५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विश्वव्यापी चुनौतीका बीचमा बौद्ध शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले जानकारी दिए।

विश्वभरका मानिस वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए।

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ।

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुने छ। गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफलसमेत गरिने जनाइएको छ।

गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूप आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्न सक्छ र संसारभरका मानिसले कस्ता प्रकारका पाठ्यक्रम अपेक्षा गर्छन् भन्ने विषयमा छलफल हुने छ।

बौद्ध शिक्षाको महत्वमा केन्द्रित भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्यालाई सम्बोधन गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ। –रासस

प्रकाशित: २१ वैशाख २०८१ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App