६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरीमा वर्षाले धानबालीमा क्षति

फाइल तस्बिर

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको  छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए। जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो। वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा झन्डै २० प्रतिशत क्षति पुग्ने जनाइएको छ। पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन्। ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन्।

हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरूको दुखेसो छ। हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धाननष्ट हुँदा समस्या परेको  बताए। उनले भने, ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ।’

प्रकाशित: ३ कार्तिक २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App