६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कोराेनाको संक्रमण भयावह बन्दैः सुदूरपश्चिममा एकै दिन १४ को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले अवस्था भयावह बन्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो एक सातायता संक्रमणले मृत्युदर बढ्दै गएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोराेनाको संक्रमणले सोमबार एकैदिन १४ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा कोराेना संक्रमणले अहिले सम्ममा एकैदिनमा मृत्यु भएको यो सर्वाधिक संख्या हो । यसअघि आईतवार एकैदिन १२ जनाको ज्यान गएको थियो । सोमवार कंचनपुरमा ६, कैलालीमा ५, बझाङमा २ र दार्चुलामा १ गरि १४ जना संक्रमितको ज्यान गएको हो ।

कोरोनाको दोश्रो लहरको संक्रमणले बैशाखको दोश्रो सातादेखि मृत्यु हुने क्रम बढेको हो । गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको सुदूरपश्चिममा संक्रमण देखिएको दुई महिनापछि २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको थियो । दोश्रो लहर शुरु हुन अघिसम्म कोरोनाको संक्रमणले सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५७ जना मात्र रहेको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक छ । यो सुदूरपश्चिमका अस्पातलमा मात्र मृत्यु भएको संक्रमितको संख्या हो । 

कोरोनाको दोश्रो लहर शुरु भएपछि बैशाख १ गतेदेखि सोमवारसम्म (बैशाख २० गते) ६९ जनाको कोराेनाको संक्रमणले मृत्यु भएको निर्देशनालयका हेमराज जोशीले बताएका छन् । बैशाख ४ गते १ जनाको मृत्यु भएकोमा बैशाख ९ गते दोश्रो जनाको मृत्यु भएको थियो । बिहीवार यता ५ दिनमा मात्र ५२ जनाको संक्रमणले ज्यान गएको छ । सुदूरपश्चिममा अहिले सम्म २२ सय ४३ सक्रिय संक्रमित रहेका छन् । सुदूरपश्चिममा अहिले सम्म १ सय २६ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित: २० वैशाख २०७८ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App