१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मझधारमा थवाङ

थवाङ भन्नासाथ काठैकाठले बनाइएको र ढुंगाले छाएको घरहरूको गुचुमुच्च परेको पहाडी बस्ती आँखामा आउँछ। जो सधैँ विद्रोहको परिचय लिएर बाँच्यो। 

माओवादी विद्रोहको उद्गम मानिन्छ, मध्यपश्चिमका जिल्लालाई। तीमध्ये पनि रोल्पालाई खास मानिन्छ। अझ रोल्पाको पनि थवाङलाई विद्रोहको विम्बकै रूपमा हेरिन्छ, बुुझिन्छ। किनभने, झण्डै सात दशकको राजनीतिक इतिहासमा यो बस्तीले राज्यसँग पटक–पटक ‘विद्रोह’ गरेको दृष्टान्त छ। 

जब–जब चुनाव आउँछ, यो बस्तीको चर्चा राष्ट्रियस्तरमै हुन्छ। यहाँका मतदाता या एकै ठाउँमा मत हाल्छन् या त सबै चुनाव बहिष्कारमा उत्रिन्छन्। मत हाल्नेभन्दा बहिष्कार गर्ने चरित्रका कारण थवाङ चर्चामा रहँदै आएको छ। राज्यको मुलधारबाट टाढा, एकांकी रहेजस्तो यो पहाडी बस्तीले विस्तारै आफ्नो पुरानो चरित्र त्याग्दै छ र मुलधारतिर अग्रसर भइरहेछ। चैतको पहिलो साता दुुई दिन थवाङमा बिताउँदा यस्तै अनुुभूति भयो।

परिवर्तित थवाङको चर्चा गर्नुअघि यो स्थान विद्रोहको विम्ब कसरी बन्यो भन्नेबारे चर्चा गरौँ। 

यो पनि पढ्नुहोस : त्यो लिवाङ, यो लिवाङ

थवाङ मुुखिया संस्कारमा हुुर्केको मगर बाहुुल्य बस्ती हो। थवाङ मगर सामुुदायिक घरबास (होमस्टे) का सञ्चालक रेशम शाहका अनुसार, मुुखियाले जे भन्यो, त्यसैलाई पछ्याउने चरित्र र संस्कारमा यो गाउँ हुुर्कंदै आयो। ०१२/१३ सालतिर नै कम्युनिस्ट राजनीतिले यो गाउँलाई छोएको थियो। मोहनविक्रम सिंह, मोहन वैद्यलगायत पुराना कम्युनिस्ट नेताले त्यही बेलादेखि कम्युनिस्ट राजनीति विस्तारको थलो बनाएका थिए, यो गाउँलाई। 

कम्युनिस्ट राजनीतिको आधार तयार पार्न सहयोगी भूमिका थियो, बर्मन बूढाको। बूढा त्यतिबेला विद्रोही स्वभावका युवा थिए। उनी २०४८ सालको चुनावमा रोल्पाको त्यही क्षेत्रबाट सांसदमा निर्वाचितसमेत भए, संयुक्त जनमोर्चाबा। संयुक्त जनमोर्चा तत्कालीन नेकपा माओवादीको खुला संगठन थियो।  

२०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट उम्मेदवारलाई एकलौटी भोट खसालेपछि थवाङ ‘कम्युनिस्ट गाउँ’का रूपमा चिनिन थालेको थियो। थवाङमा २०३६ सालको जनमतसंग्रहमा सबै मत बहुदलको पक्षमा खसेको थियो। त्यसको दुुई वर्षपछि ०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा त्यहाँ शून्य मतदान भयो। सरकारी कार्यालयमा राजारानीको फोटो झिकेर माक्र्स लेनिनका तस्बिर राख्ने, चुनावमा कहिले शून्य त कहिले दुुई चार मत मात्रै खस्नेजस्ता गतिविधिले थवाङको बेग्लै चिनारी बन्यो। पञ्चायतकालमा पनि यो गाउँले चुनावमा भाग लिएका बेला कम्युनिस्ट कार्यकर्ता र समर्थकले नै जितेको नजीर छ।

कुनै बखत माओवादी लडाकुको ब्रिगेड कमान्डर भएका उनी अहिले गाउँको नेतृत्वदायी भूमिकामा छन्। पहाडी ठाउँमा भौगोलिक जटिलता भएकाले रातारात विकास नुहने रहेछ भन्ने उनलाई महसुस भएको छ।

