७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

टुँडिखेलमा सुरु भयो १० क्षेत्र,२९ पेसासम्बद्ध निःशुल्क सिपमूलक तालिम

काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ। दुई हजार ८१ जनालाई निःशुल्क सिपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो।

सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विगतका तालिमभन्दा अहिलेको तालिम फरक र विशेष रहेको बताइन्।

‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैं अभाव नै छ। यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा आउँदैन।

विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई रोजगार, स्वरोजगार र अन द जब ट्रेनिङसँग जोडेका छौं।’ तालिम उद्घाटनका क्रममा उपप्रमुख डंगोलले बताइन्।

उक्त अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘हामीले तालिम दिएका व्यक्तिहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौं। उहाँले व्यावसायिक रूपमा प्राप्त गर्नुभएको उपलब्धीलाई महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आबद्ध गर्छौं।’ उनले काठमाडौंमा रहेका अनौपचारिक क्षेत्रका जनशक्तिलाई तालिम दिएर औपचारिक क्षेत्रमा ल्याउने बताए।

रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था) तथा सामाजिकले क्षेत्र एकै ठाउँमा तालिम दिएका छन्।

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको आयोजकले बताए।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सिएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपिटिइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सिसिटिभी स्टेसन एन्ड स्मार्ट होमसँग तालिम सञ्चालनमा सहकार्य भएको छ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम छन्। सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ। महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम छन्।

‘साइबर सेक्युरिटी’मा चार हजार व्यक्तिलाई तालिम प्रदान गरिँदैछ। नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई ‘सिप मेला’मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको आयोजकले बताए।

सिप मेलामा तालिमका लागि अटो मोबाइल्स, निर्माण, सूचना प्रविधि, आर्ट एण्ड कल्चर, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, गार्मेन्ट्स, सौन्दर्य कलालगायत क्षेत्र निर्धारण गरेर तालिम दिइएको छ।  

प्रकाशित: २१ वैशाख २०८१ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App