नेसनल क्रस’ दिइन्छ। 

सुनिता उपमेयर भएको खुसीयालीमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा विजय जुलुस निकाल्यो। विजयी घोषणा भएपछि डंगोल राष्ट्रिय सभा पुगेकी थिइन्। त्यहाँ उनलाई एमाले नेता कार्यकर्ताले अबिर, खादा, माला लगाइदिए।

कार्यक्रममा सुनिताले आफ्नो जितलाई ‘नयाँ किरणको आशा’को संज्ञा दिइन्। उनले भनिन्, ‘राजनीति फोहोरी खेल हो भन्ने जमात बढिरहेको छ।’ सुनिताले नागरिकको विश्वासलाई शिरमा राख्दै सेवक भएर काम गर्ने प्रण गर्दै मतदातालाई धन्यवाद दिएकी छिन्।

सुरुमा त सुनिता स्वतन्त्रबाट मेयरको उम्मेदवार बन्ने चर्चा थियो। तर, अचानक उनी एमालेले टिकट दियो। उपमेयर पदमा उम्मेदवारी घोषणा गरिन् र आम मतदातामा उनको चासो चुलिन थाल्यो। एमालेले काठमाडौ महानगर जस्तो महत्वपूर्ण पालिकामा २९ वर्षीय युवा पुस्तालाई विश्वास गरेपछि सुनिता मतदाताहरुको रोजाईमा पनि पर्न थालिन्।  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका केही शीर्ष नेताले उनलाई उपमेयरको उम्मेदवार बन्न र उनका चुनावी घोषणालाई एमालेको घोषणापत्रमा राख्ने प्रस्ताव राखे।  

ती प्रस्ताव आत्मसात गर्दै सुनिताले राजनीति प्रवेशमा आफ्नो पहिलो खुड्किलो पार गरेकी हुन्। उनले नागरिकन्यूजसँग भनिन्, ‘यसअघि अन्य राजनीति दलका व्यक्तिहरुसँग पनि भेटघाट गरिरहेकी थिए। आफ्ना एजेण्डा र अन्य पार्टीका एजेण्डाहरुबारे जानकारी लिइरहेकी थिए। यसरी बुझ्दै जाँदा एमालेले उठाएका एजेण्डाले युवा पुस्ता समेट्छ जस्तो लाग्यो।' एमालेले दिएको उम्मेदवारको टिकट समग्र युवाहरुका लागि उपहार भएको उनले बताइन्।

उपमेयरमा उम्मेदवारी दिएपछि सुनिताविरुद्ध अख्तियारमा उजुरी पनि पर्याे। काठमाडौँ महानगरमा विज्ञको रूपमा काम गर्दैगर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको दाबीसहितको उजुरी परेको थियो। त्यही उजुरीका आधारमा विभिन्न संचार माध्यममा समाचारहरु पनि आए।  

सुनिताले भने यसलाई राजनीतिक प्रतिशोधका लागि यस्तो आरोप लगाइएको दाबी गरिन्। उजुरीलाई उनले राजनीतिक करिअर सुरु गर्दा यस्ता आक्षेपहरू र चुनावी प्रोपोगाण्डाको संज्ञा दिइन्। ‘उजुरी पर्‍यो भन्ने समाचारहरु देखे तर उजुरी परेको छ भनेर मलाई न अख्तियारबाट फोन आयो, न कसैले यो व्यक्तिले उजुरी दियो भनेर चिन्न नै पाए यो गलत भ्रम फैलाइयो, मैले आफ्नो शैक्षिक योग्यता र क्षमता अनुसारको काम गर्दै आएकी हुँ,’ उनले नागरिकन्यूजसँग भनिन्। सुनितालाई काठमाडौँ महानगरको सहरी योजनामा सहायक विज्ञका रुपमा नियुक्त गरिएको थियो। विगत ५ वर्षदेखि उनी यो पदमा थिइन्।

पछिल्लो समय राजनीतिकर्मीहरुले चुनावमा आम नागरिकलाई गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा नेतृत्व वर्गलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको उनी बताउँछिन्। राजनीतिलाई फोहोरी खेलको रुपमा विकास गर्न नहुने उनको भनाइ छ।  

ओलीलाई समकालीन नेताहरूमध्ये उत्कृष्ट मान्ने सुनिता अन्ततः एमालेका तर्फबाट उपमेयर उम्मेदवार बनिन्। सिंगापुरका लिक्वान, मलेसियाका महाथीर, भारतका महात्मा गान्धी, नेपालका विपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह जस्ता व्यक्तित्वको नाम लिदैं सुनिताले भनिन्, ‘नेता भनेको मुर्छित सपना जगाउने हुनुपर्छ’ उनको नजरमा मुर्छित सपना जगाउन सक्ने क्षमता भएका एकमात्र नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन्।'

स्वर्गीय बुवा सतु डंगोल र आमा संगिता डंगोलको कोखबाट जन्मिएकी २९ वर्षीया सुनिताका एउटा दाइ र एक दिदी छन्। सानै उमेरमा बुवा गुमाएकी सुनिता काठमाडौँ महानगरकी आदिवासी हुन्।  

महानगरमा लामो समय नियमित काम गरेकी उनको राजनीतिक नेतृत्वमा जाने योजना आकस्मिक बनेको भने होइन। नागरिकसँग कुरा गर्दै उनले विगत केही वर्षदेखि नै काठमाडौं महानगरपालिकाको महत्वपूर्ण पदमा उम्मेदवार बनेर देशको राजधानीलाई विकास उन्मुख बनाउने तयारी गरिरहेको बताइन्।

उनले यो देश समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवाको आवश्यकता भएको नागरिकसँग बताइन्। सूचना–प्रविधिको युगमा उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने नेतृत्वको जिम्मा भिजन भएका योग्य र जुझारु यूवालाई नै दिनुपर्दछ भन्ने उनको मान्यता छ।

उनले आफू विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियालेको बताउँदै आफ्नो भिजन पूरा गर्न अनुभवी र विज्ञहरुको टीम बनाएर काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक सहरको रुपमा विकास गर्ने बताएकी छिन्।

यसअघि काठमाडौंको मेयर बन्छु भन्दै गर्दा उनले आफ्ना केही योजनासमेत अघि सारेकी थिइन्। उनले संम्वृद्धिका आठ आधारसहितको घोषणापत्र सार्वजनिक गरिन्। विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएकी सुनिताले काठमाडौंको विकासका लागि फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास र युवा सशक्तीकरण र सांस्कृतिक सम्पदा मोडल तयार गरिसकेको यसअघि बताएकी छिन्।

बोलेर भन्दा काम गरेरै देखाउने उनको दाबी छ। सपना मात्रै देखाएर जनतामा भ्रम फैलाउने योजना नभइ गर्न सकिने काम मात्रै योजनाका रूपमा राखेको उनी बताउँछिन्। आफ्ना एजेण्डाहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गरेको उनले बताएकी छिन्।

प्रकाशित: १३ जेष्ठ २०७९ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App