पार्टीले चुनावमा भाग लिएर उपयोग गर्ने नीति लिँदा उठ्ने र बहिष्कारको नीति अख्तियार गर्दा नउठ्ने परम्परा संविधानसभाको चुनाव अघिसम्म पनि कायमै थियो। ०६२/६३ को आन्दोलन, त्यसपछि दुुई पटक भएको संविधानसभाको निर्वाचन, संविधान निर्माण हुँदै मुुलुक संघीय संरचामा गइसकेको सन्दर्भमा भने अब थवाङको त्यो चिनारी बदलिँदै गएको छ। 

‘अब थवाङमा एक जना कसैले भन्दैमा चुनावमा भोट हाल्ने/नहाल्ने निर्णय सिंगो गाउँले लिँदैन’, थवाङ गाउपािलकाका अध्यक्ष वीरबहादुर घर्ती भन्छन्, ‘मुखिया संस्कार छोडेको धेरै भइसकेको छ। कम्युनिस्ट राजनीति गर्नेहरू विभाजित छन्। त्यसैले थवाङको मत पनि विभाजित छ।’ 

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ति

छन त, नेपाली कांग्रेसको कार्यालय लेखिएको साइनबोर्ड पनि छ यहाँ तर राजनीतिक रुपमा प्रभावमा छैन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र विद्रोहलाई जारी राख्ने मान्यता बोकेको विप्लव समूह, यी दुुईको राजनीतिक प्रभाव छ  र मत पनि दुुईथरी पाइन्छ। एकथरी भन्छन् – अब विद्रोह गर्ने, द्वन्द्व गर्ने होइन, विकास र समृद्धिको बाटोमा हिँड्नुपर्छ। अर्कोथरी भन्छन् – क्रान्तिका नाममा हामीमाथि धोका भयो, राज्यसँग अझै एकपटक विद्रोह गर्नुपर्छ। 

थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती पहिलो मतका पक्षधर हुन्। उनी भन्छन्, ‘अब असन्तुुष्ट रहने समय होइन यो। राजनीतिक परिवर्तनसँगै विकासले बाटो समातेको छ। हक अधिकार स्थानीय तहमा आएको छ। यसलाई उपलब्धि मानेर अघि बढ्नुको विकल्प छैन।’

कुनै बखत माओवादी लडाकुको ब्रिगेड कमान्डर भएका उनी अहिले गाउँको नेतृत्वदायी भूमिकामा छन्। पहाडी ठाउँमा भौगोलिक जटिलता भएकाले रातारात विकास नुहने रहेछ भन्ने उनलाई महसुस भएको छ। तर दुुई वर्षमा भौतिक पूर्वाधारका हिसाबले थुप्रै काम गरेको उनी दाबी गर्छन्। 

‘हिजोभन्दा धेरै बजेट आएको छ। त्यसलाई अझै उचित र व्यवस्थित ढंगले परिचालन गर्न सकिएको छैन यद्यपि सडक, पाँच वटै वडामा स्वास्थ्य हित केन्द्र, विद्यालयमा शौचालय, खानेपानी व्यवस्था गरेका छौं। छिटै निमावि तहमा कम्प्युटर शिक्षा सुरु गरिँदै छ’, उनी भन्छन्, ‘आफैंले बनाएका कतिपय योजनामा चित्त बुुझेको छैन। अहिलेसम्म सिकाइकै रुपमा लिइएको छ। अब दीर्घकालीन सोचसहितका योजना बनाइन्छ।’ 

नेकपा विप्लव समूहका स्थानीय नेता अमृत घर्तीचाहिँ जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएको दाबी गर्छन्। ‘सडक बन्नुु विकास होइन। यो राज्यले गर्नैपर्ने नियमित काम हो। राणाकाल, पञ्चायतकालमा पनि विकास भएको थियो’, उनी प्रश्न गर्छन्, ‘विकासले मान्छेको आधारभूत जीवनस्तरमा परिवर्तन गर्न सक्यो त?’ 

