१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भुपेन्द्रको हत्या प्रकरणः हत्या गर्ने गिरोहको संजाल काठमाडाैं लगायत धैरै जिल्लामा

पटक पटक अपराध गर्दा पनि पक्राउ परेका थिएनन् भुपेन्द्रको हत्यामा संलग्नहरु

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या संगठित अपराधमा सक्रिय समूहद्वारा गरिएको खुलेको छ।

गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटरसम्म लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो। कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरि रहेको यो समूहको बारेमा उनको हत्या अघिसम्म प्रहरी अनभिज्ञ रहेको थियो। यो समूहको सन्जाल काठमाडौलगायत धेरै जिल्लामा रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

कैलालीका प्रहरी उपरीक्षक बिश्व अधिकारीले आपराधिक लाभ लिन संगठित रुपमा तीन वर्षदेखि सक्रिय समूहले भुपेन्द्रको हत्या गरेको बताएका छन्। यसअघि पनि ज्यान मार्ने उद्देश्यले काठमाडौ र कैलालीमा यो समूहका व्यक्तिले आधा दर्जन बढीलाई खुकुरी प्रहार गरेको खुलेको छ।

‘यो समूहका सदस्यहरुविरुद्ध कैलाली जिल्ला मातहत र काठमाडौमा समेत गरि ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना मुद्दा दर्ता भएको देखिएको छ’, उनले भने। तर कारबाही नहुँदा निर्धक्कसँग हातहतियार बोकेर यो समूहले आपराधिक गतिबिधि गर्ने गरेको थियो।

लम्की, चिसापानी, टिकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा बर्चस्व कायम गर्न यो युवाहरुको समूह बनाई आपराधिक लाभको लागि परिचालन गरिएको अनुसन्धानबाट खुलेको उनले बताए। यो समूहका सदस्यले चन्दा, फिरौती, कमिशन उठाउने गर्ने गरेको स्थानीय बताउँछन्। पेस्तोल, बन्दुक, खुकुरीलगायतका हातहतियार यो समूहका व्यक्तिसंग रहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

संगठित रुपमा सक्रिय यो आपराधिक समूहको नाइकेले कलिलो उमेरका युवाहरुलाई प्रयोग गरेर आफ्नो विरोधी अथवा असहयोगीलाई आक्रमण गर्न लगाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्। यो आपराधिक समूहमा कति जना छन् भन्ने खुल्न भने सकेको छैन। सुरुमा एउटै समूहमा रहेका टिकापुरका जयन्द्र शाह र चिसापानीका नविन रावलबीच मनमुटाव र बैमनश्यता उत्पन्न भएपछि दुई समूहका युवाहरु भिड्न थाले।

नव्वु सरकारका नाममा युवाहरुको समूह बनाएर आपराधिक गतिबिधि गरिरहेको नविन रावलको समूहलाई लोकजंग शाही र अशोक रावलले संरक्षण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। यो समूह परिचालन गर्नेकाे काठमाडौको डन र भारतका डन तथा आपराधिक समूह सँग समेत कनेक्सन रहेको प्रहरीको आंकलन छ। भारतको आपराधिक समूहसँग समेत सम्बन्ध भएकाले सजिलै हातहतियार भारतबाट ल्याउने गरेको प्रहरीले बताएको छ। यसैगिर, सिद्धार्थ होटलको शौचालयमा लुकाएर राखेको २ पेस्तोल प्रहरीले बरामद गरेको थियो।

घटना यस्तो थियो

शाहका समूहमा रहेका लम्कीका कपिल श्रेष्ठले रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाए। काठमाडौमा रहेका उनी कात्तिक १८ गते मोटरसाईकलमा हिँडि कात्तिक २० गते लम्की पुगेर मुनमुन होटलमा बसे। कात्तिक २१ र २२ गते बौनियाको अनुकुल होटलमा बसी रावलमाथि आक्रमण गर्ने उपयुक्त अवसर खोजे। कात्तिक २३ गते लम्कीमा फुटबल खेल आयोजना भएको थियो। खेल हेर्न रावलको समूह आएको थाह पाएपछि श्रेष्ठले आफ्नो समूहलाई बोलाएर रावलमाथि आक्रमण गर्ने योजना बनायो।

