६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

२०६७ असोज ६ गते काठमाडौंबाट पोखराका लागि हिँडेको निजी गाडी पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा दुर्घटनामा पर्‍यो। दुर्घटनामा चारजनाले ज्यान गुमाए भने दुईजना घाइते भए। कांग्रेस महाधिवेशनमा सहभागी भएर फर्कंदै गरेको टोली सवार गाडी मध्याह्नमा त्रिशूली नदीमा खसेको थियो।  

त्यस्तै, झन्डै दशकअघि पोखराबाट काठमाडौं जाँदै गरेको गाडी पनि पृथ्वी राजमार्गमै दुर्घटनामा पर्‍यो। कुरिनटार क्षेत्रमा भएको दुर्घटनामा पोखराका एक व्यवसायीको परिवारका पाँचजनाको मृत्यु भयो।  

पछिल्लोपटक बिहीबार राति काठमाडौंबाट पोखरा आउँदै गरेको कार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्। एकजना घाइते अवस्थामा भेटिए। घाइतेको उपचार भइरहेको छ। 

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्। लेखबहादुर र ईश्वरी दम्पती हुन्। प्रेमबहादुर पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन्। दुर्घटनामा घाइते भएका रुद्र सुवेदीको घटनास्थलबाट उद्धार गरिएको थियो। उनलाई थप उपचारका लागि चितवनबाट पोखरा ल्याँइदैछ।  

त्रिशूलीमा बेपत्ता भएका प्रेमबहादुरका आफन्त डिबी भुजेलका अनुसार उनीहरू व्यावसायिक कामका लागि काठमाडौं गएका थिए। बिहीबार दिनभर काम सकेर पोखरा फर्किने क्रममा राति दुर्घटनामा परेका हुन्। उनीहरूको पोखरामा कपडा पसल छ। दसैं नजिकिएकाले आवश्यक कपडा किन्न काठमाडौं गएर फर्कंदै गर्दा उनीहरू दुर्घटनामा परेको डिबीले बताए।

‘रातिमा गाडी चलाएको अनुभव थिएन। मध्यरातमा सायद चालक निदाउँदा दुर्घटना भएको हुनसक्छ,’ डिबीले भने, ‘नत्र दुर्घटना हुनुको अरु कारण छैन।’ डिबीका अनुसार काठमाडौंमा उनीहरूले दिनभर किनमेल गरेका थिए। ‘आराम गर्नुपर्ने बेला फर्कंदा दुर्घटना भयो,’ उनले भने। गाडी प्रेमबहादुरले चलाएका थिए।

पृथ्वी राजमार्गमा भएका निजी गाडी दुर्घटनाका यी केही उदाहरण हुन्। राजमार्गमा दैनिकजसो सानाठूला दुर्घटना भइरहन्छन्। तुलनात्मक रुपमा सुरक्षित मानिएका निजी गाडी राजमार्गमा किन दुर्घटनामा पर्छन् ? निजी गाडी चालकमा राजमार्गमा गाडी चलाएको अनुभव कम हुनु, तनावमा गाडी हाँक्नु, तीव्र गति, निद्रा, सडकको अवस्था थाहा नहुनु, थकानजस्ता कारणले दुर्घटना हुने गरेको छ। 

एक निजी गाडीचालक भन्छन्, ‘रातको समयमा गाडी चलाउँदा झनै धेरै जोखिम छ। सहरभित्र मात्र गाडी चलाइरहेका चालकले रातको समयमा राजमार्गमा गाडी गुडाउँदा थप जोखिमपूर्ण हुनसक्छ। थकित अवस्थामा गाडी हाँक्दा पनि दुर्घटनाको जोखिम हुन्छ।’

यस्तै अनुभव छ पोखराका पर्यटन व्यवसायी शैलेन्द्र रावतसँग। २०७५ साउन ११ गते एसियाली खेलकुदको तयारी गरेर पोखरा फर्कंदै गर्दा रावतसहितका तीनजना सवार गाडी त्रिशूलीमा खसेको थियो। त्यो दुर्घटनामा एकजनाको ज्यान गयो। रावत र अर्का पर्यटन व्यवसायी सानोबाबु सुनुवार भने गाडीको सिसा फुटाएर बाहिर निस्कन सफल भएका थिए। रावतको अनुभवमा राजमार्गमा गाडी चलाउँदा निदाउने सम्भावना बढी हुन्छ। रातिको समयमा १२ देखि २ बजेसम्म बढी जोखिम हुन सक्ने उनको अनुभव छ।  

