३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

दुर्घटनामा घाइते चार जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले जनाएको छ। मादी नगरपालिका–६ स्थित खप्परे भीरको घुम्तीबाट बस ३ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय, चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीसहित चैनपुरको टोलीले घाइतेको उद्धार गरेको थियो।

‘दुर्घटनामा घाइते सबैलाई तत्कालै चैनपुर अस्पतालमा लगिएकोमा १४ जनाको मृत्यु भयो,’ प्रहरी निरीक्षक खतिवडाले भने, ‘गम्भीर घाइते ५ जनालाई नेपाली सेनको हेलिकोप्टरबाट उपचारका लागि धरान पठाइएको थियो। धरानमा उपचारका क्रममा थप १ जनाको मृत्यु भयो। बाँकी घाइतेको धरानमा उपचार भइरहेको छ।’

मृत्यु हुनेमा ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन र उनका छोरा ८ वर्षीया सुदीप, गाडीधनी (चालक) तेह्रथुम फक्चारमाराका ३१ वर्षीय विपिन निरौला, सहचालक मादी नगरपालिका–५ का उमेश भट्टराई, मादी–६ की ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल र ५ वर्षीया दीक्षा कटवाल छन्।

त्यसैगरी मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–२ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, मादी–४ की २८ वर्षीया सविता कार्की, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङको पनि मृत्यु भएको छ।

मादी–५ की २७ वर्षीया युका पोखरेलको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खतिवडाले बताए।  मादी–६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी–४ की २४ वर्षीया करिश्मा तामाङ, मादी–६ की २२ वर्षीया तुलसा कटुवाल र मादी–४ का २४ वर्षीय सुवास तामाङको धरानमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

‘साँघुरो बाटोको मोडमा तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ प्रहरी निरीक्षक खतिवडाले भने, ‘बस सडकभन्दा करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। घाइतेको स्वास्थ्य अवस्था ठीक भएपछि घटनाबारे थप अनुसन्धान गर्ने र कसरी दुर्घटना भएको भन्ने यकिन हुनेछ।’ दुर्घटनामा मृत्यु भएका सबैको शव परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App