१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हटाइए मापदण्ड मिचेर बनेका घरटहरा

दिक्तेलमा मापदण्डविपरीत निर्माण गरिएको टहरा डोजर लगाएर चलाएर हटाइँदै। तस्बिरःनागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर निर्माण गरिएका थप ६ वटा टहरा हटाएको छ। गत सोमबार मध्यपहाडी मिचेर बनाइएका चारवटा टहरा हटाएको नगरपालिकाले बुधबार थप ६ स्थानीयको टहरा हटाएको हो।

स्थानीयको अवरोधकाबीच नगरपालिकाले मध्यपहाडी लोकमार्गको रत्नपार्क आसपासमा निर्माण गरिएको टेकबहादुर बराइली, प्रकाश अधिकारी, ज्ञानबहादुर राई, दुर्गा कार्की, रमला राई र रामकाजी खत्रीको टहरा हटाएको हो।

सोमबार २४ घण्टाभित्र टहरा हटाउन समय दिइए पनि समय सीमाभित्र नहटाइएकाले बल प्रयोग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर दीपनारायण रिजालले बताए। निर्देशनअनुसार रत्नपार्कका केदार श्रेष्ठले भने आफैं टहरा भत्काउन थालेको नगरपालिकाले जनाएको छ।

डोजर लगाएर टहरा भत्काउने क्रममा स्थानीयले नगरपालिकाका कर्मचारीमाथि हातपातको प्रयास गर्दै अवरोध गरेका थिए। पूर्वजानकारी एवम् समय उपलब्ध नगराउँदा सामान निकाल्ने मौका समेत नपाएको भन्दै मोटरबाइक ग्यारेज सञ्चालक ज्ञानबहादुर राईले क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन्।

टहरा भत्काउने क्रममा विभेद गरिएको उनीहरूको गुनासो छ। मापदण्ड मिचेर सडकको दायाँ–बायाँ बनाइएका टहरा हटाउनका लागि पटक–पटक पत्राचार गर्दा समेत अटेरी गरिएको भन्दै नगरपालिकाले बल प्रयोग गरेको जनाएको छ । मध्यपहाडी सडकको बीच बिन्दुबाट दायाँ ३१ मिटर र बायाँ ३१ मिटर क्षेत्रभित्र भौतिक संरचना बनाउन नपाइने तथा नगरभित्र नगरपालिकाबाट नक्सा पास गराएर मात्र घर बनाउनुपर्ने व्यवस्थाविपरीत सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो। मापदण्ड मिचेर सडकमा बनाइएका टहरा हटाउने अभियानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

अभियानको पहिलो दिन दिक्तेल अल्छेढुंगाका प्यारीमायाँ सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की, डिल्लीबहादुर कार्कीसहित चार जनाको टहरा हटाइएको थियो। टहरा हटाउने काम सम्पन्न भएपछि मापदण्डविपरीत बनेका घरहरू हटाउने तयारी गरिएको छ। हालसम्म मापदण्डविपरीत बनेका चारवटा घर हटाउनुपर्ने सूचीमा समावेश गरिएको मेयर रिजालले बताए।

प्रकाशित: २३ श्रावण २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App