१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धामीझाँक्रीले नै भत्काउन थाले छाउगोठ

छाउगोठ भत्काउँदै धामी । तस्बिर : नागरिक

बाजुरा - पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन्। रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे। महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामी झाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो।

छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्मविरोधी काम हो भन्ने मान्यता रोकायाको थियो। तिनै रोकाया अहिले छाउ गोठ भत्काउन लाग्छन् भन्ने स्थानीयले सोचेका पनि थिएनन्। आमासहित दुई छोराको छाउ गोठमा मृत्यु भएपछि रोकाया आफैं गोठ भत्काउन सक्रिय छन्। बुढीनन्दा नगरपालिकाले छाउ गोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निर्णयलाई उनीहरुले सहज स्वीकार गरेका छन्। रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउ गोठ भत्काउन सक्रिय भएका छन्।

नगरपालिका ९ अगाउँपानीमा रहेका ९ वटा छाउ गोठ भत्काउन हरिलाल र जयलाल दुवैजना आफैं काममा खटिएका थिए। महिनाबारी भएकी महिला हिँडेको बाटो नहिँड्ने धामी नै छाउ गोठ भत्काउन सक्रिय भएपछि केही परिवर्तन हुने वडाअध्यक्ष खड्क बोहराको भनाइ छ। धामीझाँक्री मिलेर स्थानीय रिउली रोकाया, जयलाल रोकाया, किट्टी रोकाया, गोपी धामी, हरिलाल रोकाया, तुल्सी बोहरा, करबहादुर बोहरालगायतका गरी वडामा भेटीएका नौवटै गोठ भत्काएको सामाजिक अभियानकर्मी निरा बोहराले बताइन्। शिरमा सेतो पगडी बाँधेरै धामीले छाउ गोठ भत्काउन साथ दिनुका साथै अबदेखि महिनाबारी भएकी महिला घरमै बस्ने कुरामा विरोध नगर्ने वचन पनि दिएका छन्। गाउँमा धार्मिक आस्थालाई गलत रुपमा परिभाषित गर्ने र पुरानो अन्धविश्वासलाई प्राथमिकतामा राख्नेहरुबाटै छाउ कुप्रथाजस्ता सामाजिक कुसंस्कारले स्थान लिएको छ।

शिरमा सेतो पगडी बाँधेरै धामीले छाउगोठ भत्काउन सहयोग गर्नुका साथै अब महिनावारी भएकी महिला घरमै बस्ने कुरामा विरोध नगर्ने वचन पनि दिएका छन्।

गोठ भत्काउन स्थानीयसमेत रहेका देवताका धामी दलबहादुर धामी, जयलाल रोकाया र हरिलाल रोकायाले साथ दिएका थिए। जसले छाउ प्रथा मान्ने गलत संस्कारलाई प्रश्रय दिए, तिनीहरुबाटै सकारात्मक सुरुआत भएको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले बताइन्। नगरपालिकाले १० दिनभित्र सबै गोठ भत्काइसक्न निर्देशन जारी गरेको छ। कार्यपालिकाबाटै लिखित निर्णय गरेर छाउ प्रथाको पक्षमा हुने जोसुकैलाई पनि कारबाही गर्ने र राज्यका सबै सुविधाबाट परिवारलाई वञ्चित गर्ने निर्णयपछि ६० भन्दा बढी गोठ भत्काइसकिएको छ।

कार्यविधी बनाउन समिति गठन
बुढीनन्दा नगरपालिकाले छाउ प्रथा मान्नेविरुद्ध कार्यविधि निर्माणका लागि समिति गठन गरेको छ। नगर उपप्रमुख सृष्टि रेग्मी संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ।समितिमा नगरपालिका ४ का वडाध्यक्ष राजनकुमार रोकाया, कार्यपालिका सदस्य अम्बिका बोहरा, पिसविन स्थानीय अधिकार कार्यक्रम संयोजक पदम कठायत र एचआरसी स्थानीय अधिकार कार्यक्रम संयोजक खड्कबहादुर सिंह सदस्य छन्। समितिलाई १५ दिनभित्र कार्यविधि तयार पार्न समय तोकिएको छ। पिसविन शाखा कार्यालय कोल्टीमा भएको छलफल कार्यक्रमबाट प्रत्येक वडामा वडाध्यक्ष संयोजक रहनेगरी प्रहरीसहित अनुगमन समिति गठन गरिएको छ।

प्रकाशित: १२ माघ २०७५ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App