१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उपमेयरको पहलमा अस्पताल लगिएकी चिनामायाँ डिस्चार्ज

उपचारपछिको चिनामायाँ अधिकारी । तस्बिर : नागरिक

रुखबाट लडेको वर्ष दिनपछि अस्पतालमा पुर्याइएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारी डिस्चार्ज भएकी छन् । २०७६ साल असार २१ गते रुखबाट लडे पनि उपचार अभावमा ओछ्यानमा थलिएको अवस्थामा टिचिङ अस्पताल लगिएकी चिनामायाँ आईतबार डिस्चार्ज भएकी हुन् । थलिएकी चिनामायाँलाई हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको पहलमा गत साउन १३ गते टिचिङ अस्पताल भर्ना गरिएको थियो ।  

रुखबाट लडेपछि ओछ्यानमा मुढो लडाएझैं सुतेकोसुतै हुने, उठेर हिँडडुल गर्न नसक्ने, तल्लो पेट बेसरी दुख्ने र खाना खाए लगत्तै वान्ता हुने समस्याबाट पिडित भएकी चिनामायाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि अस्पतालले डिस्चार्ज दिएको उनका फुपाजु सुर्ज अधिकारीले बताए । आफन्तका अनुसार उपचारपछि उनलाई खाना खाँदा वान्ता नहुने, दाउराजस्तो सुकेको शरीरमा मासु लागेको, तौलमा वृद्धि भएको र बोलीमा सुधार आएको छ ।

नियमित औषधि सेवन गरेको केही समयपछि चिनामायाँ हिँडडुल गर्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । चौबिसै घण्टा ओछ्यानमा सुतेर दिन कटाउन वाध्य चिनामायाँलाई अस्पतालले तीनदेखि ६ महिनाका लागि औषधि दिएको छ । उनलाई हिँड्ने अभ्यासका लागि थेरापी गराउन सुझाव दिइएको छ ।  

आर्थिक अवस्था कमजोर भएकै कारण वर्ष दिनसम्म अस्पतालमा जान नसकेकी चिनामायाँको उपचारका लागि मलेसियाबाट १४ जना शुभेच्छुकले २८ हजार ६७९ रुपैयाँ पठाएर सहयोग गरेका छन् । यस्तै, च्यास्मीटारका दिर्घ राईले २० हजार, ओफ्लाङका राजकुमार राईले ८ हजार र बाहुनीडाँडाका सुवास राईले ३ हजार ५ सय सहयोग गरेको अधिकारीले बताए । 

प्रकाशित: १ भाद्र २०७७ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App