२ चैत्र २०८१ शनिबार
image/svg+xml ६:१० पूर्वाह्न
समाज

बढ्दै बहिरोपन

यस्ताे पनि!

सन् २०५० सम्म लगभग अढाई अर्ब मानिस कुनै न कुनै किसिमको बहिरोपन समस्याबाट ग्रसित हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

७० करोडभन्दा बढी मानिसलाई त सुन्ने सहयोग आवश्यकता पर्ने अध्ययनमा देखिएको छ। यस्तो समस्या कम आय भएका मुलुकमा अझ बढी रहेको समेत संगठनले जारी गरेको प्रतिवेदनमा जनाइएको छ। यस्तो समस्याले स्वास्थ्यमा मात्र नभई विश्व अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्ने विश्वास डब्लुएचओको छ।

यस्तो समस्या युवा पिँढीका लागि अझ गम्भीर रहेको बताइन्छ। एक अर्बभन्दा बढी युवा कानका लागि असुरक्षित उपकरणहरू प्रयोग गर्ने गर्छन्। यही कारण उनीहरूमा बहिरोपन बढ्ने सम्भावना बढी हुन्छ। बढीजसो ठूलो होहल्ला हुने ठाउँमा लामो समयसम्म बस्नु वा उच्च ध्वनिस्तर भएको हेडफोन प्रयोग गर्नुले यस्तो समस्या बढाइरहेको डब्लुएचओको भनाइ छ।

भारतको लखनउस्थित डा. भाटिया कक्लिया एडभान्स सर्जिकल सेन्टरका चिकित्सक करण भाटिया कोभिड १९ महामारीपछि सर्वसाधारणको सुन्ने क्षमतामा ह्रास आएको देखिएको बताउँछन्। प्रायः ६० वर्षको उमेरपछि सर्वसाधारणमा सुन्ने क्षमता कम हुँदै जाने गरेको थियो।

कोभिड १९ पछि भने बालबालिका र युवामा समेत यो समस्या बढेको पाइएको छ। ध्वनि प्रदूषण यसमा प्रमुख कारण रहेको चिकित्सकहरूको दाबी छ। त्यस्तै पछिल्लो समय जेनेटिक समस्या भएका बालबालिकाहरू जन्मन थालेका कारण पनि यो समस्याले भविष्यमा ठूलो आकार लिने देखिएको डा. भाटिया बताउँछन्।

त्यसो त यो समस्याको समाधान पनि बजारमा उपलब्ध छ। खासगरी कक्लियर इम्प्लान्ट अचेल निकै लोकप्रिय हुँदै जान थालेको छ। सर्जरी गरेर कक्लियर इम्प्लान्ट नामक उपकरण लगाइन्छ। यो उपकरणले ध्वनि ऊर्जालाई विद्युत ऊर्जामा परिणत गर्दै त्यसलाई मस्तिष्कसम्म पुर्‍याउने गर्छ।

मूल रूपमा कानको एउटा अंग कक्लिया ध्वनि अघि बढ्ने बाटो हो। कानबाट अघि बढे पनि यसलाई विश्लेषण गर्ने काम मस्तिष्कले गर्ने गर्छ। कानले ध्वनिलाई लैजाने काम मात्र गर्छ। बढीजसो ध्वनिहरू कक्लियामार्फत अघि बढ्दा कानको आन्तरिक भाग प्रभावित हुन्छ र त्यसले नशालाई क्षतिग्रस्त बनाउन सक्छ। कानको नशा क्षतिग्रस्त भएमा मेसिन हालिन्छ। यही प्रक्रियालाई कक्लियर इम्प्लान्ट भनिन्छ।

ध्वनि प्रदूषणका कारण बहिरोपन बढ्न थालेको विश्लेषकहरूको भनाइ छ। शरीरमा डिएनए र आरएनएको स्तरमा पनि केही परिवर्तन देखिन थालेको छ। जसका कारण अचानक सुन्ने क्षमता कम हुन थालेको छ।

डा. भाटिया भन्छन्, ‘जसरी स्ट्रोक वा हार्ट अट्याक हुँदा एक घण्टाभित्रै आवश्यक कदम चाल्नुपर्छ, त्यस्तै अचानक सुन्ने क्षमता कम हुँदा पनि त्यस्तै आपतकालीन उपचार गर्नुपर्छ। ७२ घण्टाभित्र सही तरिकाले उपचार गर्न सकिएन भने मान्छेको श्रवणशक्ति गुम्न पुग्छ।’

 डब्लुएचओले विश्वभर नै श्रवण क्षमतालाई बढावा दिन वल्र्ड रिपोर्ट अन हियरिङ (२०२१) र वर्ल्ड हेल्थ एसेम्बली रिजोलुसनजस्ता पहल थालेको छ। यस पहलको उद्देश्य नै संसारभर कानको क्षमता कायम राख्ने र उपचारलाई प्रभावकारी बनाउनु हो। पछिल्लो समय स्टेम सेल थेरापीमार्फत पनि सुन्ने क्षमतामा सुधार आउन थालेको छ।

-अच्युत कोइराला

प्रकाशित: २८ फाल्गुन २०८१ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App