७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सुरु भयो छठ अनुष्ठान

धनुषाको महेन्द्रनगर बजारमा विक्रीको लागि राखिएको केरा। छठ पर्वमा छठी मातालाई केराको सिङ्गै घरी प्रसादको रुपमा चढाउने चलन छ। तस्बिरः रासस

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।

सोमबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत हुन्छ। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि तराई–मधेसलगायत मुलुकभरका नदी किनार, खोला छेउ, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।

ब्रतालुले सोमबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गर्छन्। पहिलो दिनको ‘नहाय खाय’ विधिपछि उनीहरू दोस्रो दिन साँझसम्म उपवास बस्छन्।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिनसम्म यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।

ब्रतालुले नै पूजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दिपावलीजस्तै वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति,धर्म, वर्ग र लिंगकाले पूजा गर्न सक्ने हुनाले योसामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।

पर्वको दोस्रो दिन साँझ ब्रतालु चोख्याइएको एक कोठाभित्र खिर, केरालगायतका परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छरछिमेकलाई बाँडछन्।

घरभित्रै दुईदिने विधिपछि बुधबार साँझ (सँझिया घाट) र बिहीबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अर्घ दिन्छन्।

छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रुपमा समेत सम्झिदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन्। बिहानको अन्तिम अर्घपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ। 

लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरियता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेबारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरुप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।

समानताको पर्व

सिरहा नगरपालिका–२ गोढियारीकी पूजा मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छिन्। यही पोखरीमा यस टोलका अन्य जातका व्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग। मलिक भन्छिन्,‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’

छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन्। मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्,‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’

सिरहा मिर्चैया नगरपालिका–६ मिटअर्वा गाउँकी सुमित्रा मलिक भन्छिन्, ‘छठले छुवाछूतको पीडा मात्र भुलाउँदैन, आर्थिक पीडा पनि भुलाउन मद्दत गर्छ। बाँसको समग्रीको माग बढ्ने भनेकै छठ पर्वमा हो।’ यस पर्वलाई पहाडी मूलका महिलाले पनि मधेसी महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।

छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ। पहाडी समुदायका महिला पनि उत्साहपूर्वक छठ व्रत तथा पूजामा सहभागी हुँदै आएका छन्। गोलबजार–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५६ वर्ष भयो।

छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७१ वर्ष पार गरिसकेकी उनलाई पछिल्लो चार वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन्। सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ।

परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन्। मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको उनको अनुभूति छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन्। 

३६ घण्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो,यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ,’ आमाको बिँडो थामेर ८ वर्षदेखि छठ व्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी–पहाडी, दलित–गैरदलित भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन्।’ विभिन्न धार्मिक मान्यता एवं आस्था अनुरुप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App