उनको विचारमा क्रान्तिनायकहरू खलनायक भएको, राष्ट्रिय स्वाधीनताका मुुद्दामा सम्झौता गरेको, राज्यका साधनस्रोत विदेशीलाई सुुम्पेको आदि कारणले अझै जनताको शासन आइसकेको छैन। 

भन्छन्, ‘पुरानो शैलीले होइन, नयाँ हिसाबले विद्रोह आवश्यक छ। दलाल र भ्रष्टाचारीविरुद्ध लडाइँ जरुरी छ।’त्यस्तो लडाइँ यही व्यवस्थाभित्र, चुनावी प्रक्रियाबाटै लडे हुँदैन? घर्तीले सीधै इन्कार गरे र भने, ‘यो व्यवस्थाबाट हामीले खोजेको परिवर्तन सम्भव छैन।’

जनयुद्दका घाइते लमबहादुर रोका

तर उनै घर्ती गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका प्रत्यासी थिए, स्वतन्त्र उम्मेदवारका हैसियतमा। ‘त्यो चुनाव बेग्लै र बाध्यात्मक परिस्थितिमा लडिएको थियो’, उनले प्रस्टीकरण दिए। 

कारण के रहेछ भनेर खोतल्दा थाहा लाग्यो, थवाङलाई बेग्लै गाउँपालिका बनाउने आन्दोलनमा संघर्षको नेतृत्व गरेका रहेछन्। स्थानीय तहहरू निर्माण गर्दा थवाङ बेग्लै गाउँपालिका थिएन। सुरुमा सुनसरी र पछि परिवर्तन गाउँपालिकाअन्तर्गत राखिएको थियो। तर थवाङीहरूले यसमा असन्तुुष्टि राख्दै चर्को आन्दोलन गरे। प्रादेशिक तहकै संरचनाको केन्द्र थवाङ हुनुपर्छ भन्ने उनीहरूको अपेक्षा थियो।

माओवादीले विद्रोहकालमा ‘मगरात राज्य’ घोषणा गर्दा त्यसको केन्द्र थवाङलाई मानेको थियो। ०६९ सालमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड, कृष्णबहादुुर महराहरू थवाङ जाँदा पनि कुनै न कुनै संरचनाको केन्द्र बनाउने आश्वासन दिएका थिए तर गाउँपालिका समेत नपर्दा थवाङीहरू रुष्ट भए। 

‘सातु चामल बोकेर १२ सयभन्दा बढी मानिस आन्दोलन गर्न लिवाङ पुुगेपछि बल्ल थवाङ गाउँपालिका पायौं’, घर्ती भन्छन्, ‘केन्द्र ल्याउने आन्दोलन गर्ने अनि बहिष्कार, यो नमिल्दो कुरा भयो भन्ने मत साथीहरूबाट आएपछि चुनावबाट पछि हट्न सकिने अवस्था थिएन। त्यसैले स्वतन्त्र हैसियतमा चुनाव लडें। पार्टीले कार्बाही गर्‍यो।’ 

अहिले थवाङ गाउँपालिकामा मिरुल र उवाका केही क्षेत्र समेटिएको छ र त्यसको केन्द्र थवाङमा छ। यो गाउँपालिकामा ५ वटा वडा छन्। 

विप्लव समूहले चुनाव नजिते पनि थवाङमा समर्थक र शुभेच्छुकहरू भने भेटिन्छन्। खासगरी सत्तारुढसँग असन्तुुष्ट, जनयुद्धका घाइते, अपांग, अवसर नपाएकाहरूको सहानुुभूति यो समूहले पाउने गरेको छ। 

विप्लव समुहका सदस्य अमृत घर्ति

तिनैमध्ये एक हुन् लमबहादुर रोका (६०)। ०५९ सालमा भएको तालाबाङ भिडन्तमा उनी घाइते भएका हुन्। बम लागेर उनको दाहिने हात कुहिनादेखि काटिएको छ। माओवादी सत्तामा गएपछि उनले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ पाए। सुरुका एक डेढ वर्ष मासिक ६ हजार भत्ता पनि पाए। अहिले किराना पसल थापेर गुुजारा गर्ने यी एकल पुुरुष तत्कालीन माओवादी नेतृत्वसँग रुष्ट छन्। भन्छन्, ‘हिजो क्रान्ति गर्ने, जनवाद स्थापना गर्ने भनेर लडाए। अहिले के भयो त? निराशा र असन्तुुष्टि उस्तै छ।’

