४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँ महानगरको सिप मेला आजबाट, २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य

काठमाडौँ महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८१’ को सुरुआत गर्दैछ। विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा ठूलो खाडल रहेको उल्लेख गर्दै, रोजगारदातालाई सिपयुक्त जनशक्ति उपलब्ध हुने, युवाहरूलाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरणका लागि सिपमूलक तालिमको आयोजना गर्न लागिएको बताइन्।

‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम थालनी गर्दैछौँ।’

तालिम गराउन इच्छा भएका तर अनलाइन फाराम भर्न छुटेका व्यक्तिहरु तालिम स्थलमै आएर फाराम भर्न सक्ने महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले बताए।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको उनले बताए।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराइने छ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ। यसरी रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर साझा नतिजाका लागि काम भइरहेको, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन्। ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ। नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको प्रवक्ता अधिकारीले बताए।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन्। क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा रहनेछन्। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने र यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछन्।

यी हुन् तालिमका लागि निर्धारण गरिएका १० क्षेत्रः

१) अटो मोवाइल्सः यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्।  

२) निर्माण क्षेत्रः यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ।  

३) हस्पिटालिटी एण्ड म्यानेजमेन्टः यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ।

४) सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी)ः यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन्।  

५) मेकानिकलः यसमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ।  

६) आर्ट एण्ड कल्चरः यसमा आर्ट एण्ड कल्चरको प्रशिक्षण हुनेछ।

७) गार्मेन्ट्सः यसमा टेलरिङ्ग र फेसन डिजाइनिङ्गको कक्षा हुनेछ।

८) व्युटिसियन (सौन्दर्य कला): यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ।  

९) डिजाइनिङ्गः यसमा साइन मेकिङ्ग प्रशिक्षण हुनेछ।  

१०) पुरोहितः यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ।  

प्रकाशित: १९ वैशाख २०८१ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App