१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी चामलिङलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’

मुख्यमन्त्री कार्कीबाट प्रादेशिक पत्रकारिता पुरस्कार ग्रहण गर्दै नागरिककर्मी चामलिङ।

नागरिक दैनिकका उदयपुर संवाददाता महेश्वर चामलिङ राई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालय विराटनगरले प्रदान गर्ने उक्त पुरस्कार १ लाख नगदसहित सम्मान पत्र रहेको छ।

मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले पत्रकार राईलाई पुरस्कारसहित सम्मान गरे।

आन्तरिक मामिलामन्त्री शम्शेर राई, स्वास्थ्यमन्त्री प्रदिप सुनुवार, भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जवेगु र आन्तरिम मामिला राज्यमन्त्री सुनिता गुरुङले पत्रकार राईलाई अबिर, माला र खादा लगाउँदै बधाई दिएका थिए।

मन्त्रालयका सचिव लक्ष्मी पौडेलका अनुसार नेपालको पहिलो सरकारी पत्रिका गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ गते यो पुरस्कार वितरण गरिँदै आएको छ।

प्रदेशभित्र रहेर २५ वर्षसम्म पत्रकारिता गर्ने ४५ वर्षमाथिका सञ्चाकर्मीलाई प्रदान गरिने यो पुरस्कार यस वर्ष राईसँगै झापाका भीमलाल नेम्वाङ, मोरङका अनन्तराज न्यौपाने, धनकुटाका रमेशचन्द्र अधिकारी र सुनसरीका पिबी दियालीलाई प्रदान गरिएको सचिव पौडेलले जानकारी दिए।

पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारले सहीलाई सही र गलतलाई गलत लेख्न सक्ने हिम्मत गर्न आग्रह गरे।

पटक-पटक गठन र विघटन हुँदै आएको प्रदेश सरकार अस्थिर भएकै कारण जनताको काममा बाधा भइरहेको स्विकार्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार संविधानको अन्तिम विकल्प अनुसार बनेको हुनाले यो भन्दा अर्को हुन नसक्ने ठोकुवा गरे।

पार्टी केन्द्रका नेताहरुको अनावश्यक दबाब र प्रभावमा परेर प्रदेश सरकार ढाल्न र नयाँ बनाउने गलत कार्यमा लागिरहेका नेताहरुको नाम नलिई कार्कीले भने ‘तर, माथि हाछ्युँ आउँदा यहाँका नेताहरु निमोनियाले थलिइसकेका हुन्छन्।’

उनले नेताहरुलाई सहकार्य र सहमतिबाट अघि बढ्न आग्रह गर्दै जुनसुकै दललाई सरकारमा सहभागी गराएर अघि बढ्न आफू तयार रहेको सन्देश दिए।

आन्तरिक मामिलामन्त्री राईले सञ्चार ऐन बनाउने गरी छलफलमा प्रवेश गरिसकेको बताए। उनले पत्रकारहरुको निष्पक्षता र निर्भिकताका लागि नै मन्त्रालयले हरेक वर्ष फरक-फरक क्लस्टर र व्यावसायिक पत्रकारलाई पुरस्कृत गर्दै आएको सुनाए।

स्वास्थ्यमन्त्री सुनुवारले प्रदेश सरकारले सुरु गरेको १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारदेखि स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरुको सुरुवात भएको बताउँदै राणा शासन, पञ्चायत र बहुदलीय व्यवस्था परिवर्तन गरेर गणतन्त्र स्थापना गर्न अहम् भूमिका खेलेका पत्रकारहरुबाट सङ्घीयतालाई मजबुत पार्ने कार्यमा थप महत्त्वपूर्ण योगदानको अपेक्षा गरेको बताए।

कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष लभदेव ढुङ्गाना, महासचिव विवेक गौतमलगायतले प्रदेश सरकारलाई सञ्चारमैत्री हुन सुझाएका थिए।

प्रकाशित: २५ वैशाख २०८१ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App