‘हामीसँग दिउँसोमा मात्र गाडी चलाएको अनुभव छ। हामी निरन्तर रातिमा गाडी चलाउँदैनौं। आक्कलझुक्कल चलाउने हो, सधैं रातिमा सुत्ने भएकाले कहिलेकाहीं गाडी चलाउँदा निद्राले च्याप्न सक्छ,’ उनले भने, ‘पृथ्वी राजमार्गमा रातिमा गाडी चलाउँदा पटकपटक म झस्केको छु। दिनभर काम गर्दा थकित हुन्छौं, रातिमा गाडी चलाउँदा स्वाभाविक रुपमा निद्राले च्याप्छ। म पनि आत्तिन्छु। त्यसैले सकेसम्म रातिमा लामो दूरीमा गाडी हाँक्दिनँ।’ निजी भन्दै कतिपयले राति अबेर यात्रा थाल्छन्। रातिमा गाडी चलाएको अनुभव कतिपयसँग हुँदैन। दिनमा पनि आराम नपुगेको अवस्थामा गाडी चलाउँदा जोखिम हुने उनको बुझाइ छ।  

रावतको भनाइमा सहमत छन् मधु बास्तोला पनि। बास्तोला २०६७ असोज ६ गतेको दुर्घटनाका साक्षी हुन्। बास्तोलाका अनुसार काठमाडौंबाट फर्कंदै गर्दा उनीसमेतको टोली सवार गाडी दिउँसोमा दुर्घटनामा परेको थियो। 

उनीहरू अघिल्लो राति सुत्नै पाएका थिएनन्। ‘अघिल्लो राति अनिदो थियौं, महाधिवेशनमा गएकाले चुनावको नतिजा कुरेर बस्दा सुत्न पाएनैँ। अनि दिउँसो गाडीमा फर्कंदा चालक नै निदाएका कारण दुर्घटना भएको अनुमान छ,’ उनले भने, ‘रातभर अनिदो बसेका हामी बिहान खाना खाएपछि यात्रा गर्दै थियौं। सायद चालक निदाएर दुर्घटना भएको हुन सक्छ। चालक पनि राति सुत्न पाएका थिएनन्।’ थकान र अनिदोका कारण दुर्घटना भएको उनको अनुमान छ। उनी सम्झन्छन्, ‘बाटोमा खाना खाएपछि निदाए जस्तो लाग्छ।’

अनिदो हुनु, राजमार्गमा गाडी चलाएको अनुभव कम हुनु, तनावमा यात्रा गर्नु, सडक खाली देखेर गति बढाउनु, थकित अवस्थामा गाडी हाँक्दा दुर्घटनाको उच्च जोखिम हुने प्रहरीको भनाइ छ।  

मुग्लिन प्रहरी चौकीका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगर भन्छन्, ‘रातिमा अधिकांश दुर्घटना चालक निदाउँदा र तीव्र गतिले हुन्छन्। कतिपय दुर्घटना खानपिनमा पनि भर पर्छ।’ उनका अनुसार रातमा सकेसम्म निजी गाडी नचलाएकै राम्रो हो। 

किनभने रातभर गाडी चलाउने अनुभव निजी गाडी चालकमा हुँदैन। ‘सानो सहरभित्र मात्र गाडी हाँकिरहेका चालकले रातको समयमा राजमार्गमा गाडी हाँक्दा कहाँ के छ भनेर पनि हेक्का पाउँदैनन्,’ उनले भने, ‘त्यही भएर दुर्घटना हुनसक्छ।’ त्यसबाहेक निजी गाडी हो, राति जतिखेर हिँडे पनि हुन्छ भनेर यात्रा गर्दा पनि दुर्घटनामा पर्न सकिन्छ। ‘रातको समयमा बढी दुर्घटना हुने गरेका छन्। निद्रा र गति मुख्य कारण हो। गति बढाउँदा चालकले घुम्तीको भेउसमेत पाउँदैनन,’ उनले भने, ‘बिहीबारको घटना पनि त्यस्तै हो। दिनभर काम गरेर रातमा नहिँडेको भए सम्भवतः दुर्घटना टर्न सक्थ्यो।’

 

प्रकाशित: ९ आश्विन २०७८ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App