मैदानमै आक्रमण गर्न खोजेपनि उनको समूह समयमै लम्की पुग्न सकेन। त्यसपछि उनको समूहले रावलमाथि आक्रमण गर्न डुडेझारीको जंगलमा लुकेर बसे। रावल त्यो बाटो नभएर लम्की विद्युत कार्यालयको नजिकबाट टिकापुर गएकाले उनीमाथि आक्रमण गर्ने प्रयास सफल भएन। रावल समूहका मदन शाहीलाई डुडेझारीमा लुकेर बसेको श्रेष्ठको समूहले लखेटे। सुरुमा गएका प्रहरीलाई समेत उक्त समूहले खुकुरी प्रहार गर्न खोजेको र प्रहरी भ्यान आएपछि उनीहरु भागेको श्रोतले बताएको छ।

प्रहरीको टोली पुगेपछि उक्त समूहका सदस्य तितरबितर भएको र दुई जना पक्राउ परेको प्रहरी उपरीक्षक अधिकारीले बताए। उनीहरूबाट खुकुरी, खुडा, चक्कुलगायतका एक बोरा हतियार बरामद गरेको उनले बताए। त्यहाँबाट भाग्ने क्रममा एक्लिएपछि नयाँ टिकापुर क्षेत्रमा लुकेर बसेका श्रेष्ठले मिल्ने साथी भुपेन्द्रलाई फोन गरि बोलाए। त्यो भन्दा पहिले नै लखेटिएका शाहीले टिकापुरमा रावललाई भेटी शाहको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको भनिसकेका थिए। रावलले रोड हाउस क्याफेमा आफ्नो समूहका युवालाई जम्मा गराए। शाह समूहको जुनसुकै व्यक्ति फेला परेपनि आक्रमण गर्ने योजना बनाएर खोजीमा निस्के। त्यहि बेला एक्लिएका श्रेष्ठले गाह्रो पर्यो भनेर बोलाएपछि लिन आएका भुपेन्द्रलाई टिकापुरको जमरापुल नजिक आर्यन देवकोटासहितले देखेपछि हाम्राविरुद्ध आएको भनेर लखेट्दै लगेको प्रहरीले बताएको छ।

त्यहाँबाट दुई किलोमिटर मोटरसाईकलमा भाग्दै टिकापुर सिद्धार्थ होटल नजिक कौशि बिष्टको घरको आँगनमा भुपेन्द्र गए। उनको घरको पेटीमा नै भुपेन्द्रलाई नियन्त्रणमा लिएर पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडीको भागमा एक पटक धारिलो हतियार प्रयोग गरि उनको हत्या गरिएको प्रहरीले बताएको छ। उनलाई चक्कु र खुकुरीले प्रहार गरिएको अनुसन्धानबाट खुलेको छ। हत्यामा प्रयोग गरिएको खुकुरी प्रहरीले बरामद गरेपनि चक्कु फेला परेको छैन।

हत्यापछि आर्यनले जिम्मा लिने र अरु फरार हुने योजना यसरी बन्यो

रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरन्जिवी शाही र आर्यन देवकोटा पश हाट बजारको बाटो हुँदै जोशीपुर पुगी एक जनाले हत्या स्विकार्ने र अरु फरार हुने योजना बनाए। कात्तिक २४ गते हत्या स्वीकार गर्ने जिम्मा लिएका आर्यन बौनिया बजारमै रहे। लोकजंश शाहीले बनाएको योजना अनुसार अरु उत्तरतर्फको चायाभावर गाउँमा लोकेन्द्र कुँवरको घरमा गई लुकेर बसे। शाहीको योजना अनुसार २५ गते त्यहाँबाट कार भाडामा लिएर धनगढीको नाका जुगेडासम्म पुगाए। २६ गते भारतीय नम्वरको जिप भाडामा लिएर भारतको ढकिया गाउँसम्म पुगाएको प्रहरी उपरीक्षक अधिकारीले बताए। नम्वर प्लेट बदलेका २ मोटरसाईकल बरामद गरेको छ।

हत्यामा संलग्न १२ जना पक्राउ ९ अझै फरार 

उनको हत्यामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। मुख्य नाइके रावलसहित ९ जना अझै फरार रहेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा महेश रावल, दिपेन्द्र शाही, आर्यन, मदन, श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविण रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविन जंग शाही रहेका छन्।

यसैगरि नविन, चिरन्जिवी जंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही र अशोक रावल फरार रहेको प्रहरीले बताएको छ। क्रुर ढंगले हत्या गर्ने रावल समूहका १५ जनालाई मुलुकी अपराध संहिता बमोजिम जिवित रहेसम्म कैद सजाय, शाहको समूहका ४ जनासहित ६ जनालाई जन्म कैदको सजाय माग दावी गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्।

प्रकाशित: २० मंसिर २०७८ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App