७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वन फँडानी र चोरी सिकारी बढ्याे

बन्दाबन्दी (लकडाउन) को अवधिमा काठ चोरी–कटानी र तस्करी तथा वन्यजन्तु चोरी सिकारीका क्रियाकलाप धेरै भएको पाइएको छ । 

केही आफ्नो घरायसी तथा कृषिजन्य आवश्यकता परिपूर्तिका लागि वन जंगल प्रवेश गरेको र कतिपय खराब नियतले लकडाउनको मौका छोपी काठ चोरी–कटानी र तस्करी तथा वन्यजन्तु चोरी सिकारी गर्न सक्रिय भएको पाइएको छ ।

जिल्लामा बन्दाबन्दी अवधिभर करिब एक हजार क्युफिटभन्दा बढी चोरीका काठ बराद भएको छ । करिब ५० क्युफिट काठ चोरीमा संलग्न पाँच जना र २५ क्युफिट काठको बिगोसहित वनमा आरा चलाइरहेको अवस्थामा वनबाटै दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।  

उनका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ । बाँकी बेवारिसे फेला परेका काठको हकमा भने अनुसन्धान अधिकृत तोकी मुद्दा अनुसन्धान तहकितात भइरहेको उनले बताए । यस अवधिमा करिब २८ देखि ३० लाख मूल्यसम्मको काठ बरामद गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । प्रहरी, सामुदायिक वन र उपभोक्ता समितिको पहलमा अवैध काठ नियन्त्रण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो अवधिमा वन्यजन्तु चोरी निकासी पनि बढेको छ । दोस्रो लुम्बिनी मानिने काँक्रेविहार संरक्षित क्षेत्रका जरायोमा विशेष असर परेको छ । ‘सम्भवत्ः वन क्षेत्रको आकार र त्यहाँ भएका वन्यजन्तुको संख्या समानुपातिक नभएर होला, यो बीचमा जरायो वन क्षेत्रबाट बाहिर निस्केन र बस्ती पस्ने क्रममा घाइते अवस्थामा भेटिएका छन्,’ डिभिजन प्रमुख दाहालले भने, ‘कतिपयलाई गोली लागेको छ भने केही मृत फेला परेका छन् ।’  

काँक्रेविहार संरक्षित क्षेत्रमा मृत भेटिएको जनावर । तस्बिर : नागरिक

बन्दाबन्दीको अवधिमा मृग एक र जरायो तीन मृत अवस्थामा फेला परेका छन् । एक रतुवा र एक मृगलाई सुरक्षित बासस्थान छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते अवस्थामा फेला परेका दुईवटा जरायो उपचारका त्रममा मरेका छन्,’ डिभिजन प्रमुख दाहालले भने, ‘बस्तीमा फेला परेको एक जरायोलाई पुनः संरक्षित क्षेत्रभित्रै छाडिएको छ ।’ मृगको एउटा बच्चालाई उद्धार गरी डिभिजन वन कार्यालयमै राखिएको उनको भनाइ छ ।

त्यस्तै, वन अतिक्रमणको चपेटामा समेत परेको छ । यो अवधिमा वन क्षेत्र अतिक्रमण गरी तीनवटा टहरा निर्माण गरिएको थियो । ‘उक्त टहरा वन गस्तीले हटायो,’ उनले भने, ‘अतिक्रमण गर्नेलाई सामान्य कारबाहीसहित सम्झाइबुझाइ पारिएको छ ।’  

उनका अनुसार करिब ३० रोपनी वन क्षेत्रको जग्गा खेतीका लागि खनजोत भएको छ । अहिले उक्त जग्गामा लगाइएको बाली हटाई पुनः वन क्षेत्र कायम गरिएको छ । प्रदेश राजधानीनजिकै पर्ने काँक्रेविहारमा समेत वन्यजन्तुको चोरी सिकारी हुन असामान्य भएको स्थानीयको भनाइ छ ।

वनमा चोरीसिकारीका गुनासा आएपछि कार्यदल निर्माण गरिएको छ । उक्त कार्यदललाई आफ्नो क्षेत्रमा दैनिक मोटरसाइकल वा पैदल गस्ती परिचालन गरिने डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तु उद्धारका लागि वन तथा वातावरण निर्देशनालयबाट एक सेट उद्दार साम्रगी सहयोग भएको र गस्ती टोलीलाई उपलब्ध गराइएको बताइएको छ ।

प्रकाशित: ८ असार २०७७ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App