४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राहत प्याकेज ल्याउन माग गर्दै व्यवसायी प्रदर्शनमा

सरकारले बन्दाबन्दीबाट प्रभावित  उद्योग, व्यवसाय सञ्चालनका लागि राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अगुवाइमा नेपालगन्जमा आज (शुक्रबार) प्रदर्शन गरिएको छ ।

उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोतम शर्माले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।  

ज्ञापनपत्रमा बन्दाबन्दीबाट प्रभावित उद्योगी, व्यवसायीका लागि आर्थिक प्याकेज तत्काल घोषणा गर्नुपर्ने, घर भाडाका लागि घरधनीहरुसँग छलफल गरी तत्काल सहजीकरण गर्नुपर्ने र बन्दाबन्दी अवधिभरको बैंक ब्याज मिनाहा गर्न राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई तत्काल निर्देशन गर्नुपर्ने माग राखिएको छ ।  

यस्तै, राज्यलाई बुझाउने सम्पूर्ण राजस्व(कर) लकडाउन खुलेको तीन महिनापछिको समय निर्धारण गर्नुपर्ने, उद्योग व्यवसायमा कार्यरत श्रमिकको तलब भुक्तानका लागि सरकार, व्यवसायी र श्रमिकको समान साझेदारीमा भुक्तान हुने व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ ।

नेपालगन्जमा शुक्रबार प्रदर्शनमा उत्रिएका उद्योगी, व्यवसायी । तस्बिर : नागरिक  

‘कोरोना भाइरस नियन्त्रणका लागि भनेर सरकारले लकडाउन लम्ब्याउने काम मात्रै गर्‍यो । महामारी नियन्त्रणका लागि पिसिआर परिक्षणको दायरालाई बढाउनै सकेन  । सरकारको कार्यले दैनिक व्यापार, व्यवसाय र काम गरी खाने जनता अब भोकै मर्ने स्थिति आउने निश्चित छ,’ व्यापारी धु्रव दाहालले भने ।  

बैंकले मासिक ब्याज र घर मालिकले कोठा भाडा मागेर हैरान पारिरहेको ब्यापारी बताउँछन् ।

वीरेन्द्र चोकबाट सुरु भएको प्रदर्शन सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका उद्योगी, व्यवसायीले चर्का नारा लगाएका थिए ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App