१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दी प्रशासनले सबै सेवा खुलाउने

कोरोनाका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले जनाएको छ।

शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयको बन्दले सेवाग्राहीलाई मर्का पर्ने भन्दै जनस्वास्थ्य मापदण्डको अनिवार्य पालनासहित खुला गर्ने निर्णय भएको संयोजक एवं प्रजिअ चिरञ्जीवी रानाले बताए।

‘कोरोनाको जोखिम अझै टरेको छैन, ‘सेवा सुचारु गरे पनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ,’ प्रजिअ रानाले भने। जिल्लाभित्र खोपको पहुँचमै नपुगेको तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ।

त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ। जिल्लाभित्र फुटबल, भलिबल जस्ता खेलकुदजन्य गतिविधिमा दर्शकको क्षमताअनुसार उपस्थितिको अवस्था अहिले नभएकाले कडाइ गरिएको डिसिसिएसीले जनाएको छ।

हाल विद्यालय तथा शैक्षिक संस्था, तातोपानी कुण्ड, समूहमा खेलिने खेल, स्विमिङ पुल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, जिम, धार्मिकस्थल लगायत क्षेत्र बन्द छन्। खुला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीयसहित भिडभाड हुने होटल, रेस्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप कार्ड देखाउनुपर्ने जनाइएको छ।

यसैबीच बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ। कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम राज्यबाट समेत नियमित पर्यटक आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।

अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन्। मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ।

जमिन भित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्टिक तथा अन्य बाह्य रोग निको हुने भएकाले बर्सेनि नुहाउन बिरामी आउने गर्छन्। कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना अरुचि हुनेलगायत स्वास्थ्य समस्याले ग्रसित बिरामीको चाप धेरै हुने गर्छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App