१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकको पखाईमा धिप्लुङ झरना

खोटाङको पर्यटकीयस्थल धिप्लुङ झरना । तस्बिर : दमन/नागरिक

खोटाङ– पछिल्लो समय खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरना पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने १६७ मिटर अग्लो झरना आन्तरिक पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको हो।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले छितापोखरी गोगने हुँदै झरनासम्म पुग्ने सडक, सडकबाट झरनासम्म रेलिङसहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैंचा, माथिल्लो भागको झरना हेर्न जाने रेलिङसहितको पक्की बाटो बनाएपछि घुमफिरमा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो।

धिप्लुङ झरनालाई पर्यटकीय हव बनाउनका लागि गाउँपालिकाले गौरवको योजनामा राखेर आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख र २०७५/०७६ मा २० लाख बजेट विनियोजन गरी भौतिक संरचना निर्माण गरी सौन्दर्यकरण सुरु गरेको हो। झरनाको सौन्दर्यकरणका लागि डिपिआरसमेत तयार पारिसकेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। हालसम्म ओझेलमै रहेको झरना आसपासमा भौतिक संरचना बनाइएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन्। विशेषगरी शनिबार र विदाका दिनमा झरनामा घुमफिर गर्ने स्थानीयको बाक्लो भीड लाग्ने गरेको छ। अग्लो झरनाबाट छङछङ गर्दै झर्ने पानी, झरनाबाट टाढा–टाढासम्म दृश्यावलोकनका लागि धिप्लुङ झरना चर्चित छ। अग्लो झरनाको टाढाबाट हेर्दा झनै आकर्षक देखिने गरेको छ।

झरनाको पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष प्रदेश सरकारले ४० लाख र संघिय सरकारले २० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट झरनाको प्रचार–प्रसार गर्दै नयाँ–नयाँ संरचना थप गरिने प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताए। झरना आसपासमा स्वागतद्धार, झरना अवलोकनका लागि पुल, पिकनीक स्थल, सार्वजनिक शौैचालय, साहशीक खेल क्यानोनिङ (छाँगा दृश्यावलोकन) र तल्लो भागको झरनामा जाने सिढी निर्माण लगायतका उद्देश्य डिपिआरमा समेटिएको छ।

डिपिआरमा विभिन्न पौराणिक किंवदन्ती अनुसार झाँक्री बस्ने ओढार र मन्दिरको व्यवस्थापन गरिने उल्लेख छ। ‘झरनालाई सौन्दर्यकरण गरेर जिल्लाको मात्रै हैन प्रदेशकै नमुना झरना बनाउन तल्लिन छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हामी निर्वाचित भएदेखि नै झरनाको सौन्दर्यकरण गर्ने काम भइरहेको छ। झरना पर्यटकीय हव बनेपछि स्थानीयको जीवनस्तर फेरिने अपेक्षा गरेका छौ।’

झरनाको विषयमा विभिन्न पौराणिक कथाहरु चर्चामा छन्। झरनाकोेमाथि ढकानी आकारको ढुंगा रहेको छ। त्यही ढुंगामाथि ठूला–ठूला सर्प, बिच्छी र खजुरा घाम लागेको बेला बस्ने र अलि धुम्मिने वित्तिकै लुक्ने गरेको किंवदन्ती रहेको छ। ढुंगामुनी रहेको बहुमूल्य धातुको रक्षाका लागि बस्ने सर्प, विच्छी, खजुरालाई चट्याङले हान्ने गरेको स्थानीय बताउँछन्। झरना आसपास झाँक्री गुफा रहेको र रिठ्ठे झाँक्री बस्ने हुनाले आसपासका स्थानीयले पूजाआजा गर्ने गरेका छन्। हालसम्म ओझेलमै रहेको धिप्लुङ झरनामा दैविक शक्ति रहेको स्थानीय बुढापाकाको विश्वास छ।

 

प्रकाशित: ३ फाल्गुन २०७६ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App