लीलाराम रोकामगर उनीसँगै हाँ मा हाँ मिलाउछन्। ‘सबैले काम गर्ने, श्रम अनुसारको दाम र सम्मान दिने भनियो, कम्युुन खडा गरियो, अहिले पार्टी नै विघटन गरे’, उनको प्रश्न छ, ‘यसो गर्नु थियो भने त्यत्रा मासिनको ज्यान किन लिएको?’ २०६२ सालमा सुकीदहमा ग्रिनेड पड्कँदा हात गुमाएका अर्का घाइते अजय घर्ती आक्रोश पोख्छन्, ‘जनयुद्धको औचित्य स्थापित हुन सकेको छैन। युवा शक्ति विदेश पलायन छ। उत्पादन घट्दो छ। निर्भरता बढ्दो छ। यसैका लागि हो त संघर्ष गरेको?’ 

यस्तै असन्तुुष्टिबीच थवाङले काचुली फेर्दै छ। कुनै बखत बाहिरियाका लागि निषेध जस्तै थवाङमा अहिले जोकोही निर्वाध जान आउन सक्छ। होमस्टेहरू सञ्चालित छन्। ढुंगा र काठको छानो हाल्ने चलन कम हुँदै छ। टिनको छानो र पक्की ढलाबाट घरहरू निर्माण भइरहेका छन्। 

स्थानीय सत्यनारायण बुढा

‘काठको जोहो गर्नै गाह्रो छ। महँगो भए पनि ढलान गर्दा पक्की बन्ने भएकाले बनाएको’, घर बनाउँदै गरेका आशीष घर्ती भन्छन्। 

आशीषको निर्माणाधीन घरभन्दा ५० मिटर पर भेटिए, सत्यप्रसाद बुढा। उनी काठको मुढोलाई मौरीको घार बनाउँदै थिए। राप्रपाका स्थानीय नेता उनी द्वन्द्वकाल, शान्तिकाल सबै परिस्थितिमा गाउँमै बसे। ‘जुन अवस्था आउँछ, त्यसैलाई शिरोधार्य गरेर बस्नैपर्‍यो’, उनले भने, ‘द्वन्द्वले विकासलाई धकेल्यो। पञ्चायतकालमै सुुलीचौर आइपुुगेको बाटोले बल्ल गाउँ भेट्यो। कृषिको अवस्था झन् दयनीय बनायो। गाउँको अर्थतन्त्र अब कृषि होइन, रेमिटेन्सको भरमा चलेको छ।’

उनी अहिले आलु, मकै खेती गर्छन्। होमस्टे चलाउँछन्। ‘द्वन्द्वकालमा सात हजार बोट स्याउ बिग्रिए। उतिबेला औषधि गर्न नसकेर मरे’, उनी भन्छन्, ‘कृषि गर्न अहिले न सिँचाइ छ न मानिसमा लगाव नै। कृषिलाई पुनर्जीवन दिन गाह्रो छ।’

कुनै बेला सदरमुकामबाट हिँडेर एक दिन लाग्ने थवाङ अहिले केही घण्टामै पुुग्न सकिन्छ। सडक निर्माणले तीव्रता पाएको छ। बजेटको कति सदुुपयोग वा दुुरुपयोग भइरहेछ, त्यो बेग्लै खोजीको विषय हुन सक्छ। तर जताजतै डोजर, एक्साभेटरहरू निरन्तर काम गरिरहेका देखिन्छन्। विगतको तुलनामा मानिसका लवाइखवाइमा परिवर्तन आएका छन् तर पनि अपेक्षा पूरा भएका छैनन्। 

गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती यी असन्तुुष्टिलाई उत्साहमा बदल्ने अभियानमा लागेको दाबी गर्छन्। ‘थवाङ हिजो एकात्मक राज्य व्यवस्था, सामन्तवाद अन्त गर्न एकढिक्का थियो। अब विधिको शासन कायम गर्दै विकास र समृद्धिका लागि गोलबद्ध हुन्छ’, उनी भन्छन्, ‘अब बाटो मात्रै होइन, शिक्षा, स्वास्थ्य, कृषिलाई मुख्य प्राथामिकतामा राखेर योजना बनाउँछौं। अब यहाँ हिजोको अवस्था हुँदैन। थवाङ मुलधारमा आइसक्यो।’

 

प्रकाशित: १९ चैत्र २०७५ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App