४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-४ खनालचोकमा रहेको सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुई पुरुषको मृत्यु भएको छ।

सोही पार्क नजिकै दुई वर्षदेखि टहरो बनाई बस्दै आएका रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं-४ प्रिती घर भएका २८ वर्षीय सन्देश सुनुवार र उनका काका सोही स्थान बस्ने ४६ वर्षीय दिपक सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफूहरू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केको र साेपछि उनीहरु अचेत अवस्थामा छ भन्ने खबर प्रहरीलाई आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिए।

खबर प्राप्त हुनसाथ तत्कालै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनएका १६ जना उद्धारकर्मीको टोली खटिई निजहरूलाई उद्धार गरिएको परिसरका सूचना अधिकृत कार्कीले जनाए।

उद्धारपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको उनले बताए।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८१ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App