६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

कर्णालीमा अन्तरजातीय विवाहपछि भएको सामूहिक हत्याको घटना सेलाउन नपाउँदै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पुनः त्यस्तै प्रकृतिको घटनालाई झल्को दिने गरी अर्काे घटना घटेको छ। हुम्लास्थित सर्केगाड गाउँपालिका–१ हजैरका १९ वर्षीय चन्द्रे कामीले अन्तरजातीय विवाहपछि बेपत्ता भएका छन्।

उनका माइती पक्ष मल्ल थरका परिवार आएर अन्तरजातीय विवाह गर्ने चन्द्रेलाई घरबाट बेपत्ता बनाएको पीडित परिवारले जनाएका छन्। पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए। 

चन्द्रेका बुवा धनजय कामी चार दिनदेखि आफ्नो छोरा सम्पर्कमा नरहेको बताउँछन्। उनले केटी पक्षकाले चन्द्रेलाई अपहरणशैलीमा आफ्नो घरबाट लिएको जनाए। ‘उनीहरुको दुई महिना अघि विवाह भएको थियो। त्यतिबेलादेखि नै घरमा बस्न दिएका थिएनन्। माइती पक्षले दबाब दिइरहेको थियो,’ उनले भने, ‘घरबाट दुव्र्यवहार गरेर लगेका थिए। अझै सम्पर्कमा छैनन्।’  

उनीहरुले प्रहरीमा अहिलेसम्म मुद्दा भने दिएका छैनन्। मुगुकी मल्ल थरकी युवती र उनीबीच मंसिर ५ गते भागी विवाह भएको थियो। मंसिर २९ गते केटीका बुवा आएर चन्द्रेलाई लछारपछार पार्दै लिएको पीडित परिवारले जनाएका छन्। प्रहरीका अनुसार अन्तर्जातीय विवाह गरेका चन्द्रेको अवस्था अहिलेसम्म अज्ञात छ।  

‘चन्द्रे अहिलेसम्म परिवार वा अरु कसैको सम्पर्कमा छैनन्,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘घटना रहस्यमय छ।’ केटी भने बाबुको सम्पर्कमा रहेको उनको भनाइ छ। उनका अनुसार भागी विवाह गरेकी मल्ल थरकी ति युवतीलाई बुवालाई मलाई लिन आउ, म यहाँ बस्न सक्दैन भन्दै फोन गरेकी थिइन्। ‘केटीले यहाँ (केटाको घरमा) बस्दैन भन्दै फोन गरेको भन्ने पनि छ,’ ति प्रहरी अधिकारीले भने, ‘पहिला हामी केटाको उद्धारमा लागेका छौं।’

५ दिनदेखि वेपत्ता भएका चन्द्रेको खोजी र थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली हुम्ला पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले बताए। भागी विवाह गरेपछि केटाकेटी घरबाट आफन्तको घरमा लुकीछिपी बसेका थिए। असुरक्षित महसुस गरेर घर छाडेका उनीहरु केही दिनमात्र घरमा आएका थिए। कर्णालीका मुख्यमन्त्री शाहीकै गृह जिल्लामा जातीय कारण यसरी घटना हुनु दुःखद् भएको अधिकारकर्मीहरु बताउँछन्।

प्रकाशित: ५ पुस २०७८ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App