१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

समुदायस्तरमा कोरोना जाँच

बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो। आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा दुई सय जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, ग्यारेज, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने व्यक्तिको कोरोना जाँच हुने कार्यालय प्रमुख सुरज गुरौले बताए। ‘यो परीक्षणले समुदायमा कोरोना सङ्क्रमणको स्थितिबारे थाहा हुन्छ’ उनले भने।  जिल्लामा अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिएको छैन। अधिकांश विदेशबाट आएकामा सङ्क्रमण देखिएको छ। मालढुङ्गा नाकाबाट जिल्ला भित्रने सवारीका चालक, मजदूर र ट्राफिक प्रहरीको पनि स्वाब लिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।  

उनका अनुसार आज एक सय भन्दाबढी स्वाबको नमूना सङ्कलन गरिएको छ। जाँचका लागि भोलिमात्र स्वाब पोखरा पठाइने भएको छ। दुई/तीनभित्रमै जाँचको रिपोर्ट आउने जनाइएको छ। कोरोना जाँचका लागि अहिले पनि पोखरामा निर्भर हुनुपर्ने अवस्था छ।  

धवलागिरी  अस्पतालमा पिसिआर मेसिन राखेर कोरोना जाँच सेवा शुरु गर्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय, धवलागिरि अस्पताल, नगरपालिकाको स्वास्थ्य शाखा मिलेर संयुक्त रुपमा स्वाब सङ्कलनको काम भइरहेको छ। बागलुङमा पहिलोपटक गत चैत १५ गते कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो। त्यसयता २६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये २३५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार १२५ जना क्वारेन्टिनमा छन्।

शनिबार मात्रै १३ नयाँ सङ्क्रमित थपिएका छन्। धवलागिरि अस्पतालको भवन निर्माणका लागि महोत्तरीबाट आएका मजदूरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। एक साताअघि आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टिनमा थिए। सङ्क्रमित २२ देखि ३५ वर्ष उमेर समूहका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। भवन निर्माणका लागि आएका १७ जनामध्ये एक जनामा कोरोना देखिएपछि सबैको जाँच गर्दा थप १३ जनाका सङ्क्रमण देखिएको हो। सङ्क्रमित मजदूरलाई आइसोलेशन कक्षमा राखिएको छ।

प्रकाशित: २४ श्रावण २०७७ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App