७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल प्राथमिकताको साझेदार मुलुक : राजदूत थेयङ

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन्। कोरियाले हाल कृषि र उत्पादन क्षेत्रमा कामदार लगिरहेकोमा अब वन र सेवा क्षेत्रलाई समेत समेट्न लागेको छ।

कोरियाले थप वन तथा वनस्पतिजन्य क्षेत्रका निम्ति चाहिने कामदारसमेत नेपालबाट लैजाने तयारी गरेको हो। ‘नेपाल हाम्रो प्राथमिकताको साझेदार मुलुक हो,’ नेपाल–कोरिया मैत्री सम्बन्धको ५०औं वर्षगाँठका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राजदूत थेयङले भने, ‘विदेशी कामदारमध्ये नेपाली कामदार सबैभन्दा अगाडि रहेका छन्।’

गत वर्ष मात्रै नेपालबाट करिब २० हजार कामदार रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियामा कार्यरत छन्। विदेशबाट कोरियामा काम गर्न जाने विभिन्न देशका एक लाख आप्रवासी कामदारमध्ये नेपालीको उपस्थिति करिब २० प्रतिशत रहेको छ। यतिबेला कोरियामा करिब ४४ हजार नेपालीले काम गरिरहेका छन्।

‘कोरियामा जन्मदर घट्दै गएको छ,’ राजदूत थेयङले भने, ‘कामदार कम पाउने भएकाले विभिन्न १६ मुलुकबाट कामदार भित्र्याउने गरिएको छ।

नेपाली कामदारका कारण कोरियाली अर्थतन्त्रमा योगदान पुगेको छ।’ कोरियामा नेपालीले कृषि, पानी जहाज निर्माण र उत्पादनमूलक क्षेत्रमा काम पाइरहेका छन्। नयाँ व्यवस्थाअन्तर्गत सेवा क्षेत्रमा पनि नेपालीलाई लगिने भएको हो।

नेपाल र कोरिया सरकारबीच ‘जिटुजी’ तहमा भइरहेको कामदार पठाउने अहिलेको व्यवस्था सबैभन्दा पारदर्शी मात्र छैन अन्य मुलुकले पनि यसरी कामदार लैजाने हो भने उच्चतम लाभ लिन सक्छन्।

यसरी काममा जाने नेपालीले आकर्षक तलब सुविधा मात्र पाएका छैनन्, फर्केर आएपछि पुनः समाजमा स्थापित गर्ने कार्यक्रमसमेत लागु भएका छन्। तिनलाई जानुअघि, सेवाकाल र फर्केर आएपछि पनि विभिन्न कार्यक्रममार्फत जोड्ने काम भएको छ।  

‘हामीले कोरियामा मात्र रोजगारी उपलब्ध गराउने होइन, नेपालमा पनि रोजगारी सिर्जना गर्न सहयोग गरिरहेका छौं,’ राजदूत थेयङले भने, ‘कामदारले कोरियामा सिकेको सीपलाई यहाँ उद्यमशीलतामा परिवर्तन गर्न सकिन्छ।’

सन् १९७०–८० ताका कोरियालीहरू पनि खाडी मुलुकमा अहिले नेपालीजस्तै वैदेशिक रोजगारीमा जाने गरेको अनुभव सुनाउँदै राजदूत थेयङले त्यो बेला कमाएको रकम सदुपयोग गर्न नसक्दाको दुःखद् अवस्थालाई बुझेर नेपालीलाई त्यसको व्यवस्थापनको तालिम दिने गरेको समेत जानकारी दिए।  

नेपाली कामदार कोरियामा काम गर्न जाँदा जनस्तरको सम्बन्ध अझ राम्रो भएको, कोरियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको र नेपाल सुन्दर देश भएकाले यहाँ आउने पर्यटकको चाहना बढेको समेत उनले उल्लेख गरे।

त्यति मात्र होइन नेपालमा गरेका उत्पादनले चीन र भारतमा समेत बजार पाउन सक्ने भएकाले यहाँ उद्योग स्थापना हुन थालेको समेत उनले उल्लेख गरे। नेपालमा मोटरको एसेम्बलिङ उद्योगसमेत सुरु हुन लागेको उनले जानकारी दिए। त्यस्तै बर्दिवास र गण्डकीमा पोलिटेक्निकल स्कुल स्थापना गर्न कोरियाले सहयोग गर्ने भएको छ।  

कोरियाको अर्थतन्त्रमा सुधार आइरहेको हुनाले संख्या थप भएको हो। तर, यो कार्यक्रम कहिलेसम्म जारी रहन्छ अहिल्यै बताउन नसकिने राजदूत थेयङको धारणा छ।

‘कोरियामा कामदारको माग गत वर्षभन्दा ३० प्रतिशतले बढेको छ,’ उनले भने, ‘कामदारको मागले अझै केही वर्ष निरन्तरता पाउन सक्छ।’

दुई सरकारबीच कामदार लैजाने व्यवस्थाभन्दा फरक सेवा क्षेत्रमा निजी क्षेत्रको पहलमा पनि कामदार लैजान लागेको हो ? भन्ने प्रश्नमा राजदूत थेयङले तत्कालै यसमा छलफल भइरहेको बताए। तर, केही कामदार र विद्यार्थीले भिसा परिवर्तन गरिरहेको बताए।

नेपालमा लगानी गर्न कोरियाली ठूला कम्पनीलाई आकर्षित गरिरहेको जानकारी दिँदै उनले लगानी सुनिश्चितता र दोहोरो कर हटाउनेसम्बन्धी सम्झौता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए।

नेपालले तीनवटा जलविद्युत् आयोजनामा सहुलियत ऋण लिए भने अन्य क्षेत्रमा पनि जान सकिने बताए। बंगलादेशलगायतका मुलुकले सहुलियत ऋण लिएर ठूला परियोजना सञ्चालन गरिरहेको उदाहरण उनले दिएका थिए।

नेपाल–कोरिया सम्बन्ध ५० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम वर्षभरि नै आयोजना गर्न लागिएको राजदूत थेयङले जानकारी दिए। यसै वर्ष नेपाल र कोरियाबीच उच्चस्तरका भ्रमण आदानप्रदान हुन लागेको समेत उनले बताए।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउने चौथो मुलुकमा कोरिया रहेको छ। भर्खरै सम्पन्न तेस्रो लगानी सम्मेलनपछि नेपालमा थप लगानी भिœयाउन दूतावास निरन्तर लागिपरेको उनले बताए। ‘हामी अन्य मुलुकभन्दा फरक छौं,’ राजदूत थेयङले भने, ‘हामी विकासमा सहयोग गर्न चाहन्छौं।’

कोरियाले २००८ देखि इपिएसमार्फत् नेपाली श्रमिक लैजाने गरेको हो। इपिएस शाखाबाट एक लाख १० हजारभन्दा बढी नेपाली कामका लागि पुगिसकेका छन्। हाल करिब ५० हजार नेपाली युवा त्यहाँ कार्यरत छन्।

इपिएस शाखकी निर्देशक मैया कँडेलका अनुसार कोरियाबाट सेवा क्षेत्रमा पनि कामदार लैजाने जानकारी आइसकेको छ। वन र सेवा क्षेत्र भनेको छ। त्यसभित्र केके पर्छन् भन्ने अझै खुलिसकेको छैन। कोरियाली भाषा परीक्षा उत्तीर्ण भई रोष्टर नाम सूचीकृतहरूलाई समेत यो अवसर उपलब्ध हुन सक्छ।

प्रकाशित: २७ वैशाख २०८१ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App